बैंककमा महासंघ अध्यक्ष, लगानीमा विशेष जोड

बैंककमा महासंघ अध्यक्ष, लगानीमा विशेष जोड
सुन्नुहोस्

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाललाई प्रमुख पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्न पर्यटन पूर्वाधारमा थप लगानीको आवश्यकता औंल्याएका छन् । थाइल्याण्डको राजधानी बैंककमा हिजो आयोजित ३७ औं एशियन ट्रेड प्रमोशन फोरमलाई सम्बोधन गर्दै उनले उक्त धारणा राखेका हुन् । 

नेपालमा होटल, थीम पार्क र साहसिक पर्यटन गन्तव्यजस्ता क्षेत्रहरुमा अवसरको सम्भावना रहेको उल्लेख गर्दै ढकालले पछिल्लो समय रिसोर्टहरुको बढ्दो माग रहेको बताए । यस क्षेत्रमा साझेदारीको अवससँगै मुलुकको सूचना तथा सञ्चार प्रविधि र चलचित्र उद्योगमा लगानीका प्रशस्त अवसर रहेकोमा पनि अध्यक्ष ढकालले जोड दिएका छन् । 

फोरममा उनले हस्तकलाका उत्पादन, संगीत, चलचित्र र डिजिटल कलाजस्ता क्षेत्रहरुमा उल्लेखनीय वृद्धि भएको चर्चा गर्दै यसले आर्थिक विकासमा मात्र नभई मुलुकको समृद्ध सांस्कृतिक सम्पदाको संरक्षणमा पनि योगदान पुर्याएको जानकारी गराए। 

अध्यक्ष ढकालले मुलुकको सूचना तथा सञ्चार प्रविधि उद्योगमा युवा र ऊर्जावान जनसंख्याले योगदान पुर्याइरहेको बताउँदै यस क्षेत्रको पूर्ण क्षमता उपयोग गर्न साना तथा मझौला उद्योगका लागि वित्तीय पहुँच, क्षमता निर्माण र बजार पहुँचको खाँचो रहेको पनि उल्लेख गरेका छन् । नेपाल सरकारले विदेशी लगानीकर्ताका लागि प्रदान गर्ने रणनीतिक फाइदाबारे पनि उनले फोरममा चर्चा गरेको महासंघले जनाएको छ ।

टिप्पणीहरू