मीनबहादुरको मन,खर्वपतिहरुको अझै बेपत्ता धन

मीनबहादुरको मन,खर्वपतिहरुको अझै बेपत्ता धन

भाटभटेनी सुपरमार्केटका प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले राष्ट्रिय विपतमा फेरि एक पटक मन फुकाएका छन् । उनले बाढीपहिरो र डुबान पीडितको राहतका लागि हिजो प्रधानमन्त्रीलाई भेटेर एक करोड ११ लाख ११ हजार एक सय ११ रुपैयाँ प्रदान गरेका छन् । 

उक्त रकम बराबरको चेक गुरुङ दम्पतिले हिजो बेलुकी बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेको र सो रकम प्राकृतिक विपत्ति उद्धार कोषमा जम्मा गरिने बताइएको छ । यसअघि पनि उनले विभिन्न विपतमा पटक पटक ठूलो रकम सहयोग गर्दै आएका छन् । 

महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा सुविधा सम्पन्न आकस्मिक कक्ष बनाएर उनैले अहिले पुनः विस्तार गरिदिएका छन् । केही महिनाअघि डा. भगवान कोइरालाको नेतृत्वमा बन्न लागेको बाल अस्पतालका लागि ४१ करोड रूपैयाँ सहयोगको घोषणा गरिसकेका छन् । 

उनले दुर्गम भेगका र चिकित्साशास्त्र अध्ययनका लागि आर्थिक पहुँच नभएका छ जना विद्यार्थीलाई पूर्ण सहयोग गरेका छन् ।

तर,यही मुलुकमा मै हुँ भन्ने धनाढ्यहरु अरु पनि छन् । मुलुकमा दुःख पर्दा उनीहरुले सहयोग गर्नेभन्दा देश र जनतालाई निचोर्ने गरेको पाइन्छ । नेपाल उद्योग वाणिज्य महासंघमा हजारौं व्यवसायी आवद्ध छन् । तर, बाढीपहिरो र डुबानबाट अति प्रभावित जिल्लामा एक लाख रुपैयाँ दिने निर्णय गरेर प्रचार थालिएको छ ।

उता, मुलुकका एकमात्र डलर अर्बपति राज्यकोष दोहन र राज्यको बजेटमा निर्मित संरचना र सुविधालाई आफ्नो लगानी र प्रयासमा भएको प्रचार गर्न तल्लिन छन् । विवादास्पद विनोद चौधरीले राज्यलाई आपत आइपर्दा कहिल्यै राज्यकोषमा सुको योगदान गरेको देखिँदैन तर ठूला दलका नेता र उच्च पदस्थ कर्मचारी सबै उनको गुणगान गाउनमै व्यस्त छन् । 

चौधरीले हालै नवलपरासीको सुस्तामा राज्यले २३ करोड खर्चेर बनाएको झोलुङ्गे पुल आफैैंले बनाएको झैँ प्रचार गरे । यसअघि सेटिङमा ऊर्जामन्त्री बनाइएका दीपक खड्कासँगको मिलेमतोमा चौधरीको प्रस्तावझैँ देखाउन सुस्ताबासीलाई दिइएको एक वर्षको निःशुल्क न्यूनतम विद्युत सेवा सुविधाबाट पनि राज्यले जस लिएको छैन । 

बर्दघाटमा बन्न लागेको ट्रमा सेन्टरको शिलान्यासमा समेत चौधरीले आफ्नो चाहनामा उक्त अस्पताल बन्न लागेको हल्ला पिटेका छन् । स्वास्थ्य मन्त्रालयले साढे १२ करोड लगानीमा बनाउन लागेको उक्त सेन्टरमा चौधरीको कौडी योगदान छैन।

टिप्पणीहरू