अदालतलाई दबाब दिन माइतीघरमा जुलुस
काठमाडौं उपत्यकाका नदी किनारमा थप २० मिटर छोड्नुपर्ने सर्वोच्च अदालतको फैसला र त्यसको कार्यन्वयनका लागि काठमाडौँ महानगरपालिकाले जारी गरेको सूचनाविरुद्ध आज पनि प्रदर्शन भएको छ ।
गैरन्यायिक सडक तथा खोलानदी मापदण्ड पीडित संघर्ष समिति र धोविखोला करिडोर प्रभावित मूल तदर्थ समितिको अगुवाइमा सरोकारवालाहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।
विरोध प्रदर्शनमा गैरन्यायिक सडक तथा खोलानदी मापदण्ड पीडित संघर्ष समितिका अध्यक्ष सुमन सायमी, राष्ट्रिय मुक्ति क्रान्ति उपत्यका विशेष व्यूराेका संयोजक रवीन्द्र श्रेष्ठ, 'सेभ नेवा भ्याली'का अभियान्ता राजाराम तण्डुकार, धोविखोला करिडोर प्रभावित मूल तदर्थ समिति अध्यक्ष ऋषि बश्याललगायत पाँच दर्जनजाति सहभागी छन् ।
पीडितहरूले 'जनताको सम्पत्ति रक्षा गर, सर्वोच्च अदालतको निर्णय खारेज गर' जस्ता नारा लगाएका छन् । 'त्यस्तै, मापदण्डका नाममा जनतालाई उठिबास लगाउन पाइंदैन', 'निजि घर-जग्गामाथि हस्तक्षेप बन्द गर', 'अन्यायपूर्ण सडक बिस्तार खारेज गर', 'फैसला हैन न्याय दे', 'उठिबास लगाउने सडक तथा खोला मापदण्ड खारेज गर', 'गैरन्यायिक सडक तथा खोलाको मापददण्ड खारेज गर', 'जनतालाई विस्थापन गर्न पाइदैन', 'जनतालाई विस्थापित गर्ने संविधान चाहिदैन', 'आदिवासीको अधिकारलाई सुनिस्चित गर', लेखिएका ब्यानर र प्लेकार्ड प्रदर्शन गरिएको छ।
यात, अदालतको फैसलाविरुद्ध सरकारले सर्वोच्च अदालतमा दर्ता गराएको पुनरावलोकन निवेदनउपर आज सुनुवाइ तोकिएको छ । अदालतलाई दबाब दिन विरोध प्रदर्शनमा उत्रिएको आयोजकले जनाएको छ ।
तस्बिरहरु
टिप्पणीहरू