यस्तरी झर्कन मिल्छ र गुरु !

यस्तरी झर्कन मिल्छ र गुरु !

२०८१ असोज २ गते त्रिविको उत्तरपुस्तिका परीक्षणको लागि भनेर मैले पत्रकारिता अध्यापन गरिरहेको कलेजबाट सिफारिस पत्र, एमए (पत्रकारिता) को सर्टिफिकेट, मार्कसिट र नागरिकता र एकप्रति फोटोसहित बल्खुस्थित सामाजिक शास्त्रको गोप्य शाखामा गएँ । त्यहाँका प्रमुख पवन बराल सरले पत्रकारिताको केन्द्रीय विभाग प्रमुख डा. कुन्दन अर्याललाई तोक लगाएर ल्याउनु भन्नुभयो । म बल्खुस्थित नवनिर्मित क्यामेरा भवनमा रहेको पत्रकारिता केन्द्रीय विभागमा करिब दिउँसो साढे एक बजेतिर पुगेको थिएँ । त्यहाँका कर्मचारी मित्रले सर आउनुभएको छैन भन्नुभयो ।

मसँग कुन्दन सरको मोबाइल नं थियो । त्रिवि केन्द्रीय विभागमा उहाँले नै मलाई एमए तहमा आजभन्दा ८ वर्षअघि पढाउनुभएको पनि हो । त्यतिबेलैदेखि मसँग उहाँको फोन नं. छ । मैले कल गरेर आफ्नो परिचयसहित भेट्न चाहेको कुरा प्रस्ट्याएँ । मेरो कुरा सुनेर झर्किंदै मैले यस्तो सिफारिस अहिलेसम्म गरेको छैन, म गर्दा पनि गर्दिनँ, अख्तियारको फन्दामा पर्नु छैन भन्नुभयो । उहाँको जवाफ सुनेर आश्चर्यचकित भएँ । मैले गोप्य शाखाले नै पठाएको हो, तपाईं विभागीय प्रमुख भएपछि यो काम तपाईंकै अधिकारक्षेत्रमा पर्ने हो भन्नुभएको छ, उम्किन पाउनुुहुन्न भनेँ । कुन्दन सरले रिसाएर मलाई डिस्टर्व नगर्नू भन्दै फोन काट्नुभयो । मैले तानाशाही जस्तो व्यवहार गर्न पाउनुहुन्न भनेँ । 

त्यसपछि पुनः बल्खु गएर गोप्य शाखाका पवन बराल सरलाई यिनै कुरा सुनाएँ । बराल सरले पनि त्रिविको विषय प्रमुख विभागीय प्रमुख नै हुने भएकाले उहाँको तोकबिना आफूले काम अगाडि बढाउन नसक्ने बताउनुभयो । एउटा पक्ष विभागीय प्रमुखको तोक अनिवार्य चाहिन्छ भन्ने र अर्को पक्ष तोक नै नलगाइदिने यो कस्तो नियम हो ? त्रिविको प्रश्नपत्र निर्माण र उत्तरपुस्तिका परीक्षणमा वर्षौँदेखि विद्यमान सिण्डिकेट कसरी अन्त्य गर्नेहोला ? हामीजस्ता नयाँ युवाको अवसर कहिले आउला ? पावर नलगाई सिष्टममा काम कहिले होला ? 

त्रिवि पत्रकारिता केन्द्रीय विभाग र त्रिवि पनिका बल्खुमा जवाफदेहिता कहिले होला ? यस्ता अनगिन्ती प्रश्न यो परिघटनाले सिर्जित गरेको छ । सरकारी ओहदामा पुगेका पदाधिकारीले आफूले नपाएको अधिकार प्रयोग गर्नु र आफूले पाएको अधिकार पनि प्रयोग नगर्नु दुबै हानिकारक छन् । केही मानिसमा राज्यको उच्च ओहदामा पुगेपछि शान बढ्छ, अन्यलाई मान्छे (नागरिक) देख्दैन, ठान्दैन भन्ने सुनिएको थियो । भोगियो । 

कुन्दन सर त शक्तिकेन्द्रको मान्छे हो । तपाईंँ सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली यसअघि प्रधानमन्त्री हुँदा प्रेस सेल्लाहकार हुनुहुन्थ्यो । तपाईं अनौपचारिक सेवा केन्द्र (इन्सेक)को केन्द्रीय अध्यक्ष पनि हो । त्यसैले यहाँ कुन्दन सरको बारेमा यत्ति लेख्ने धृष्टता गरेँ । रिसानी माफ पाऊँ । यसलाई ‘इगो’का रूपमा नलिइयोस् । सायद यति लेख्दा ‘साइबर क्राइम’ पनि आकर्षित हुँदैन होला । 

अस्ति प्रकाश तामाङलाई नागरिकता दिन मिल्दैन भन्ने अधिकारीहरू आज घरमै नागरिकता बाँड्न गएका होइनन् ? कुन्दन सर, तपाईं पनि आफ्नो अधिकार प्रयोग गर्नुहोस् र मेरो निवेदनमा तोक लगाइदिनुहोस् । 

निवेदक : फणीन्द्र फुयाल ज्वाला, [email protected]

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू