मिडिया मालिकहरू किन फुटे ?

मिडिया मालिकहरू किन फुटे ?

हिजोदेखि मिडिया मालिकहरुको सङ्गठन मिडिया सोसाइटीमा फुट आएको छ ।

सोसाइटीलाई शुरुदेखि नियाल्दै आएकाहरू भन्छन् ‘तीन वर्षअगाडि नै फुट्ने सुरसार थियो । सोसाइटी केही समयदेखि कैलाश सिरोहियाजी र शुभशंकर कँडेलजी बसेर डिनर खाने,तक्मा र भिआइपीको बिदेश भ्रमणमा सामेल हुने,संगठन देखाएर कमिटी र कार्यदलहरुमा बस्ने,अनि समय कटाउने मञ्च र मेसो मात्र बन्दै आएको थियो ।’

नेतृत्वमा बसेकाले विज्ञापन सम्बन्धमा सामुहिक लाभ र हित, पत्रकार तथा कर्मचारीको भविश्यजस्ता ज्वलन्त विषयलाई कहिल्यै नउठाएको असन्तुष्टहरूले बताउँदै आएका थिए ।

सोसाइटीभित्र उठेको चर्को आवाज र समस्या समाधानको लागि अरु सदस्यले पटक पटक पहल गरे पनि चासो नदिइएपछि आफूहरूले सोसाइटीलाई छाडेर नयाँ संस्था खोलेको मिडिया एलायन्स नेपालका अधिकारीहरूले बताएका छन् ।

नेतृत्वमा बसेकाहरूले सोसाइटीलाई भजाउँदै आफ्नो मात्र फाइदामा जुट्ने, कागज र डलर सुविधामा छुट लिने, राज्यबाट टिभीको नवीकरण छुट पनि लिने तर कर्मचारी र पत्रकारलाई भने तलब नदिने क्रम बढेपछि बाध्य भएर एलायन्स गठन गर्नुपरेको एक जना बागी नेताले जनआस्थालाई बताए ।

एलायन्स गठनपछि अब मिडिया सोसाइटी कान्तिपुर मिडिया ग्रुपका कैलाश सिरोहिया, एबीसी टेलिभिजनका शुभशंकर कँडेल, न्यूज २४ र अभियान दैनिक गरी जम्माजम्मी ४ वटा संस्थामा सिमित भएको बताइन्छ । नयाँ गठित संस्थामा झण्डै २० वटा संस्था आबद्ध रहेको दावी गरिएको छ ।

एलायन्समा एभिन्यूज टेलिभिजन, इमेज टेलिभिजन, सगरमाथा टेलिभिजन, रिपब्लिका मिडिया, अन्नपूर्ण मिडिया नेटवर्क, जनता टेलिभिजन, प्राइम टेलिभिजन, माउण्टेन टेलिभिजन, इम्प्रेसन पब्लिकेशन्स, कारोबार दैनिकलगायत मूलधारका सञ्चारमाध्यम आबद्ध रहेको सामुहिक तस्बिरमा देखिन्छ ।

टिप्पणीहरू