अमेरिका कमजोर कि लामिछाने बलियो ?

अमेरिका कमजोर कि लामिछाने बलियो ?

नेपालमा हरेकचोटी नयाँ प्रधानमन्त्री नियुक्त हुँदा पहिलो विदेश भ्रमणबारे चर्चा हुने गर्छ । प्रधानमन्त्रीमा नियुक्त भएसँगै भारत भ्रमण गर्ने परम्परा रहँदै आएकाले यो विषयमा आम चासो पनि रहने गरेको छ । त्यसैले नयाँ प्रधानमन्त्रीलाई भारतले निम्तो दिन्छ कि दिँदैन ? भन्ने बहसले महत्व पाइरहेको हुन्छ । 

अर्कोतिर, नेपालका प्रधानमन्त्रीले आफ्नो देशबाट विदेश भ्रमणको सुरुआत गरुन् भन्ने भारतीयहरूको पनि चाहना रहने गरेको तथ्य लुकेको छैन । दक्षिणको चाहना प्रतिकूल हुँदा अप्ठेरोमा पर्ने त्रासले पनि प्रधानमन्त्रीहरूले दिल्लीबाटै विदेश भ्रमण थाल्ने गरेको पाइन्छ । प्रत्यक्ष जनसरोकारको सवाल नभए पनि हाम्रो भूराजनीतिक अवस्थाले यो नजरअन्दाज गर्न सकिने विषय पक्कै होइन । तर, गत असार २८ गते प्रधानमन्त्री नियुक्त हुनुभएका केपी शर्मा ओलीको भारत भ्रमण अझै अनिश्चित छ ।

कांग्रेस–एमाले गठबन्धन बनाउन निर्णायक भूमिका खेलेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई नयाँ दिल्ली बोलाएर प्रधानमन्त्रीसरह सत्कार गरेको साउथ ब्लकले ओलीलाई भने अहिलेसम्म औपचारिक निम्तोसमेत दिएको छैन । सामान्यतयाः प्रधानमन्त्री नियुक्त भएलगत्तै फोनमा बधाईसँगै भ्रमणमा बोलाउने गरेको भारतले अढाई महिनासम्म किन बोलाएन ? प्रश्नसँगै अनेक अनुमान र विश्लेषण भैरहेका छन् ।

खासगरी नाकाबन्दीपछि प्रधानमन्त्री ओली र भारतीय संस्थापन पक्षबीच प्रगाढ सम्बन्ध छैन । अघिल्लो पटक प्रधानमन्त्री भएका बेला भारतलक्ष्यित ओली अभिव्यक्तिले थप अविश्वास बढाएको मानिन्छ । ओलीले राम जन्मभूमि अयोध्या नेपालमा पर्ने अप्रमाणित कुरा प्रचारमा ल्याएको भन्दै भारतीयहरूको असन्तुष्टि रहँदै आएको छ । त्यस्तै, आफ्नो सरकार ढाल्न खोजेको आरोप लगाउँदै ओलीले ‘सत्यमेव जयते’ कि ‘सिंहमेव जयते’ भनेकोमा पनि भारतको चित्त दुःखाई छ भनिन्छ । यसैकारण नरेन्द्र मोदी स्वागत गर्न आतुर नदेखिएको यसबारेका जानकारहरूको विश्लेषण छ । 

दिउँसो राष्ट्रवादको हवाई गफमा रमाउने, रात परेपछि विदेशी दूतसँग गुप्त भेटवार्ता गर्ने नेपाली राजनीतिको पुरानै चलन हो । बाहिर आक्रामक अभिव्यक्ति दिएता पनि अघिल्लोचोटी प्रधानमन्त्री हुँदा भारतलाई खुशी पार्न ‘र’ प्रमुखलाई ओछ्यानमै बोलाएर ओलीले रातारात छलफल गर्नुभएको थियो । यसपटक पनि उहाँ भारतसँगको सम्बन्ध सुधारेर दिल्ली जाने तीब्र चाहनामा हुनुहुन्छ । आरजुको दिल्ली दौडाहा त्यसैका निम्ति थियो ।

तर, भारतीय समकक्षी मोदीबाट सकारात्मक रेस्पोन्स नपाएपछि प्रधानमन्त्रीमा एक प्रकारको छटपटी देखिन्छ । पार्टी बैठकमा त्यसको प्रष्ट संकेत दिनुभएका उहाँले सार्वजनिक मञ्चमा पनि तीतो पोखिसक्नुभएको छ । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जानुअघि प्रतिनिधिसभा बैठकमा भ्रमणबारे जानकारी गराउँदै उहाँले घुमाउरो सन्तुष्टिमात्र जनाउनुभएन कूटनीतिक मर्यादाको सीमा मिचेर घोचपेचको शैलीमा प्रस्तुत हुनुभयो ।

‘नेपाल असल छिमेकीको रूपमा सम्बन्ध राख्न चाहन्छ । छुद्र, जाली छिमेकी होइन । असल छिमेकीको रूपमा रहन चाहन्छ । त्यस्तै व्यवहार छिमेकीबाट पनि चाहन्छ’, ओलीको भनाइ थियो । त्यस्तै, आफू नेतृत्वको तत्कालीन सरकारका परराष्ट्रमन्त्री कमल थापाको पुस्तक विमोचन कार्यक्रममा पनि उहाँले भारतले इपिजी प्रतिवेदन बुझ्नुपर्ने टिप्पणी गर्नुभएको थियो । 

साउथ ब्लकले महत्व नदिएको बुझेपछि प्रधानमन्त्रीको यस्तो आक्रामक टिप्पणी आएको अनुमान भैरहँदा ओली र मोदीबीच अमेरिकामा भेटवार्ता जुरेको छ । होटल लोट्टे न्युयोर्क प्यालेसमा दुई प्रधानमन्त्रीबीच भेट भएको हो । तर, यसका लागि नेपालले निकै पापड बेल्नुपरेको परराष्ट्र मन्त्रालय स्रोतको भनाई छ ।

उक्त स्रोतकाअनुसार खासमा नेपालबाट उड्दासम्म भेट सुनिश्चित भैसकेको थिएन । पाँच मिनेट मात्रै भए पनि भेट्ने ओलीको प्रस्तावलाई शुरुमा भारतले समय अभावको कारण देखाएर सम्भव नहुने जवाफ दिएको थियो । तर, ओलीका तर्फबाट आवश्यक परे थप पाँच दिन भ्रमण लम्ब्याएर भए पनि मोदीको अनुकूलतामा भेट्ने प्रस्ताव राखिएपछि भेटवार्ता सम्भव भएको हो । 

यता, नेपाली समुदायले विरोध गर्नसक्ने सम्भावनालाई हेरेर प्रधानमन्त्री ओलीको पूर्वनिर्धारित एउटा कार्यक्रम रद्द गरियो । न्युयोर्कमा आयोजना गर्ने भनिएको  स्वागत तथा भेटघाट कार्यक्रम सुरक्षाको कारण देखाएर अन्तिम समयमा स्थगित गरिएको हो । नेपाली महावाणिज्यदूतावास, न्युयोर्कले समारोहस्थलमा सुरक्षाको कारण देखाउँदै नेपालीहरूसँगको भेटघाट कार्यक्रम स्थगन गरिएको जानकारी दिएको छ ।

कार्यक्रमस्थलमा प्रधानमन्त्री ओलीमाथि रवि लामिछानेका समर्थकले नाराबाजी गर्ने तयारी गरेको थाहा पाएपछि अमेरिकी सुरक्षा निकायलाई प्राप्त सूचनाको हवाला दिँदै महावाणिज्य दूतावासले कार्यक्रम रद्द गरेको दाबी छ ।

तर, प्रश्न उठ्छ–महाशक्ति मुलुक अमेरिकामा कुनै देशका प्रधानमन्त्रीमाथि त्यो तहको सुरक्षा खतरा उत्पन्न भएकै हो त ? महावाणिज्य दूतावासका तर्फबाट जुन विज्ञप्ति निकालियो त्यसले रविलाई शक्तिशाली देखाउन खोजेको कि अमेरिकालाई कमजोर ? कूटनीतिमा यस्तो भाषा प्रयोग गर्न हुन्थ्यो कि हुँदैनथ्यो ? प्रधानमन्त्रीको व्यस्तताको कारण देखाउने कि सिधै सुरक्षा खतरा भनेर सार्वजनिक सूचना दिने ? प्रधानमन्त्री ओलीले यसबारे गम्भीर चासो र असन्तुष्टि राखेको बुझिएको छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू