नाकामा कडाई गर्न माग गर्दै भन्सारमा डेलिगेसन
ऋषि भट्टराई
रुपन्देहीमा क्रियाशील चार व्यवसायिक संगठनले नाकाबाट हुने चोरी निकासी र अवैध कारोबार रोक्न माग गरेका छन् । कमजोर भन्सार नियमन र खुल्ला सीमाबाट हुने चोरी निकासीले राजश्व संकलन र व्यवसायिक कारोबारमा असर पुगेको गुनासो गर्दै व्यावसायीहरुले नियमनको माग गरेका हुन् ।
रुपन्देही व्यापार संघ, बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही उद्योग संघ र उद्योग व्यापार संघले हिजो भैरहवा भन्सार कार्यालय, बेलहियाका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मी र रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई संयुक्त रुपमा ज्ञापनपत्र बुझाउँदै सीमानामा कडाइका साथ नियमन नहुँदा निजी व्यवसायीहरुको व्यवसायमा असर परेको बताएका छन् ।
‘विभिन्न कारणबाट देशको अर्थतन्त्रमा मन्दी आएको र त्यसको प्रभावले देशका व्यवसायीहरु धराशायी बनेको अवस्थामा सीमानाकाबाट हुने अवैध कारोबार र खुल्ला गतिविधिले थप पलायन हुने अवस्था सिर्जना भएको छ’,पत्रमा भनिएको छ,‘कमजोर निर्यात क्षमता र आयातमा आधारित अर्थतन्त्रमा सीमाबाट हुने अवैध कारोबार र खुल्ला गतिविधिले धेरै नै असर गर्छ । सरकारी निकायले आयात राजश्वलाई आम्दानीको मुख्य स्रोतको रुपमा लिँदै आएको वर्तमान अवस्थामा भन्सार तथा खुल्ला सीमाबाट भइरहेको अवैध कारोबारले प्रभाव पारेको छ ।’
त्यसैगरी, उनीहरुले अवैध कारोबार नरोकिएमा आफूहरु व्यवसाय छोड्न बाध्य हुने बताए । सो क्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले मुलुकको अर्थतन्त्र दरिलो बनाउन र नेपाली व्यवसायीहरुलाई बचाउन भन्सार तथा खुल्ला सीमा नियमन थप कडाइ गर्न सुझाव दिए ।
‘चाडबाडको नजिकिएको छ । तर, नेपाली बजार सुनसान र भारतीय बजार गुल्जार छ । सरकारी निकायको कमीकमजोरीको भुक्तान नेपाली व्यवसायीले गरिरहनुपरेको छ । देशको अर्थतन्त्र दरिलो पार्न र नेपालका व्यवसायीलाई बचाएर लैजानका लागि भन्सार तथा खुल्ला सीमा नियमन थप कडाइ गर्दै लैजानुपर्छ’,उनले भने ।
प्रमुख जिल्ला अधिकारी अर्यालले सीमा क्षेत्रको सुरक्षा प्रबन्धमा देखिएका कमजोरीहरु सुधार गर्ने प्रतिबद्धता जनाएका छन् । भन्सार कार्यालयका प्रमुख रेग्मीले अवैध कारोबार र भन्सार नाकाहरुमा देखिएको सुस्ताप्रति आफू सचेत रहेको उल्लेख गर्दै त्यसमा सुधार गर्ने बताए ।
टिप्पणीहरू