प्रमले सेवालाई पेलेपछि...

प्रमले सेवालाई पेलेपछि...

आममानिसलाई अचम्भित पार्ने धेरै काम एउटै व्यक्तिबाट हुँदै गयो भने दिइने उपनाम हो, अचम्मको पोको । परराष्ट्र मन्त्रालयका कर्मचारीमध्ये सबैभन्दा उपल्लो पदकी सेवा लम्साललाई आफ्नै कर्मचारीले अचम्मको पोको भन्ने गर्छन् । यसो भन्नुको कारण के होला त ? 

सेवा हालै बेल्जियमका लागि राजदूतमा सिफारिस भइसकेकी छन् । एकातिर सचिव पद छोड्न नसक्ने, अर्कातिर कुनै मुलुकमा राजदूत भएर जानुपर्ने बाध्यता पछिल्लो दिन निकै चर्चाको विषय बनेको छ । यसअघिका परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले समेत सहसचिव अमृत राईलाई साथ लिएर काम चलाउने गरेका थिए । मन्त्रालय स्रोत भन्छ– अहिले पनि आरजु देउवालाई उनकै दक्षतामा विश्वास लागिरहेको छैन ।

त्यसैले उनी अमृत राईमा नै भर परेर मन्त्रालय चलाइरहेकी छन् । सेवाको बेल्जियम जाने आग्रहलाई सहजै स्वीकार गरेकी आरजूको प्रस्तावमा प्रधानमन्त्री केपी भने सकारात्मक थिएनन् । त्यसो त प्रचण्ड नेतृत्वको अघिल्लो सरकार रहेका बेला उनले बेलायतको राजदूत बन्ने प्रयत्न गरेकी थिइन् । तर, गठबन्धनको सरकार हुनाले सहमति माग्दा ओलीले ‘होइन त्यसो गर्न मिल्दैन, अहिले राजनीतिक व्यक्तिको पालो हो, कर्मचारीलाई पठाउनेबारे नसोच्नुस्’ भनेर राजदूत बन्नबाट रोकिदिएका थिए । 

स्रोतका अनुसार नामावली सिफारिसको बेला कसलाई कुन देशमा पठाउने भन्ने कुरा पहिले बाहिर निर्णय हुन्छ । र, सो निर्णय परराष्ट्र मन्त्रालयमा टिप्पणी उठाउन र क्याबिनेटमा पेश गर्नका लागि पठाउने गरिन्छ । सो काम गर्नुपर्ने जिम्मेवारी रहन्छ, परराष्ट्र सचिवको हातमा । यसपटक पनि आफू भारत जानुअघि नै आरजुले सबैको सूची सचिवलाई दिएकी थिइन् । लम्सालले क्याबिनेटमा सो नामावली निर्णयार्थ पेश गर्नुपथ्र्याे । तर, आफ्नै नाम बेल्जियमको निम्ति सिफारिस गर्ने प्रस्तावसमेत क्याबिनेटमा पेश नगरिकन लामो समयसम्म थन्क्याएर राखिन् । अर्को वर्ष असारमा मात्र सेवा अवधि पूरा हुने उनी अहिले नै राजदूत भएर उता गइहाल्ने सोचमा थिइनन् । के पनि समस्या थियो भने यदि ब्रसेल्स  नजाने हो भने उनको सेवा अवधि बीचमा अरु कुनै मुलुकको पद खाली हुने स्थिति पनि छैन । जसले गर्दा सेवानिवृत्त भइसकेपछि नेताहरूको ढोकाकोठा धाउनुपर्ने स्थिति बन्थ्यो । त्यसैले उनले अलिक समय निर्णय आफैँले रोकेर राखिन् । 

तब गाह्रो प¥यो जब स्वयं प्रधानमन्त्रीले नै बोलाएर अल्टिमेटम दिँदै भने ‘तपाईंं यदि राजदूत भएर नजाने हो भने अरु मान्छे तयार छन्, छोडिदिनुस् । जाने वा सचिव भएर यतै बसिरहनेबारे निर्णय गर्न २४ घण्टाको समय दिन्छु ।’ त्यसपछि बल्ल प्रस्ताव पठाउन उनी तयार भएको बताइन्छ । प्रधानमन्त्री ओलीले मात्र होइन कि तत्कालीन मुख्यसचिव लीला गड्तौलाले समेत म मुख्यसचिव भएको बेला उठेका फाइलहरूमा मैले नै हस्ताक्षर गर्नुपर्छ त्यसकारण तुरुन्तै प्रस्ताव पठाउनुहोस् भन्दै ठाडो आदेश दिएकी थिइन् । गड्तौलाले ‘म पछि आएका मुख्यसचिवले मेरो बेलाको फाइलमा साइन गर्न गाह्रो हुन्छ, यो काम गर्नुस्’ भनेपछि ज्ञद्दबिदा लिनुभन्दा एक दिनअगाडि मात्र परराष्ट्रबाट फाइल पुग्यो र हस्ताक्षर गरेर काम टुंग्याइन् । 

यो प्रकरणमा अर्को रोचक कुरा के छ भने उनले ठूलो दबावपछि क्याबिनेटमा फाइल त पठाइन् । तर संसदीय सुनुवाइका लागि संसदमा भने पठाइनन् । अहिले प्रधानमन्त्री ओली र परराष्ट्र मन्त्री आरजु देउवासँगै अमेरिकामा रहेकी सेवा लम्सालले अब अर्को महिना  कार्यकाल सकेर गेहेन्द्र राजभण्डारी फर्किएपछि ब्रसेल्समा बसेर मुलुकको सेवा गर्ने पक्का भएको छ । 

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू