काम गर्न नसके पद ओगटेर बस्दिन- मन्त्री पाण्डे

काम गर्न नसके पद ओगटेर बस्दिन- मन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले काम गरेर देखाउन नसके पदमा बस्नुको औचित्य नरहने बताएका छन् । 

पर्यटन दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले काम गर्न नसक्नेहरुलाई पदमा बसिरहने छुट नभएको बताए । त्यस्तो अवस्थामा एक मीनेट पनि पद ओगटेर नबस्ने मन्त्री पाण्डेको भनाई छ ।

‘हामी जो-जो जुन जुन ठाउँमा छौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको हैसियतले मैले काम गर्न सक्दिन भने मलाई यो मन्त्री पदमा बस्ने छुट छैन । कोही पनि निकायको प्रमुख यदि काम गर्न सक्दैन भने त्यसले त्यो निकायमा बस्ने छुट राख्दैन', उनले प्रष्टसँग भने ।  

कार्य सम्पादन गर्दा प्रक्रियाभन्दा परिणाममा ध्यान दिनुपर्नेमा जोड दिएका मन्त्री पाण्डेले त्यसतर्फ सरकारी निकायका प्रमुखहरुलाई सचेत पनि गराए । 

'कानून हेरिरहनु पर्दैन, त्यसका लागि कुनै व्यवस्था हेर्नु पर्दैन, जनता छ, जनता सार्वभौम सत्ता सम्पन्न छ । सार्वभौम सत्ता जनताले भन्यो भने म मन्त्रीको पदबाट एक निमेष पनि नरहेर निस्किने त्यो नैतिक तागत मैले देखाउनु पर्छ', उनले भने, 'त्यो दिशामा म सबै निकायका प्रमुखहरुलाई र त्यसमा रहनुभएका साथीहरुलाई पनि आग्रह गर्न चाहन्छु ।'

देशभक्ति र राष्ट्रभक्तिलाई सर्वोपरी राखेर नीति बनाउन निजी क्षेत्रलाई सुझाव दिंदै मन्त्री पाण्डेले सरकार सम्पूर्णरुपमा सकारात्मक रहेको उल्लेख गरे ।

 

टिप्पणीहरू