नेपाल–चीन सीमा सुरक्षामा समन्वय गर्ने दुबै पक्षको प्रतिबद्धता

नेपाल–चीन सीमा सुरक्षामा समन्वय गर्ने दुबै पक्षको प्रतिबद्धता
सुन्नुहोस्

नेपाल र चीन बीचको पुरानो व्यापारिक नाका तातोपानीमा पछिल्लो समय चहलपहल बढ्न थालेको छ । दैनिक सयौं कन्टेनर भ्यानहरु चिनियाँ सामाग्री बोकेर नेपाल भित्रिन थालेसँगै नाकामा चहलपहल बढ्न थालेको छ । 

दुईतर्फीरुपमा नाका सञ्चालनमा ल्याउने सहमतिअनुसार चीन सरकारले सहमति कार्यान्वयमा ल्याएपछि सामान निर्यात र आयातमा सहजता भएको बताइन्छ । त्यसपछि तातोपानी नाकामा ठूलादेखि साना व्यापारीहरुको आकर्षण बढेको हो ।

नाकामा चहलपहल बढेपछि चोरी निकासी र अपराधिक गतिविधि बढ्न सक्नेतर्फ दुबै मुलुकका सुरक्षा अधिकारीहरुले चासो व्यक्त गरेका छन् । त्यस्तो गतिविधि नियन्त्रणका लागि चिनियाँ र नेपाली दुबै पक्षले सहकार्य गर्ने जनाइएको छ । दुबै मुलुकका अधिकारीहरुबीच   भएको बैठकमा सीमा सुरक्षाका लागि एकअर्कालाई सहयोग गरेर अगाडि बढ्ने सहमति भएको जानकारी दिइएको छ ।

चीनका तर्फबाट अध्यागमन प्रहरीका एसएसपी चाओको अध्यक्षतामा नाकामा बसेको बैठकमा नेपालका तर्फबाट सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी किरण थापा, सुरक्षा निकायका जिल्लाका तीनै तहका प्रमुखहरु, अध्यागमन अधिकृतलगायतको उपस्थिति थियो । 

चिनियाँ सामाग्री लोड गरिएका नेपाली कन्टेनरलाई सरासर नेपाल प्रवेशका लागि व्यवस्थापन गरिदिन नेपाली पक्षले आग्रह गरेको बताइन्छ । भाषाका कारण अप्ठयारोमा परेका नेपाली चालकहरुलाई सहयोग एवम् सहजीकरण गर्दै चीनतर्फ कम्तिमा बसोबासका लागि वातावरण सिर्जना गर्नुृपर्ने माग बैठकमा नेपाली पक्षले राखेका थिए । 

पछिल्लोपटक नाका सञ्चालनमा आएपनि चिनियाँ सामाग्री लोड गरेका कन्टेनर भ्यानहरु चिनियाँ पक्षले समायमा नै नेपाल प्रवेशका लािग अनुमति नदिने र भाषाका कारण नेपाली चालकहरुले अनेक सास्ती खेप्नु परेको गुनासो सुनिएको छ । २०७२ सालको भूकम्पले तिब्बतको खासा बजार ध्वस्त भएको र हाल पुनर्निर्माणको अवस्थामा रहेका कारण नेपाली चालकहरुले चीनतर्फ खाना र बस्ने बासको समस्या झेल्दै आएका छन् । 

यस विषयमा चिनियाँ अधिकारीहरुले सक्दो सहजीकरण गर्ने प्रतिबद्धता जनाएको प्रमुख जिल्ला अधिकारी थापाले बताए । यसैगरी चिनियाँ भूभागमा प्रवेश गर्न सिन्धुपाल्चोबासीका लागि प्रदान गर्दै आएको एकदिने पासलाई आगामी दिनबाट डिजिटल पासको रुपमा प्रयोगमा ल्याउन लागिएको जानकारी चिनियाँ अधिकारीलाई दिइएको छ ।

टिप्पणीहरू