एयरपोर्ट वरपर चङ्गा, ड्रोन र बेलुन निषेध
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासका क्षेत्रमा चङ्गा, ड्रोन र बेलुन उडाउन निषेध गरिएको छ ।
नागरिक उड्डयन कार्यालयले विमानस्थल वरपर चङ्गा, ड्रोन र बेलुनसहित लेजर लाईटको प्रयोग मनाही गर्दै जबरजस्ती गरिए कारबाहीको चेतावनीसमेत दिएको छ । जहाज उडान तथा अवतरणको समयमा विमानस्थलको आसपास यी वस्तु उडाउँदा सुरक्षामा गम्भीर असर पर्ने भन्दै कार्यालयले सर्वसाधारणलाई सचेत गराएको हो ।
‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन र बेलुन उडाउने कार्य तथा लेजर लाईटले विमानको उडान सुरक्षामा गम्भीर असर पर्न सक्ने भएको हुँदा यस किसिमका गतिविधि एंव क्रियाकलाप नगर्न नगराउन हुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ ।
सूचनाको अवज्ञा वा अटेरी गरी यस्ता गतिविधि गरे वा गराएको पाइएमा प्रचलित कानूनबमोजिम कडा कारबाही गरिने कार्यालयको चेतावनी छ ।
टिप्पणीहरू