रिसर्च सेन्टर घुमेर मात्र नेपाल फर्कन प्रधानमन्त्रीलाई सल्लाह

रिसर्च सेन्टर घुमेर मात्र नेपाल फर्कन प्रधानमन्त्रीलाई सल्लाह

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अमेरिकाबाट फर्किनुअघि त्यहाँका रिसर्च र इनोभेसन सेन्टर अवलोकन गर्न सुझाव दिएका छन् । 

वीरगञ्जस्थित कृषि औजार कारखाना सञ्चालनको लागि आफ्नो आत्मसंस्मरण पुस्तक बेच्दै हिँडेका उनले सामाजिक सञ्जालमार्फत यस्तो सुझाव दिएका हुन् । 

सरकारले ०७९ असोजमा कृषि औजार कारखाना सञ्चालनमा ल्याउन बजेट विनियोजन गरिदिने आश्वासन दिँदै राष्ट्रिय आविष्कार केन्द्रलाई जिम्मा दिएको थियो । त्यतिबेला अर्थ मन्त्रालयको तर्फबाट तत्कालीन सहसचिव रमेश केसी र संस्थापक पुनबीच लिखित सम्झौता नै भएको थियो । तर, सम्झौता भएको दुई वर्षसम्म सरकारले कुनै बजेट उपलब्ध गराएको छैन । 

अहिले प्रधानमन्त्री ओली अमेरिकामा हुनुहुन्छ । यही मौकामा सरकारलाई आविष्कार केन्द्रको महत्व बोध गराउन पुनले पाँच वटा जति रिसर्च र इनोभेसन सेन्टर हेर्न र बुझ्न कटाक्षपूर्ण सल्लाह दिएका हुन् । 

‘सम्माननीय प्रधानमन्त्रीज्यू, अमेरिका गएको बेला पाँच वटा जति प्रख्यात विश्वविद्यालयहरुको रिसर्च र इनोभेसन सेन्टरहरु हेरेर र बुझेर आउनु होला', पुनले भनेका छन्, 'सो को लागि नेपाली प्रोफेसरहरुले मद्दत गरि दिनुहोला, प्लीज !’

टिप्पणीहरू