ब्यानरमा ‘शान्ति’, मुनितिर जाँड बिक्री

ब्यानरमा ‘शान्ति’, मुनितिर जाँड बिक्री

सांस्कृतिक सम्पदाको जगेर्ना र वातावरण संरक्षणका लागि काठमाडौं महानगरपालिकाले शुरु गरेको अभियानले प्रदूषणलाई प्रोत्साहन गरेको भन्दै व्यापक जनगुनासो आएको छ । वडा नम्बर ५, हाँडीगाउँमा थालिएको प्रत्येक शनिबार ‘गाडीरहित दिन’ अभियानले सांस्कृतिक सम्पदालाई थप दुर्गन्धित बनाएको वडाबासीको आरोप छ । 

असोज ४ गतेदेखि हाँडीगाउँमा सवारीसाधनलाई प्रवेश निषेध गरेर मेला लगाउन थालिएको छ । सवारीसाधनबाट हुने वायु प्रदूषण केही कम भएपनि अन्य प्रदूषण बढेको छ । सम्पदा वरपर चुरोटका ठूटा थुप्रिएका छन् । यता, माछामासु पोल्ने स्टलका कारण सर्वसाधारणलाई सास्ती भएको छ । हरेक शनिबार त्यहाँ झण्डै दुई सय स्टलमा माछामासु पोलेर बेच्ने गरिन्छ । 

खुलेआम जाँडरक्सी बिक्री भइरहेको उल्लेख गर्दै स्थानीय एक जनाले भने, ‘शान्ति यहाँबाट शुरु हुन्छ’ लेखिएको ब्यानरको ठीक तल एक बोतल जाँड डेढ सयमा बिक्री गरिन्छ । जाँडरक्सी बेचेर पनि कहीँ शान्ति हुन्छ ?’

उनीहरुका अनुसार वडाले प्रत्येक स्टलबाट दुई सय रुपैयाँ उठाउने गरेको छ । त्यो रकम वडाको खातामा नजाने बताइन्छ । शनिबार त्यहाँ पुगेका वडाध्यक्ष विरेन्द्र प्रजापति भन्दै थिए, ‘पानी नभई बाँच्न सकिन्छ तर हावा प्रदूषित भएमा बाँच्न सकिँदैन ।’ उनले त्यसो भनिरहँदा जाँडरक्सीको गन्ध, माछामासु पोल्दा आउने धुँवा, धुम्रपानबाट हुने वायु प्रदूषण र जथाभावी फोहोर फाल्दा ऐतिहासिक स्थलमा हुने दुर्गन्धबारे कसले ध्यान दिन्छ ? 

उक्त कार्यले युएसएडको ‘कमाऊ, रमाउ, जोगाउ, विश्व गाडी दिवस, २०२४’ र ‘हाँडीगाउँ गाडीरहित क्षेत्र’ लेखिएको ब्यानरको उपहास भएको छ । यता, दिउँसै जाँडरक्सी बेचेर कमाउनु–रमाउनु कतिको जायज होला ? भन्ने प्रश्न पनि उठेको छ । वडाबासीले हाँडीगाउँलाई जाँडरक्सी सेवन गर्ने ठाउँ बन्नबाट जोगाउन अपिल गरेका छन् ।

टिप्पणीहरू