चिनीको चमत्कार, यिनैलाई प्रहार

चिनीको चमत्कार, यिनैलाई प्रहार

उद्योगमन्त्री दामोदर भण्डारीको नीतिगत विचलनलाई साथ नदिँदा एक हक्की सचिव डेढ महिना नपुग्दै भकुण्डो बनेका छन् । एकातिर चिनी व्यवसायी उनलाई फाल्न हात धोएरै लागेकै थिए, त्यहीमाथि सुपारी र मरिचवालाहरू मिसिँदा मधुसुदन बुर्लाकोटी डेढ महिनामै लखेटिएका हुन् । 

उनी पछिल्लो चार महिनामै चार पटक सरुवामा परे । उनलाई तथ्यांक कार्यालयमा खटाएर हप्ता दिनअघि मात्र सचिवमा उक्लिएका गोविन्द कार्कीलाई बागमती प्रदेशबाट वाणिज्य मन्त्रालयमा सारिएको छ । यो खेलोमेलो पछाडि शशिकान्त अग्रवालजस्ता ठूला चिनी व्यापारी र आयल निगमका हाकिम चण्डी भट्टको हात रहेको चर्चा छ । 

दशैं, तिहारजस्ता ठूला चाडपर्वको मुखमा सरकारी नीतिकै कारण चिनीको हाहाकार हुने स्थिति छ । शशिकान्त भने जागिरै खाएको शैलीमा दैनिक उद्योग मन्त्रालयमा धर्ना दिइरहेका छन् । अरु व्यवसायी बबरमहलस्थित वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागदेखि मन्त्रालय धाइरहेका छन् । ती उद्योगीले प्रधानमन्त्री केपी ओलीका सल्लाहकार युवराज खतिवडासँग पटक–पटक भेट पनि गरिसकेका छन् । 

सरकारले भारतीय सरकारी कम्पनीबाट चिनी आयात गर्दै आएको छ । पोहोर नै ल्याउनुपर्ने २५ हजार मेट्रिक टन चिनीमध्ये डाबर नेपालले ६ हजार भित्र्याएर बाँकी १९ हजार मे.टन चिनी ल्याउन व्यवसायीलाई पटक पटक आग्रह गरियो । व्यवसायीको एक सूत्रीय माग थियो, भन्सार छुटको व्यवस्था मिलाइदिनुपर्ने । त्यही कम्पनीबाट अन्य मुलुकले आइसी ५० मा चिनी उठाएर लैजान्छन् तर नेपाल सरकारले ३० प्रतिशत भन्सार महसुल, त्यसमा १३ प्रतिशत भ्याट लगाइदिएको छ । सोही कारण व्यवसायीहरूले चिनी ल्याउन सकिरहेका छैनन् ।

मन्त्रालयले १९ हजार टन ल्याउन आवेदन माग्दा १० निजी कम्पनीले अनुमति पाए  । तिनलाई भन्सार छुट थिएन  । महँगो भएको भन्दै ल्याएनन् पनि  । यही बीचमा मन्त्रिपरिषद्ले भदौ २३ गते साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई ५० प्रतिशत भन्सार छुटमा १५/१५ हजार मेट्रिक टन आयातको अनुमति दिइसकेको छ ।

चिनी ल्याउन सिफारिस उल्टै नदिने, अयोग्य करार गर्ने भन्दै सरकारसँग आगो बनेका उद्योगीहरू आगो बनेका छन् । एकातिर महँगो भन्सार, अर्काेतिर ३ करोडको सीमा र सतप्रतिशत डाउन पेमेन्टका कारण गुलियो चिनी तीतो बन्दै गएको छ । खुला सिमानाका कारण मधेशमा ८४ रुपैयाँमा चिनी फालाफाल छ । ठूला सात वटा चिनी उद्योग पनि त्यतै छन् । ती चिनी व्यवसायी वाणिज्य सचिवको विरुद्धमा छँदै थिए ।

आयल निगमका हाकिम चण्डी भट्टको योजनाअनुसार पेट्रोलमा इथानोल मिसावट गर्ने, सुपारी र मरिच तस्करहरूको योजनाअनुसार पेस्ता दाना, सुपारी, मरिच र केराउको आयात गर्न दिने योजनामा भाँजो हालेपछि बुर्लाकोटी भकुण्डो बनेका हुन् । बुर्लाकोटी सचिव बनेको तीन वर्षमा आठ पटक सरुवा भइसकेका छन् । पछिल्ला पाँच महिनामा पाँच वटा कार्यालयमा पुगे ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू