पुरस्कृत सम्पादकको नगद पुरस्कार उपचाररत सम्पादकलाई

पुरस्कृत सम्पादकको नगद पुरस्कार उपचाररत सम्पादकलाई

‘देवेन्द्र गौतम पत्रकारिता पुरस्कार–२०८१’ बाट पुरस्कृत वरिष्ठ पत्रकार तथा दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठले पुरस्कारबापत प्राप्त रकम मिर्गौलापीडित पत्रकार पिबी दियालीलाई हस्तान्तरण गरेका छन् । रोटरी क्लब अफ काठमाडौं वेष्टसँगको सहकार्यमा वीर अस्पतालमा उपचाररत पत्रकार दियालीलाई रकम हस्तान्तरण गरिएको छ । 

सम्पादक श्रेष्ठ र रोटरी क्लबका अध्यक्ष देशकुमार श्रेष्ठले एक लाख ८२ हजार रुपैयाँको चेक संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् । जसमा पुरस्कारबापतको एक लाख र क्लबको ८२ हजार रुपैयाँ सहयोग समावेश छ । 

त्यसैगरी, करेण्ट मिडिया एण्ड रिसर्च सेन्टरका प्रबन्ध निर्देशक किरण गौतमले ५० हजार रुपैयाँ नगद प्रदान गरेका छन् । जीवनभर मुलुक र जनताका लागि पत्रकारिता गरेको व्यक्ति बिरामी पर्दा राज्यबाट उपेक्षित हुनुपरेकोमा सम्पादक श्रेष्ठले दुःखेसो पोखे । 

उनले भने,‘देश र जनताका लागि जीवनभर इमान्दारितापूर्वक पत्रकारिता गर्ने श्रमजीवी पत्रकार बिरामी पर्दा राज्यबाट उपेक्षित हुनु राम्रो होइन, त्यसैले एक जना पत्रकारलाई दुःख पर्दा अन्य पत्रकारहरुले सहयोग गर्नुपर्छ ।’

करेण्ट मिडियाका प्रबन्ध निर्देशक गौतमले आजीवन पत्रकारिताका माध्यमबाट मुलुक र समाजका लागि योगदान पुर्याउने पत्रकार बिरामी पर्दा सरकारले उपचारको व्यवस्थापन मिलाउनुपर्नेमा जोड दिए । त्यस्तै, उनले पत्रकारसम्बद्ध संघसंगठनलाई उपचार कोषको व्यवस्थापन गर्नसमेत सुझाव दिएका छन् । 

पत्रकार दियाली इटहरीबाट प्रकाशित गणराज्य साप्ताहिकका सम्पादक हुन् । दुवै मिर्गौलामा समस्या देखिएपछि केही महिनाअघि वीर अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

टिप्पणीहरू