कठै श्रीमान्, के लाग्छ र !
दायाँबायाँबाट कोशेली जम्मा पार्नेहरूलाई त सायद कुनै समस्या नपर्दो हो । छट्टु प्रकृतिका न्यायाधीशहरू यस्तो चिन्ताविहीन जीवन बिताइरहँदा इमान्दार न्यायमूर्तिहरूको स्थिति भने अर्कै देखिएको छ । अभाव र समस्याग्रस्त जीवन बिताउँदा बिताउँदै कोही श्रीमान् घरमै प्राण त्याग्न बाध्य छन् भने कसैले बिरामी अवस्थामा समेत निकै ठूलो सास्ती भोगिरहेका छन् । यसरी अभिशप्त जीवन बाँच्न वा असामयिक निधन व्यहोर्न बाध्य भनेका केही न्यायाधीशहरूको पीडा सुन्दा भन्न मन लाग्छ, कठै श्रीमान् !
यो कथा त्यस्तै एक पात्र रामेंश्वर रेग्मीको हो । उच्च अदालत पाटनमा कार्यरत रेग्मीको मस्तिष्क क्यान्सरबाट ६१ वर्षको उमेरमा अघिल्लो साता निधन भएको छ । ललितपुरको हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा उपचार क्रममा दिवंगत भएका उनको जीवन सधैं अभावमा बित्यो । जीवनको उत्तरार्धमा कम्तिमा परिवारलाई ओत लाग्ने ठाउँ रहोस् भनेर टोखातिर डिपिसी ढलान गर्दै थिए । तर, परिवारलाई त्यो घरमा सपना अधुरै रह्यो । उनी न्यायिक सेवामा तल्लो तहबाट उठेका हुन् । शाखा अधिकृत, श्रेष्तेदार हुँदै उच्च अदालत पाटनको न्यायाधीश बनेका । तर न्याय सम्पादन कार्यमा दायाँबायाँ गरेनन्, सम्पत्ति जोडेनन्, अन्त्यमा सर्वोच्चका श्रीमान्हरूले उपचारको लागि भनेर अघिल्लो दिन आफ्नो तलबबाट प्रति व्यक्ति ५ हजारका दरले संकलन गरेको रकम उनको अन्त्येष्टिको लागि काजक्रिया खर्च बन्न पुग्यो । साउन ३१ गते दिवंगत भएका उनी चार महिनादेखि क्यान्सरसँग लडिरहेका थिए ।
समाचार स्रोतका अनुसार उनलाई चार महिनासम्म महँगो उपचार गराउँदा ठूलो आर्थिक अभाव परिरहेको थियो । मानमाथि भुक्तमान भनेझैँ यसै बेला उनलाई बिदा स्वीकृति गराउनसमेत उस्तै समस्या पर्यो । समस्या कसरी सिर्जना भयो भने न्यायाधीशहरूलाई उपचारार्थ बिदा दिने गरिन्छ । तर, शर्त के छ भने प्रत्येक महिनामा एकपटक हाजिरी भने अनिवार्य रूपमा गर्नै पर्ने हुन्छ । यस्तो बिदाको स्वीकृति प्रधानन्यायाधीशले गर्ने चलन छ । यस्तै समस्यामा परेका छन् गएको चैत्र ६ गते जनकपुरको सवारी दुर्घटनामा परेका न्यायाधीशहरू पनि । त्यहाँ न्यायाधीश सवार कार एउटा अटोसँग जुधेको थियो । सो क्रममा घाइते भए सिरहा जिल्ला अदालतका धु्रवप्रसाद उप्रेती र पुष्पराज थपलिया, जसमध्ये एक जनाको स्वास्थ्य सुधार भयो तर अर्कालाई भने पक्षघातको समस्या देखापर्यो । उनले घरमै बसेर स्वास्थ्य लाभ गरिरहेका छन् । किनकि हिँड्न, डुल्न, र चल्न सक्ने अवस्था छैन । वरिष्ठ अधिवक्ता हरि उप्रेतीका भाइ ध्रुवप्रसादले हाजिर स्वीकृत गराउन महिनाको एकपटक अदालतमा भने उपस्थित हुनैपर्छ । सग्लो ज्यान भएका या अरुको सहारामा सजिलै जान सक्नेको हकमा त त्यस्तो व्यवस्था ठीकै होला । तर, नसक्नेको हकमा भने बिदासमेत स्वीकृत हुन सक्ने स्थिति छैन । त्यसैले एउटा प्रश्न उठेको छ – अशक्त वा पुरै अस्पतालको सैयामा नै लामो समयसम्म उपचार गराउनुपर्ने न्यायाधीशको हकमा बिदा स्वीकृत गराउने कसरी ?
यस्तै परिस्थितिमा अन्य सेवामा रहेकाको हकमा भने समस्या छैन । उदाहरणको लागि कोशी प्रदेशको एसएसपी पदमा कार्यरत राजेन्द्रमान श्रेष्ठ यस्तै गम्भीर रोगको शिकार बने । भावी आइजीपीको रोलक्रममा रहेका उनी उच्च रक्तचापका कारण ब्याडमिन्टन खेल्दा खेल्दै एकाबिहानै कोर्टमै ढले । धरानमा यसरी बिरामी बनेका उनलाई नेपाल प्रहरीले आफ्नै अस्पतालमा सात आठ वर्षदेखि आइसीयुमा राखेर उपचारमा कुनै समस्या आउन दिएको छैन । न त न्यायाधीशहरूलाई झैँ उनलाई बिदा स्वीकृत होला वा नहोला भन्ने पिरलोले नै सताउने अवस्था छ ।
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू