चीनको राष्ट्रिय दिवश पर्व शुरु, दैनिक २७ करोडको ओहोरदोहोर

चीनमा आजदेखि ७५ औं राष्ट्रिय दिवश धुमधामसँग मनाईंदै छ । अक्टोबर १ तारिखदेखि झण्डै एक सातासम्मको लामो बिदामा २७ करोड चिनियाँ आन्तरिक यात्रामा निस्किने अनुमान गरिएको छ । 

त्यहाँको यातायात मन्त्रालयले यो अवधिमा स्थलमार्ग,रेलमार्ग,जल यातायात र हवाई यातायातमा १ अर्ब ९० करोड यात्रा हुने अनुमान गरेको छ । यो कोभिड महामारीअघि सन् २०१९ को सोही अवधिको तुलनामा झण्डै २० प्रतिशतले बढी हो ।

चिनियाँहरुको सबैभन्दा धेरै आवतजावत,सांघाई,बेइजिङ, हाङचौ र छन्तु रुटमा हुनेछ । त्यसैगरी,छोङछिङ,युन्नान, सिचुआन र सिन्च्याङ प्रान्त ओहोरदोहोर गर्नेको संख्या पनि उल्लेख्य मात्राले बढ्ने अनुमान छ । 

धेरै चिनियाँ जापान,थाइल्याण्ड,भियतनाम र अष्ट्रेलिया यात्रामा निस्कँदै छन् । ती मुलुक जाने हवाई टिकटको मूल्य २० प्रतिशतसम्म कम भएकाले उनीहरुको आकर्षण देखिएको बताइन्छ ।

यसबीच धेरै चिनियाँ मुलुकबाहिरका जापान,थाइल्याण्ड,भियतनाम र अष्ट्रेलिया यात्रामा निस्कँदै छन् । ती मुलुक जाने हवाई टिकटको मूल्य २० प्रतिशतसम्म कम भएकाले उनीहरुको आकर्षण देखिएको बताइन्छ । राष्ट्रिय दिवशको बिदामा विदेश जानेहरुको संख्या वर्षेनी ७० प्रतिशतले बढेको यातायात मन्त्रालयको भनाइ छ । 

राष्ट्रिय दिवशको अवसरमा काठमाडौंस्थित चिनियाँ दूतावासले पनि गत शुक्रबार विशेष समारोहको आयोजना गरेको थियो । उपराष्ट्रपति रामसहायप्रसाद यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा राजदूत छेन सोङले चीनले पछिल्लो ७५ वर्षमा प्राप्त गरेको अतुलनीय आर्थिक तथा सामाजिक विकासबारे जानकारी दिनुभएको थियो । चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा भएको समग्र विकास छिमेकी मुलुक नेपालको समृद्धिका लागि सहयोगी बन्नसक्ने उहाँले बताउनुभयो । 

चिनियाँ र नेपाली सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु,उच्चपदस्थ अधिकारी, पत्रकार तथा काठमाडौंस्थित चिनियाँ समुदायको बाक्लो उपस्थिति थियो ।

टिप्पणीहरू