अवकाशको मुखमा प्रधानन्यायाधीशले मौका छोपेको आरोप

अवकाशको मुखमा प्रधानन्यायाधीशले मौका छोपेको आरोप

कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशाेसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले अवकाश लिन लागेका प्रधानन्यायाधीशले न्यायालयमा उथलपुथल ल्याएको आरोप लगाएका छन् । 

आज बार प्राङ्गढमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले व्यक्तिगत हिसाब-किताब मिलाउन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले गैरसंवैधानिक ढंगबाट न्यायाधिश नियुक्त गर्न लागेको बताएका हुन् । 

न्यायालयमा खुलम-खुला गैरसंवैधानिक काम भएको हेर्न नसकिने भन्दै अध्यक्ष घिमिरेले आक्रोशसमेत पोखेका छन् । ‘एउटा घर जान लागेको प्रधानन्यायाधीशले आफ्नो हिसाबकिताब मिलाउन आफूखुशी न्यायधीश नियुक्त गर्ने प्रपञ्च रच्दैछ’, आक्रोशित हुँदै उनले भने, ‘त्यस्तो कुरा बारले हेरेर बस्न सक्दैन ।’

न्यायाधीश नियुक्तिको प्रक्रियामा किन विरोध गरेको ? भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘०८० असोज १ गते न्याय परिषद् नियमावली ०७४ मा एउटा एउटा कथित संशोधन भयो, त्यो संशोधन संविधानको धारा १४१ को उपधार १ र ३ सँग प्रत्यक्ष बाझिएको छ । न्याय परिषद्को अध्यक्षको कारण उथलपुथल भएको छ । न्यायाधीशहरुको वरियताक्रम मिचिएको छ ।’

अध्यक्ष घिमिरेले भावि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतलाई समेत यसबारे वास्ता नभएको आरोप लगाए । ‘एउटा न्यायाधीश प्रधानन्यायाधीश बन्ने लाइनमा छ, उसलाई संसदीय सुनावाई समितिले पनि बोलाइसकेको छ’, उनले थपे, ‘तर उसलाई भइरहेका गैरसंवैधानिक कामहरुको वास्ता छैन, कसले लिन्छ जिम्मेवारी ?’ 

विधिपूर्वक हुने न्यायाधीश नियुक्तिको प्रक्रियामा सहयोग गर्ने, तर गैरसंवैधानिक ढंगले बलमिच्याई गरे कुनै पनि हालतमास्वीकार नगर्ने घिमिरेको चेतावनी छ ।

टिप्पणीहरू