प्रधानमन्त्री फर्कनासाथ समातिएलान् त रवि ?

प्रधानमन्त्री फर्कनासाथ समातिएलान् त रवि ?

संसदीय विशेष समितिले सहकारीको रकम अपचलनमा सभापति रवि लामिछानेमाथि कारवाही सिफारिस गरेसँगै अप्ठेरोमा परेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक डाकेको छ । 

पार्टी मुख्यालय बनस्थलीमा आइतबार बिहान बस्नेगरी बैठक बोलाइएको हो । राष्ट्रिय भेलाको समीक्षा, आन्तरिक संगठनलगायत समसामयिक राजनीतिक विषय बैठकको एजेण्डा रहे पनि सभापति लामिछानेको सम्भावित गिरफ्तारी र त्यसबाट पार्टीमा पर्नसक्ने असरबारे बैठकमा गम्भीर ढंगले छलफल हुने बताइएको छ ।  

सभापतिमाथि सहकारी ठगीको आरोप लागेपछि रक्षात्मक अवस्थामा पुगेको रास्वपा संसदीय छानविन समितिले लामिछानेलाई दोषी किटान गर्दै कारवाही सिफारिस गरेपछि थप अप्ठेरोमा परेको छ । सूर्य थापा नेतृत्वको समितिले सूर्यदर्शन, सुप्रिमलगायतका सहकारीबाट गोर्खा मिडियामा रकम ल्याएर अपचलन गरेको निश्कर्षका आधारमा अध्यक्ष जिबी राई, तत्कालीन उपाध्यक्ष छविलाल जोशी र प्रवन्ध निर्देशक रविलाई कारवाही सिफारिस गरेको छ । त्यसैका आधारमा आइतबार छविलाल समातिएपछि रास्वपापंति तरंगित छ ।      

समितिले गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रवन्ध निर्देशकको रुपमा लामिछानेलाई कारवाही सिफारिस गरिएको भएता पनि रास्वपाका नेताहरुले भने यसलाई आफ्नो पार्टीमाथिको आक्रमणका रुपमा प्रचार गराइरहेका छन् । आइतबार साँझ प्रहरीले पक्राउ गर्न लागेको हल्ला चलेपछि सो पार्टीका नेता-कार्यकर्तालाई बनस्थलीस्थित कार्यालयमा भेला गराइएको थियो । त्यस्तै, चीन भ्रमणमा रहेको उपसभापति स्वर्णिम वाग्ले नेतृत्वको टोलीलाई रातारात फर्काइएको छ ।  

स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली र प्रहरी प्रमुख वसन्त कुँवर देशबाहिर रहेका कारण लामिछानेलाई तत्काल पक्राउ नगरिएको हो । प्रधानमन्त्री ओली सोमबार अमेरिकाबाट फर्केपछि सभापाति समातिनसक्ने आशंका रास्वपाका नेताहरुले गरेका छन् । 

त्यसैकारण प्रधानमन्त्री फर्किनुअघि केन्द्रीय समितिको बैठक बोलाइएको बताइन्छ । बैठकमा प्रथम राष्ट्रिय भेलाको समीक्षा, स्थानीय तहको उपनिर्वाचन र महाधिवेशन केन्द्रित गतिविधिको विषयमा छलफल गरिने सो पार्टीका एक नेताले बताए । तर, उनको अनुमान छ, ‘सभापतिज्यू पक्राउ परिहाल्नुभयो भने पार्टीको रणनीति के त ? त्यो विषयमा मुख्य छलफल हुनसक्छ ।’

टिप्पणीहरू