आइजीपी उडेपछि निमित्तको विशेष निर्देशन

आइजीपी उडेपछि निमित्तको विशेष निर्देशन
सुन्नुहोस्

नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक (आईजीपी) टेकप्रसाद राईले चाडपर्वलक्षित विशेष सुरक्षा योजना बनाई कार्यान्वयन गर्न निर्देशन दिएका छन् । उनले भर्चुअल माध्यममा सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरुलाई त्यस्तो निर्देशन दिएका हुन् ।  

निमित्त आईजीपी राईले चाडपर्वमा अपराधिक क्रियाकलाप हुन नदिन प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन निर्देश गरेका छन् । त्यस्ता गतिविधिको सूचना संकलन तथा विश्लेषणका लागि प्रहरी परिचालन गर्न भनिएको छ ।

विशेषगरी चाडपर्वको समयमा सवारी दुर्घटना बढ्ने उल्लेख गर्दै निमित्त आईजीपी राईले यसको न्यूनीकरणका लागि सरोकारवाला सबै पक्षसँग समन्वय र सहकार्य गरी चेतनामूलक कार्यक्रम सञ्चालन गर्न आग्रह गरेका छन् । उनले आआफ्नो क्षेत्रमा तस्करी नियन्त्रणका लागि थप सक्रिय भई कार्य गर्न पनि प्रदेश प्रहरी प्रमुखहरुलाई निर्देशन दिए । 

आईजीपी वसन्तबहादुर कुँवर हिजो ग्रीस प्रस्थान गरेपछि राईलाई निमित्तको जिम्मेवारी दिइएको हो । कुँवर ‘युएस ड्रग इन्फोर्समेण्ट एडमिनिट्रेसन’ को आयोजनामा आजदेखि पर्सिसम्म एथेन्समा आयोजित ३८ औं ‘इन्टरनेसनल ड्रग इन्फोर्समेण्ट कन्फरेन्स’ मा सहभागी हुँदैछन् ।

टिप्पणीहरू