राष्ट्रपति सेनाको हेलिकोप्टरमा चितवनपछि नवलपरासीको सुस्ता जाँदै
राष्ट्रपति रामचन्द्र पौडेल चितवनको भरतपुर र नवलपरासी (पूर्व) को सुस्ता जान लाग्नुभएको छ । उहाँ बिहान सवा १० बजे काठमाडौंबाट प्रस्थान गर्ने र ११ बजे भरतपुर पुग्ने कार्यक्रम छ । त्यसपछि दिउँसो पौने २ बजे भरतपुरबाट सुस्ता जाने बुझिएको छ ।
राष्ट्रपति भरतपुरमा आयोजित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २५ औं वार्षिकोत्सवमा सहभागी हुन त्यता जान लाग्नुभएको हो । भरतपुरमा २० औं राष्ट्रिय क्यान्सर सतर्कता दिवस कार्यक्रम पनि मनाईंदै छ ।
दिउँसो २ बजे सुस्ता गाउँपालिका ५ स्थित नारायणी नदीमा बनाइएको झोलुङ्गे पुलको समुद्घाटनका लागि राष्ट्रपति त्यहाँ जान लाग्नुभएको हो । ती दुबै कार्यक्रममा राष्ट्रपतिलाई सहभागी गराएर बेलुकी काठमाडौं फिर्तिका लागि सेनाले एनए ०६७ अगुस्टा हेलिकोप्टरलाई तयारी अवस्थामा राखेको बताइन्छ ।
राष्ट्रपतिसँगै सोही हेलिकोप्टरमा उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह पनि भरतपुर र सुस्ता जान लाग्नुभएको हो ।
टिप्पणीहरू