रविको पक्षमा भुवन,जिम्मेवार हुन शुभेच्छुकको आह्वान

रविको पक्षमा भुवन,जिम्मेवार हुन शुभेच्छुकको आह्वान
सुन्नुहोस्

नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष तथा सानिमा बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल रवि लामिछानेको पक्षमा खुलेर लागेका छन् । दाहालले सहकारी संस्थाको रकम अपचलन सम्बन्धमा संसदीय समितिले गरेको कारबाही सिफारिस र सरकारले थालेको पहलबारे आपत्ति जनाउँदै सामाजिक सञ्जाल रंगाएका छन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै घुमाउरो भाषामा रवि लामिछानेका सबै कर्तुत ठीक भन्ने आशय झल्काएको पाइन्छ । लेखेका छन्, ‘रवि लामिछानेजीका कतिपय कमजोरीहरू देखिएका छन् तर सहकारी ठगीसम्बन्धमा गठित संसदीय समितिले कुनै पनि सहकारीबाट उहाँले ऋण लिएको प्रमाण नपाएको र अरू कुनै निकायले पनि त्यस्तो प्रमाण हालसम्म सार्वजनिक गर्न नसकेको अवस्थामा उहाँलाई सहकारी ठगीमा पक्राउ गरी कार्बाही गर्न खोज्नु न्यायसम्मत होला ? सहकारी तथा कम्पनी कानूनका विज्ञहरूको धारणा पढ़न पाए कृतज्ञ हुने थिएँ !’

नबिल बैंकको सामान्य कर्मचारीबाट बैंकिङ क्षेत्रमा प्रवेश गरेर सानिमा बैंकको सिईओ र बैंकर्स संघको अध्यक्षसमेत भएका दाहाल एकाएक रविको पक्षमा किन लागे ? विगतमा करोडौं तलब भत्ता बुझ्ने गरेका दाहाल आवरणमा भने ‘सादगी’ जीवन बिताएको ढोंग देखाउँथे । रविले पनि मुखले गुलिया कुरा गरेर भित्रभित्रै कतिसम्म बेइमानी गर्दथे भन्ने कुरा उनको दुई वटा नागरिकता,दुई वटा पासपोर्ट, सहकारी रकम अपचलनको घटनाले पुष्टि भइसकेको छ ।

‘कतिपय सञ्चालक आफूले रकम दुरुपयोग नगरेता पनि जिम्मेवारीमा बसेर टुलुटुलु हेरेकै कारण कस्टडीमा छन् । अब प्रबन्धक र सञ्चालक भएर पैसा कहाँ गयो मलाई थाहा छैन भन्न कत्तिको मिल्ला ? भोलि बैंकका सञ्चालक र सिइओले यसैगरी बोले भने के गर्ने ?

दाहाललाई जवाफ दिँदै सामाजिक सञ्जालमा कुलराज चालिसे लेख्छन्, ‘आयोगको प्रतिवेदन कार्यान्वयनभन्दा अन्य कुनै कारणले हुन पनि त सक्छ । हराएको सर्भर छविलालजीको घरबाट प्राप्त भएको र पोखरा प्रहरीले पूरक अनुसन्धान प्रारम्भ गरेको भन्ने खवर पनि त छ । पशुपति कोटीहोमका पण्डितको पारा पनि त हुनसक्छ ।’ त्यस्तै जनकराज शाहले दाहाललाई नेक्सस मिलाएर संगठित ठगी भएको र यस्तो हर्कत एउटाको दिमागले गर्न नसक्ने जवाफ दिएका छन् ।

सहकारी ठगीको पीडा पीडितहरुलाई मात्र राम्रोसँग थाहा भएको रोमनाथ ज्ञवालीको जवाफ छ । सहकारीको रकम कुन हद पार गरेर ठगिएको छ भन्ने कुरा जान्न उनले सुझाएका छन् । लेखिएको छ, ‘कतिपय सञ्चालक आफूले रकम दुरुपयोग नगरेता पनि जिम्मेवारीमा बसेर टुलुटुलु हेरेकै कारण कस्टडीमा छन् । अब प्रबन्धक र सञ्चालक भएर पैसा कहाँ गयो मलाई थाहा छैन भन्न कत्तिको मिल्ला ? भोलि बैंकका सञ्चालक र सिइओले यसैगरी बोले भने के गर्ने ? जिम्मेवार नागरिकले बुझ्नु पर्ने कुरा ..।’

टिप्पणीहरू