रास्वपामा सग्लो नेता पाउन दुर्लभ,जन्मिँदै सकिने लाइनतिर

रास्वपामा सग्लो नेता पाउन दुर्लभ,जन्मिँदै सकिने लाइनतिर
सुन्नुहोस्

-रामचन्द्र वशिष्ठ

सहकारी बचत रकम छानबिन गर्न गठित संसदीय छानबिन समितिले गोर्खा मिडिया नेटवर्क प्रालिमार्फत् भएको सहकारी रकम अपचलन प्रकरणमा पूर्व गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेमाथि कारबाहीका लागि किटानी गरिसकेको छ । अघिल्लो शुक्रबार सार्वजनिक भएको प्रतिवेदनअनुसार गोर्खा मिडियामा सूर्यदर्शन,सुप्रिम, सहारा,स्वर्ण लक्ष्मी र सानो पाइलासहित विभिन्न सहकारीबाट ४३ करोड रुपैयाँ संकलन भएको किटानीछि लामिछानेमाथि अर्को संकट आइलागेको छ । 

सहकारी रकम अपचलन आरोपमा पक्राउ परी प्रहरी हिरासतमा रहेका पूर्व डिआइजी छविलाल जोशीले गोर्खा मिडियामा आउने रकमबारे जिबी राई वा रवि लामिछानेलाई थाहा भएको भनी पोलेका छन् । गोर्खा मिडियाको हिसाबकिताबमा जिबी, छवि र रविको संयुक्त बैंक खाता सञ्चालनबाट प्रत्यक्ष सहभागिता रहेका कारण पनि यसपल्ट कानुनको नजरबाट उम्कन कठिन देखिएको छ ।

संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएलगत्तै सूर्यदर्शन सहकारी पीडित बचतकर्ताले लामिछानेलाई पक्रनुपर्ने माग गर्दै पोखरामा आन्दोलन चर्काइरहेका छन् । लामिछानेका कारण मात्र नभै पार्टीका जिम्मेवार नेताहरुकै गतिविधिका कारण छोटो समयमै संसदीय राजनीतिमा चौथो शक्ति बन्न सफल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) एकपछि अर्को विवादको भुमरीमा फसिरहेको छ । 

उपसभापति डिपी अर्याल र सहमहामन्त्री कविन्द्र बुर्लाकोटी पनि सहकारी विवादमा तानिएका छन् । हाम्रो नयाँ कृषि सहकारी संस्थाको बचत अपचलनमा उनीहरूमाथि सर्वसाधारण पीडितले ठगीको आरोप लगाएका थिए। धन्न,संसदीय छानबिन समितिले उनीहरुलाई दोषी किटान नगरेपछि तत्काललाई जोगिएका छन् । 

यसबीच सभापतिदेखि रास्वपाबाटै उपसभामुख बनेकी इन्दिरा राना मगरसम्म थुप्रै नेता विवादमा तानिएका छन् । उपसभामुख रानाले अमेरिकी दूतावासलाई २५ फेब्रुअरी २०२३ मा लेखेको पत्र सार्वजनिक भएपछि थपिएको नयाँ विवादले उग्ररुप लिँदै छ ।

उनले संयुक्त राष्ट्रसङ्घको संयन्त्र कमिसन अन द स्ट्याटस अफ वुमनको ६७औँ सत्रका लागि अमेरिकाको न्यूयोर्कमा हुने कार्यक्रममा सहभागी गराउन महिला अधिकारसम्बन्धी अभियानसँग असम्बन्धित चार पुरुष र एक महिलालाई भीसाको लागि पहल गरेको वास्तविकता खुलेको छ । अन्तर्वार्ता मिति छिटो मिलाइदिन अनुरोध गर्दै दूतावासलाई पत्र लेखेपछि छरपष्ट भएको विवाद झन् नयाँ मोडमा पुगेको छ । 

पत्र बाहिरिएपछि आर्थिक लेनदेनका विषयसमेत बाहिर आएको थियो । बीचैमा रकम फिर्ता भएपछि विवाद पार्टीभित्रै थामथुम पारिएको चर्चा अझै सेलाएको छैन । पत्र सार्वजनिक भएसँगै पदको दुरुपयोग गरेको आरोपमा संसदमा राजीनामा मागियो । तर उपसभामुख राना अझै पदमा रहेका कारण नैतिकता,पदीय मर्यादा र गरिमा धुलिसात बन्न पुगेको सत्तारुढ दलहरुको भनाई छ । 

यसअघि रविको नागरिकता र राहादानी प्रकरणमा पार्टीका नेता एवम् सांसद ढाकाकुमार श्रेष्ठको दुई करोड रुपैयाँको डिल बाहिरिएको थियो । २०७९ चैत ६ गते मेडिकल व्यवसायी दुर्गा प्रसाईं र पार्टी समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठबीच दुई करोडको बार्गेनिङ भएको अडियो बाहिरिएपछि पार्टीले कारबाही गरेका कारण श्रेष्ठको राजनीतिमा छोटो समयमा पूर्णबिराम लागेको छ । 

उक्त अडियोमा तत्कालिन सांसद श्रेष्ठले मन्त्री बन्नका लागि लामिछानेको ‘कोर टीम’ लाई बुझाउन भन्दै प्रसाईंसँग २ करोड रुपैयाँ मागेका थिए । आफू स्वास्थ्यमन्त्री बन्न लागेका कारण पार्टीलाई साढे २ करोड रुपैयाँ बुझाउनुपर्ने भन्दै श्रेष्ठले दुर्गासँग बार्गेनिङ गरेका हुन् । त्यसअघि श्रेष्ठमाथि पोखराको एक सहकारीको रकम हिनामिना गरेको आरोप थियो । 

पोखराको साथी किसान सहकारी संस्थामा अध्यक्षको जिम्मेवारीबाट पछि हट्दा झण्डै एक करोड रुपैयाँको हिसाब नबुझाई जिम्मेवारीबाट पन्छिएको आरोप लागेको थियो । तर  तत्काल रास्वपा छिरेर रातारात समानुपातिक सांसद बनेपछि आरोप त्यत्तिकै सामसुम भयो । 

यता पार्टी स्थापनाताका लामिछानेको सारथि रहेका पूर्व महामन्त्री मुकुल ढकाल लखेटिएका छन् । उनलाई पछिल्लो समय साधारण सदस्यसमेत नरहने गरी निश्कासन गरिएको छ । ढकालले इलाम उपनिर्वाचन लगत्तै ३२ जिल्ला दौडाहा गरेर पार्टीको समीक्षा–यात्रा तय गरेका थिए । जनताको सुझाव सङ्कलन गर्दै काठमाडौँ फर्किएपछि प्राप्त सुझावको आधारमा प्रतिवेदन बनाए । तर प्रतिवेदन छलफलमा लैजाँदा लामिछानेको कोपभाजनमा पर्दै पार्टी राजनीतिबाटै हात धुनुपर्ने अवस्थामा पुगे । प्रतिवेदनमा रवि लामिछानेको ‘क्लब’बाट पार्टीलाई मुक्त गराउनुपर्ने प्रस्ताव गरिएको छ । 

ढकालले प्रतिवेदनउपर छलफल गर्न केन्द्रीय समिति बैठकमा लाइभ गर्नुपर्ने मागसमेत राखे । प्रस्ताव अस्वीकार गरिएपछि मुखमा कालो टेप टाँसेर बैठकमा सामेल भए । लामिछाने गृहमन्त्री रहेकै बेला प्रतिवेदन बाहिरियो । त्यसपछि अनुशासन छानबिनका नाममा सभापति अनुकूलको समिति खडा गर्दै कारबाहीको प्रपञ्च रचियो । मिडियामा आफ्नो अभिव्यक्ति स्वतन्त्रता हनन् भएको भनी बोलेपछि ढकाल कारबाहीमा परे । अन्ततः महामन्त्री र प्रवक्ता दुबै पद खोसियो । 

एकपछि अर्को विवादको श्रृङ्खला बाहिर आइरहेको बेला सहमहामन्त्री सुमना श्रेष्ठ मन्त्री बनेपछि राष्ट्रियताको विषयमा समेत प्रश्न उठ्यो । विदेशीसँग विवाह गरेका कारण नागरिकताको प्रश्न उठाइयो । त्यसअघि सांसद श्रेष्ठले पोल्यान्डका नागरिक पाबल स्वविन्ससँग विवाह गरेको तथ्य सार्वजनिक भएको थियो  । 

पुराना दलको कार्यशैलीको चर्को विरोध गर्दै सुशासन,भ्रष्टाचारमुक्त समाजको लोकप्रिय एजेन्डा बोकेर २०७९ को आमनिर्वाचन र २०८० को उपनिर्वाचन जिते पनि रास्वपा यति बेला काण्डै काण्डको आहालमा डुबेको छ । वैकल्पिक शक्तिको उदयको रूपमा हेरिएको रास्वपा आफ्नै हर्कतमा चेपिएर थला पर्ने अवस्थामा पुगेको छ । सभापति रवि लामिछानेको दोहोरो नागरिकता–पासपोर्ट काण्ड, सहकारी ठगीदेखि उपसभामुख रानाको पत्र काण्डसम्म आइपुग्दा रास्वपाको भविष्यमाथि नै यतिबेला कालो बादल मडारिएको छ । 

टिप्पणीहरू