तीन तिरबाट भारतले घेरिएको सुस्तामा हल्का राहत

तीन तिरबाट भारतले घेरिएको सुस्तामा हल्का राहत

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुस्ता गाउँपालिका-५ स्थित नारायणी नदीमा बनेको देशकै सबैभन्दा लामो झोलुङ्गे पुल सन्चालनमा आएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज एक समारोहबीच पुल उद्धघाटन गर्नुभयो ।

पुल बनेसँगै सुस्ता क्षेत्रका स्थानीयवासीलाई आवतजावतमा सहज हुने भएको छ । तीन तर्फबाट भारतीय जमिन र एकतर्फ नारायणी नदीले घेरिएको सुस्ता क्षेत्रमा तीन सय ५० परिवारको बसोबास छ । पुल बन्नुअघि त्यहाँका स्थानीयवासी डुंगामा जोखिम मोलेर वा भारतीय भूमि हुँदै गण्डक ब्यारेजबाट नेपाल आउने बाध्य थिए । 

त्यस्तै, त्यहाँ उत्पादित केरा, ऊखुलगायतका खाद्यवस्तु स्थानीय उत्पादन बजारसम्म ल्याउन सकिएको थिएन । 

एक हजार पाँच सय ७१ मिटर लामो झोलुङ्गे पुल भ्याटबाहेक २० करोड ९३ लाखमा निर्माण गरिएको हो । २०७२ सालमा सम्झौता भएर पुल निर्माण कार्य शुरु भएको थियो । 

साथै, सुस्ता क्षेत्रमा एकीकृत राष्ट्रिय विद्युत प्रणालीबाट विद्युत आपूर्तिसमेत आजै शुभारम्भ गरिएको छ । उर्जामन्त्री दीपक खड्काले ३ सय ५० घर परिवारलाई एक वर्षसम्म निःशुल्क बिजुली दिने घोषणा गरे ।

कार्यक्रममा कार्यवहाक प्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंह, लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगर, मुख्यमन्त्री चेतनारायण आचार्य, सभामुख तुलाराम घर्ती मगरलगायत प्रतिनिधि सभा सांसद, प्रदेश सभा सदस्य, स्थानीय तहका जनप्रतिनिधिहरुको सहभागिता थियो ।

टिप्पणीहरू