चाडबाड लक्षित प्रहरीको विशेष योजना, काठमाडौंमा करिब चार हजार प्रहरी खटाइँदै

चाडबाड लक्षित प्रहरीको विशेष योजना, काठमाडौंमा करिब चार हजार प्रहरी खटाइँदै

हिन्दू धर्मावलम्बीको महान् चाड दशैं नजिकिँदै छ । यसवर्ष असोज १७ गतेदेखि दशैं शुरु हुँदैछ । 

दशैँ आउन एक सता मात्र बाँकी रहँदा सरकारले भोलिदेखि अग्रिम टिकट बुकिङ्ग खुलाएको छ । यो वर्ष १८ लाख सर्वसाधारणले काठमाडौं उपत्यका छोड्ने अनुमान गरिएको छ ।  

चाडबाडमा सबैभन्दा बढी अपराधिक क्रियाकलाप हुने गर्दछ । काठमाडौं सुनसान हुने भएकाले चोरीडकैती बढ्छ । त्यसलाई मध्यनजर गर्दै जिल्ला प्रहरी परिसर, काठमाडौंले ‘चाडपर्वलक्षित सुरक्षा योजना’ बनाएको छ । दशैं, तिहार र छठ पर्वमा काठमाडौंको जनजीवनलाई सहज र सरल बनाउन विशेष योजना ल्याइएको परिसरको भनाइ छ । 

परिसरका अनुसार चाडबाडमा घरभित्र रहेको सम्पत्ति चोरी, पाकेटमारी, झैंझगडा, गरगहना पसलमा तोडफोड र चोरी, एटीएम बुथको तोडफोड गरी चोरी, तस्करी, अवैध मदिरा बिक्रीवितरण, ट्राफिक नियमको उल्लङ्घन, आगजनी तथा विष्फोटन, कृत्रिम अभाव एवं कालोबजारीलगायतका घटना हुन सक्छ । ती घटनाको रोकथाम तथा न्यूनिकरणका लागि कूल तीन हजार ७६५ जना प्रहरी खटिने जनाइएको छ । 

परिसरले लुटपाट हुन सक्ने स्थानमा गस्ती गर्ने र निगरानी राख्ने छ । १४ वटा क्षेत्र विभाजन गरी प्रहरी नायव उपरीक्षकको कमाण्डमा १० जनाको टोली खटाउने परिसरले जनाएको छ । त्यसैगरी, पैदलगस्ती, सवारी गस्तीमा ७६ र मोबाइल गस्तीमा २४ जना परिचालन गरिनेछ । 

सूचना संकलनका लागि सादा पोशाकमा ३८, सिल एण्ड सर्च र कोर्डन एण्ड सर्चका लागि २८, एमबुसिङ र निगरानीका लागि २२, स्ट्राइकिङ्गका लागि तीन जना परिचालन गरिने परिसरले जानकारी दिएको छ । कंलकी, बल्खु, सुन्धारा, पुरानो बसपार्क, नयाँ बसपार्क, गोगंबु, गौशाला, चाबहिल, कोटेश्वर, हलचोकस्थित टिकट काउण्टरमा परिसरको सहायता कक्ष रहनेछ । 

काठमाडौं भित्रिने नाकाहरुमा प्रत्येक दिन कुकुरसहित चेकजाँच गरिन्छ । त्यस्तै, भिडभाड हुने स्थानमा ड्रोनमार्फत निगरानी राखिनेछ । ३५ स्थानमा समुदाय प्रहरी साझेदारी कार्यक्रम गरिनेछ । जनचेतना फैलाउनका लागि परिसरले विभिन्न स्थानमा पोस्टर, पेम्प्लेट बाँड्नेछ । अपराध गर्नेलाई पक्राउ तथा कारबाही गर्न घटनास्थलमा १० मीनेटभित्र पुग्ने रणनीति बनाइएको छ ।

टिप्पणीहरू