मासुमा खेलाँची गर्दा १० हजार फाइन

मासुमा खेलाँची गर्दा १० हजार फाइन

बुटवलमा सञ्चालित आधा दर्जन बढी मासु पसल कारबाहीमा परेका छन् । 

चाडपर्व नजिकिएसँगै बुटवल उपमहानगरपालिकाद्धारा गरिएको अनुगमनका क्रममा बध वा स्वच्छता कायम नगरिएको पाइएपछि सात मासु पसल कारबाहीमा परेका हुन् । 

उपमहानगरका अनुसार बुटवल मिट सप्लायर्स, ज्योति माइला मासु पसल, सापकोटा मासु पसल, न्यू पहाडिया मासु पसल, भान्जा मासु पसल, बन्जाडे मासु पसल र पहाडिया मासु पसललाई कारबाहीस्वरुप दश-दश हजार रुपैयाँ जरिवाना तिराइएको छ । बधशालामा बध गरिएको स्वच्छकर मासु मात्रै बेचबिखन गर्न आग्रह गरिएपनि अटेरी गरेपश्चात् कारबाही गर्नुपरेको उपमहानगरले जनाएको छ । 

उपमहानगरले अनुगमनलाई निरन्तरता दिने जनाउँदै अब पनि अटेरी गरेमा दोस्रो पटक २५ हजार, तेस्रो पटक ५० हजार रुपैयाँ जरिवाना तिराउने र त्यसपछि पसलको दर्ता खारेज गरिदिने समेत चेतावनी दिएको बताएको छ । साथै, अनिवार्य रुपमा बधशालामा बध गरिएका मासु मात्रै बेचबिखन तथा उपभोग गर्न अनुरोध गरिएको छ ।

टिप्पणीहरू