साना गाडीको अग्रिम टिकट : सरकार तोक्दैन, व्यवसायी खोल्दैनन्
सरकारले दशैँलाई लक्षित गरेर शनिबारदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ्ग खुलाएको छ । यतिबेला राजधानीका विभिन्न स्थानमा रहेका टिकट काउण्टरमा अग्रिम टिकट लिन सर्वसाधारणको भीड देखिन्छ । तर, शुक्रबार र शनिबारको लगातारको वर्षापछि अधिकांश राजमार्ग अवरुद्ध छन् ।
मुलुकको संघीय राजधानी काठमाडौंमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीलगायत विभिन्न कारणले बसोबास गर्दै आएकाहरु नजिकिँदो चाडपर्व मनाउन आफ्नो गाउँघर फर्कने टिकट लिन काउण्टरहरुमा लाम लागेका हुन् ।
सर्वसाधारणले विभिन्न स्थानको टिकट काउण्टरमा गएर वा अनलाइनमार्फत टिकट बुकिङ्ग गर्न सक्ने व्यवस्था मिलाएको यातायात व्यवस्था विभागले जनाएको छ । त्यस्तै, यात्रुवाहक सवारीसाधनलाई यही बिहीबार घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर लागू हुने गरी रुट परमिट खुला गरिएको छ ।
सरकारले चाडबाडलाई लक्षित गर्दै सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ्ग खुलाएपनि यातायात व्यवसायीहरुले साना सवारीसाधनको टिकट खुलाएका छैनन् । माइक्रो बस, जम्बो हायस, बोलेरो र टाटा सुमोको अझै अग्रिम टिकट खुलाइएको छैन ।
यी गाडी कलंकी, बालाजुको माछापोखरी, चाबहिल, कोटेश्वर, नयाँ बसपार्क, बल्खुबाट यात्रु बोकेर उपत्यका बाहिरका विभिन्न जिल्लामा जाने गर्छन् । मुलुकमा साना सवारीसाधन हजारौंको संख्यामा छ । यी गाडीले दैनिक लाखौं यात्रुलाई आफ्नो गन्तव्यमा पुर्याउँछ ।
तर, यातायात व्यवस्था विभागले सम्पूर्ण सार्वजनिक यातायात अथवा ठूला–साना सबै गाडीको अग्रिम टिकट खुलाउन निर्देशन जारी नगर्दा यात्रुहरु मर्कामा परेका छन् । विभागको गत असोज ८ गते बसेको सरोकारवाला सम्मिलित बैठकले असोज १२ गतेदेखि सार्वजनिक यातायातको अग्रिम टिकट खुला गर्ने निर्णय गर्यो ।
जसअनुसार अहिले लामो तथा मध्यम दूरीका सार्वजनिक यातायातको अग्रिम टिकट त खुलेको छ तर ठूला सवारीसाधनको मात्र । साना गाडीको टिकट नखुलेको जनगुनासो पनि बढ्दो छ । यद्यपि, सम्बन्धित निकाय यसतर्फ गम्भीर देखिँदैन ।
वर्षेनी दशैँमा साना गाडीमा चढ्ने यात्रुहरुले अग्रिम टिकट काट्न पाउँदैनन् । सरकारले सार्वजनिक यातायातको अग्रिम टिकट खुलेको दाबी गरेपनि यातायात व्यवसायीहरुले सम्पूर्ण गाडीको टिकट बुकिङ्ग खुलाउँदैनन् । अनि यातायात व्यवस्था विभागलगायत सम्बद्ध निकाय यसको अनुगमन पनि गर्दैनन् ।
यसले गर्दा दशैँमा साना गाडीमा यात्रा गर्ने यात्रुहरु जुन दिन जाने हो, त्यही दिन गएर टिकट लिन बाध्य हुने गरेका छन् । काउण्टरवालाले जति माग्छ, त्यति नै यात्रुले तिर्नुपर्छ । फेरि अन्तिम समयमा पाएको टिकट पनि हातबाट गइहाल्छ । चाडबाडमा साना गाडीहरुले लुटको धन्दा चलाउने गरेका छन् ।
त्यसमाथि सरकारले सम्पूर्ण सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ्ग अनिवार्य नगरिदिँदा यात्रुलाई अर्को दुःख, हैरानी र सास्ती हुने गरेको छ । साना गाडीहरुको रोड परमिट हुदैँन । यी गाडी पटकेको भरमा चलिरहेका छन् । अब घटस्थापनादेखि रोड परमिट खुला भएसँगै यस्ता गाडीले पटके पनि काट्नु पर्दैन ।
साना सवारीसाधनको बिलबुकमा जम्मा १३ सिट लेखिएको हुन्छ । यद्यपि, दशैँको मौका छोपेर त्यसमा तेब्बर यात्रु हाल्ने प्रवृत्ति छ । दशैँमा अन्य समयको तुलनामा दोब्बर भाडा तिर्नुपर्ने बाध्यता पनि यात्रुलाई आउने विगतका अनुभवले देखाउँदछ ।
हुन त दशैँको मौका छोपेर टिकट काउण्टरमा बिचौलियाको बिगबिगी, टिकट नपाउँदा दोब्बर भाडा तिर्नुपर्ने र झुण्डिएर यात्रा गर्नुपर्ने बाध्यता सँधैको हो । अन्य समयमा त यातायात व्यवसायीहरु सरकारले निर्धारण गरेको भाडादरभन्दा दोब्बर भाडा यात्रुसँग असुल्छन् भने चाडबाडमा यात्रु ठगिनु कुनै नौलो कुरा होइन ।
यातायात अभियन्ता प्रेमबहादुर थापा सरकारले साना गाडीको अग्रिम टिकट नखुलाएर यातायात व्यवसायीलाई जनता ठग्न छुट दिएको आरोप लगाउँछन् । उनले भने, ‘यो वर्ष पनि सरकारले साना गाडीको अग्रिम टिकट खुलाएन । अब यात्रु ठगिने निश्चित भएको छ ।’
यातायात व्यवसायी सरकारको नियमानुसार चल्नुपर्नेमा उल्टै सरकारले जहिल्यै पनि व्यवसायीको सामु घुँडा टेक्ने गरेको भन्दै अभियन्ता थापाले थपे, ‘सरकार निरीह बनेपछि त्यसको परिमाण जनताले भोग्नु स्वभाविक हो ।’ उनले अहिले पनि साना गाडीको अग्रिम टिकट खोल्न ढिलाई नभएको जनाउँदै यातायात व्यवस्था विभागले तत्काल टिकट बुकिङ्ग प्रक्रिया अघि बढाउनुपर्ने बताए ।
‘चाडपर्वमा टिकट नभएको फाइदा उठाएर व्यवसायीहरु यात्रुसँग दोब्बर–तेब्बर भाडा असुल्छन् । अनि सरकार हामी अनुगमन गरेर कारबाही गर्छौं मात्र भन्छ । तर, व्यवसायीलाई यात्रु ठग्ने बाटो नै बन्द गरिदिए किन अनुगमन गरिरहनु पर्यो ? अझै पनि सरकारले साना सवारीसाधनको टिकट बुकिङ्ग खुलाएर दशैँमा यात्रुलाई ठगिनबाट बचाउन सक्छ,’ उनले भने ।
यता, यातायात व्यवस्था विभागले भने यस विषयमा गैरजिम्मेवारीपूर्ण जवाफ दिएको छ । विभागका सूचना अधिकारी इश्वरीदत्त पनेरु साना गाडीको टिकट विभागले नखोल्ने बताउँछन् । विभागले साना–ठूला भनी तोकेर गाडीको अग्रिम टिकट बुकिङ्ग नखुलाउने उनको भनाइ छ ।
उनले भने, ‘हामीले यातायात व्यवसायीसँगको समन्वयमा सार्वजनिक यातायातको टिकट खुलाउने हो । टिकट खुल्दा सार्वजनिक यातायातका सम्पूर्ण सवारीसाधन पर्दछन् । तर, त्यसमा के–कता गाडीको टिकट खुलाउने त्यो व्यवसायीसँग सम्बन्धित रहन्छ ।’
टिप्पणीहरू