बार अध्यक्षविरुद्धको मुद्दामा पेशी तोकियो

बार अध्यक्षविरुद्धको मुद्दामा पेशी तोकियो

नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध परेको मुद्दा पेशी चढेको छ । 

सर्वोच्च अदालतका सूचना अधिकारीसमेत रहेका उपरजिष्ट्रार गोविन्दप्रसाद घिमिरेसहितले दायर गरेको अदालतको अवहेलनासम्बन्धी मुद्दाको पेशी कात्तिक १ गतेका लागि तोकिएको हो । दर्ता नम्बर ०८१–एपी–०१९३ रहेको मुद्दामा उनले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठमाथि गम्भीर आरोप लगाएर अदालतको अवहेलना गरेको उल्लेख छ । 

सर्वोच्चमा दुई जना न्यायाधीश नियुक्तिप्रति असन्तुष्टि जनाउँदै बार अध्यक्ष घिमिरेले प्रधानन्यायाधीश श्रेष्ठले लेनदेनको आधारमा नियुक्ति गरेको आरोप लगाएका थिए ।

 

काठमाडौं जिल्ला बारले आयोजना गरेको कार्यक्रममा उनले भनेका थिए,‘तपाईं (प्रधानन्यायाधीश) ले लेनदेनको आधारमा नियुक्ति गर्नुभयो भनेर भनिसकें । तपाईंले आफूले लिएको हिसाबकिताब मिलानको लागि न्यायाधीश नियुक्ति गर्नुभयो ।’ उनले सके आफूलाई थुन्नसमेत चुनौती दिएका थिए । 

सर्वोच्चका सूचना अधिकारी घिमिरेका अनुसार उक्त अभिव्यक्तिविरुद्ध हिजो मुद्दा दायर गरिएको हो । ‘उहाँले गत असोज ११ गते न्यायाधीश नियुक्तिको विषयमा प्रधानन्यायाधीशमाथि गम्भीर आरोप लगाउनुभएको छ । उहाँको अभिव्यक्तिले अदालतको अवहेलना भएकाले मुद्दा दायर गरिएको हो’,उनले भने । 

अदालतमा मुद्दा दायर भएपछि बारले हिजो आकस्मिक पत्रकार सम्मेलन गरेको थियो ।

टिप्पणीहरू