पूर्वपश्चिम राजमार्ग रातको समयमा बन्द

पूर्वपश्चिम राजमार्ग रातको समयमा बन्द

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी पश्चिमको दाउन्ने खण्डमा भासिएको सडक मर्मतका लागि यातायात सञ्चालनमा रोक लगाइने भएको छ । जिल्ला प्रशासन कार्यालय नवलपरासी पश्चिमले आज रातिदेखि राजमार्ग पूर्ण रुपमा बन्द गर्न लागेको बताएको छ । 

अविरल वर्षाका कारण बर्दघाट नगरपालिका–४, दाउन्ने जंगलस्थित खुर्सानी खोलामा हिजो साँझदेखि सडक भासिएको छ । सडकको माथिल्लो भागमा रहेको पर्खाल भत्किएपछि बिजुलीको हाइटेन्सन लाइन सडकमा ढलेपछि राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको हो ।

सामान्य मर्मतपछि राजमार्ग बिहान पौने ९ बजेदेखि सञ्चालनमा आएपनि सडक पूर्णरुपमा मर्मतका निम्ति बन्द गर्न लागिएको सिडियो कार्यालयले जनाएको छ । जसअनुसार आज राति १० बजेदेखि भोलि बिहान ५ बजेसम्म राजमार्ग पूर्ण रुपमा बन्द गर्न लागिएको हो ।

बर्दघाट बजारदेखि जिल्लाको पूर्वी सीमाक्षेत्र दाउन्ने बजारसम्म यातायातका अत्यावश्यक बाहेकका सम्पूर्ण साधनहरुलाई रातको समयमा सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

टिप्पणीहरू