‘रेड जोन’मा नाइट बस सञ्चालन नहुने, दुई दिन धान नकाट्न सल्लाह

‘रेड जोन’मा नाइट बस सञ्चालन नहुने, दुई दिन धान नकाट्न सल्लाह

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ‘रेड जोन’ मा परेका जिल्लामा रात्रिकालिन बस नचलाउन आग्रह गरेको छ । 

प्राधिकरणले आज विज्ञप्ति जारी गर्दै बाढीपहिरोको उच्च जोखिममा रहेका हिमाल तथा पहाडका ५६ जिल्लामा भोलि र पर्सि रात्रिकालिन बस नचलाउन भनेको हो । जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि आइतबारसम्म भारी वर्षा हुने पूर्वानुमान गरेको छ । जसका कारण अति प्रभावित हुने सम्भावना रहेका जिल्लालाई रेड जोन घोषणा गरिएको छ । 

झापा, सुनसरी, धनकुटा, तेह्रथुम, खोटाङ, ओखलढुंगा, उदयपुर, भोजपुर, इलाम, पाँचथर, मोरङ, सिरहा, सप्तरी, पर्सा, मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपलाञ्चोक, सिन्धुली, रामेछापमा रातको समयमा बस चलाउन रोक लगाइएको छ । 

त्यस्तै, म्याग्दी, बाग्लुङ, तनहुँ, स्याङ्जा, नवलपरासी पूर्व, कास्की, पर्वत, लमजुङ, गोरखा, मनाङ, रुकुम पूर्व, रोल्पा, गुल्मी, प्युठान, अर्घाखाँची, पाल्पा, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी पश्चिम, बाँके, बर्दिया, जाजरकोट, रुकुम पश्चिम, दैलेख, सुर्खेत, सल्यान, डोटी, कैलाली र अछाममा समेत बस नचलाउन प्राधिकरणको निर्देशन छ । 

प्राधिकरणले आइतबारसम्म धान नकाट्न वा काटिसकेको भएमा तत्काल थन्काउन पनि अनुरोध गरेको छ । तराई तथा मधेश क्षेत्रमा सकेसम्म भुइँतलामा अन्नपात नराख्न, पहिरोको जोखिम भएका स्थान र नदी किनारका बस्तीलाई उच्च सतर्कता अपनाउन पनि भनिएको छ ।

 

दाउरा निकाल्ने तथा माछा मार्ने कामका निम्ति नदी किनारमा नजान तथा सो अवधिभर अत्यन्त जरुरी अवस्थामा बाहेक यात्रा नगर्न पनि प्राधिकरणको अनुरोध छ । बादल गर्जेको र चट्याङ परिरहेको बेला रुखमुनि, बलेनीमा बस्न तथा घरबाहिर ननिस्कन समेत विज्ञप्तिमा उल्लेख छ । 

प्राधिकरणले पूर्वतयारी र प्रतिकार्य गर्ने साझेदार संस्थाहरु जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिसँग समन्वयमा रही ‘अर्लट’ रहन ध्यानाकर्षण गराउँदै खोज तथा उद्दारका लागि तीन वटै सुरक्षा निकाय एंव स्वंयसेवकहरु तयारी अवस्थामा हुन पनि निर्देशन दिएको छ । साथै, विपद्को जोखिममा रहेका नागरिकलाई तत्काल सुरक्षित आश्रमस्थलमा सार्न निर्देश गरिएको छ ।

टिप्पणीहरू