पैसा उठाउन ठेकेदारहरु सडकमा ओर्लिंदै

पैसा उठाउन ठेकेदारहरु सडकमा ओर्लिंदै

सरकारले काम गरेको पैसा नदिएपछि निर्माण व्यवसायी फेरि सडकमा ओर्लिने भएका छन् । 

दशैको मुखमा समेत सरकारले बाँकी रकम भुक्तानी नगरेको भन्दै नेपाल निर्माण व्यवसायी महासंघ सशक्त आन्दोलनको तयारीमा जुटेको हो । सरकारलाई पटक-पटक आग्रह र सडक संघर्ष गर्दासमेत भुक्तानी नपाएको भन्दै महासंघले अब सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ ।

राष्ट्रिय गौरवका आयोजना, राष्ट्रिय प्राथमिकताप्राप्त आयोजना, संघ, प्रदेश र स्थानीय सरकारबाट हस्तान्तरण भएका लगायत विभिन्न आयोजनाहरुबाट ४५ अर्ब रुपैयाँ भुक्तानी नपाएको महासंघले जनाउँदै आएको छ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, मन्त्रालयका सचिवलगायतलाई पटकपटक भेटेर आफ्ना गुनासो राख्दा पनि सुनुवाई नभएको व्यवसायीहरुको गुनासो छ । 

आज विज्ञप्ति जारी गर्दै महासंघले निर्माण व्यवसायीसँग आश्रित हजारौं परिवारलाई राहत दिन सरकारको पुन: ध्यानाकर्षणसमेत गराएको छ । 

‘नजिकिँदै आइरहेका नेपालीहरुको महान् पर्वहरु विजया दशमी, तिहार र छठको पूर्वसन्ध्यामा व्यवसायीहरुको भुक्तानी गर्न बाँकी रकम तत्काल भुक्तानी गरी निर्माण व्यवसायीहरु र उनीहरुसँग आश्रित हजारौं परिवार र लाखौं मजदुरलाई राहत दिन महासंघले माननीय कार्यवाहक प्रधानमन्त्रीज्यू, माननीय भौतिक पूर्वाधार तथा यातायातमन्त्रीज्यूलगायतलाई प्रत्यक्ष भेटेर नै र अन्य सम्बन्धित माननीय मन्त्रीज्यूहरु, श्रीमान् सचिवज्यूहरु र महानिर्देशकज्यूहरुलाई पत्राचारमार्फत ज्ञापनपत्र पेश गरिसकेको जानकारी गराउन चाहन्छौं । ज्ञापनपत्रमा उल्लेख भएबमोजिम भुक्तानीको समस्या समयमा समाधान नहुने हो भने महासंघ बाध्य भई तत्काल सशक्त आन्दोलनमा जान बाध्य हुने व्यहोरा...’,विज्ञप्तिमा उल्लेख छ । 

त्यसैगरी, व्यवसायीहरुले निर्माण सम्पन्न भएको आयोजनाको भुक्तानी गर्न सक्ने स्थिति नभएमा रुग्ण आयोजनामा समावेश गरी सार्वजनिक खरिद ऐनबमोजिम त्यस्ता आयोजनालाई सुविस्ताको आधारमा अन्त्य गर्दै फरफारकको व्यवस्था गर्न माग पनि गरेका छन् ।

टिप्पणीहरू