यसरी भइरहेको छ बालमैत्री अभियानमा अवरोध

यसरी भइरहेको छ बालमैत्री अभियानमा अवरोध
सुन्नुहोस्

मुलुकभरका ४६० गाउँपालिकामध्ये पहिलोपटक बालमैत्री स्थानीय शासन अवलम्बन गरिएको मकवानपुरको मनहरी गाउँपालिकाका बालबालिका अन्य पालिकामा बाल श्रमिकको रुपमा काम गरिरहेको पाइएको छ । 

जिल्लाको पुरानो सदरमुकाम भीमफेदीस्थित राजगमार्गका होटलबाट मनहरी र राक्सिराङ गाउँपालिकाका सात जना बालबालिकाको उद्धार गरिएको छ । हेटौँडाबाट छोटो दूरीमा काठमाडौँ पुग्ने हेटौँडा–सिस्नेरी–काठमाडौँ सडक खण्डमा खु खुलेका होटलहरुमा भाँडा माझ्नेलगायत काम गर्दै गरेको अवस्थामा १६ बर्षभन्दा मुनिका बालबालिकाको उद्धार गरिएको सिविन नेपाल मकवानपुरका कार्यक्रम संयोजक झविन्द्र ज्ञवालीले बताए ।

भीमफेदी गाउँपालिकाको अगुवाइमा भएको अनुगमनका क्रममा बागमती प्रदेशको श्रम तथा रोजगार कार्यालय, सिविन बाल हेल्पलाइन र छोराछोरी नेपाल नामक गैरसरकारी संस्थाका प्रतिनिधिहरु सहभागी थिए । भीमफेदी गाउँपालिका वडा नम्बर ६ का ती होटलबाट उनीहरुको उद्धार गरिएको हो । उद्धार गरिएकामा मनहरी गाउँपालिका, कैलाश गाउँपालिका र भीमफेदी गाउँपालिकाका बालबालिका हुन् । 

उनीहरुलाई उद्धार गरी सिविन बाल हेल्पलाइनमा राखिएको छ भने श्रम कार्यालयले सम्बन्धित होटलका मालिकलाई बालबालिकालाई गैरकानूनी रुपमा काममा लगाइएको कारणबारे सात दिने लिखित स्पष्टिकरण सोधेको छ ।

मकवानपुरका १० वटा स्थानीय तहमध्ये मनहरी पहिलोपटक बालमैत्री गाउँपालिका घोषित भएको थियो । बकैया गाउँपालिका पनि बालमैत्री गाउँपालिकाको रुपमा घोषणा भइसकेको छ । अहिले हेटौँडा उपमहानगरपालिकाका विभिन्न वडाहरु बालमैत्री वडा घोषणा गरिएको छ । छिट्टै नै उपमहानगरपालिकालाई नै बालमैत्री स्थानीय तह घोषणा गर्ने तयारी रहेको जानकारी दिइएको छ ।

तर, बालमैत्री स्थानीय शासन अवलम्बनको अभियान चलाइए पनि राजमार्गका होटल, मोटर ग्यारेज तथा अन्य कलकारखानामा बालबालिकालाई बाल श्रममा लगाउने क्रम र तरिकाहरु अझै निमिट्यान्न हुन सकेको छैन ।

टिप्पणीहरू