माफी मागेपछि पनि जेल पुर्याइएको भन्दै महासंघको आपत्ति
अदालतको अवहेलना अभियोगमा सीधाकुरा डटकमका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानालाई सर्वोच्च अदालतले जेल सजाय सुनाएकोमा नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघले सञ्चारमाध्यमले माफी मागेर गलत सामग्री हटाइसकेको अवस्थामा अदालत आफैंले प्रतिवेदन उठान गरेर निवेदन दर्ता गरी आफैंले पत्रकारलाई जेल पठाउने फैसला गरेकोमा गम्भीर चासो र चिन्ता व्यक्त गरेको छ ।
‘समाचार स्रोतलाई विश्वास गरेर गलत समाचार प्रकाशन÷प्रसारण गरेको स्वीकार गर्दै सम्बन्धित सञ्चार संस्थाले उक्त समाचार हटाएको र माफीसमेत मागिसकेको थियो । स्रोतबाट प्राप्त सामग्री पत्रकारले प्रयोगशालामा परीक्षण गर्ने व्यवस्था नभएको र सञ्चारसम्बन्धी नीति तथा कानूनले त्यस्तो व्यवस्था नगरेको अवस्थामा प्रकाशित सामग्री गलत भएमा सच्चाउने व्यवस्था पत्रकार आचारसंहितामा गरिएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
सञ्चारमाध्यममा आएका सामग्रीमा चित्त नबुझेमा प्रचलित कानूनको अधिनमा रहेर प्रेस काउन्सिल र अदालतबाट निरुपण हुनुपर्छ भन्ने मान्यता रहिआएको उल्लेख गर्दै कुनै पनि फैसला संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रता र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यताविरुद्ध हुन नहुने महासंघको ठम्याई छ ।
महासंघले सञ्चारमाध्यम नियन्त्रणका लागि कुनै पनि फैसला वा निर्णय दीर्घकालिन नजिर नबनोस् भन्ने कुरामा पनि सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ । साथै, संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यताको पक्षमा गम्भीर हुन सरकार, न्यायालय र सम्बद्ध पक्षसँग आग्रह गरिएको छ ।
टिप्पणीहरू