भक्तपुरमा ज्येष्ठ नागरिकलाई सम्मान

भक्तपुरमा ज्येष्ठ नागरिकलाई सम्मान

भक्तपुरका सयजना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा आज विशेष कार्यक्रम गरी भक्तपुर नगरपालिकाले बृद्धवृद्धालाई सम्मान गरेको हो । 

नगरपालिकाका दशवटै वडाका दश–दश जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको जानकारी दिएको छ  । कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले ज्येष्ठ नागरिकलाई फूलमाला र दोसल्ला ओढाएर सम्मान गरे । 

वृद्धवृद्धाहरु परिवार र समाजबाट अपहेलित र टाढिने क्रम बढिरहेकोतर्फ चिन्ता व्यक्त गर्दै बिजुक्छेले त्यसलाई रोक्न जेष्ठ नागरिकलाई संगठित बनाई सामाजिक गतिविधिमा क्रियाशील बनाउन सकेमा समाजको लागि फलदायी हुने बताए । 

ज्येष्ठ नागरिकले आफ्नो जीवनकालमा सँगालेको ज्ञान, सीप र अनुभव नयाँ पुस्ताका लागि मार्गदर्शन हुने उल्लेख गर्दै उनले स्वस्थ खानपान, जीवनशैली, समयमै स्वास्थ्य उपचार, सरसफाइ आदिले पनि उनीहरुको आयु लम्ब्याउन सकिने बताए । 

स्थानीय तहका जनप्रतिनिधिले नगरभित्र बसोबास गर्ने ज्येष्ठ नागरिकको तथ्यांक संकलन गरी आवश्यक सेवा सुविधा उपलब्ध गराउन सहयोगी भूमिका निर्वाह गर्नुपर्नेमा उनको जोड छ । 

कार्यक्रममा मेयर सुनिल प्रज्ञापतिले ज्येष्ठ नागरिक समाजका आदर्श पात्र रहेको बताउँदै उनीहरुको सम्मान गर्नु सबैको कर्तव्य र जिम्मेवारी हुने जनाए । 

उमेर बढेसँगै ज्येष्ठ नागरिकको स्वास्थ्यमा ढाड, खुट्टा दुख्नेजस्ता शारीरिक समस्याहरु देखिने भएकाले त्यसलाई मध्यनजर गर्दै नगरपालिकाले विभिन्न स्थानमा व्यायामस्थलको व्यवस्था गरेको जानकारी गराए । 

भक्तपुर नगरपालिकामा सामाजिक सुरक्षा प्राप्त गर्ने ज्येष्ठ नागरिकहरुको संख्या चार हजार ९२४ जना रहेको छ । नगरपालिकाले सम्मानित भएका ज्येष्ठ नागरिकलाई पानी तताउने इलेक्ट्रिक जग, फलफूल र बिस्कुट पनि उपहारस्वरुप दिएको बताएको छ ।

टिप्पणीहरू