जिल्ला अस्पतालमा औषधि अभाव, स्वास्थ्य बीमाकाे बिजाेग

जिल्ला अस्पतालमा औषधि अभाव, स्वास्थ्य बीमाकाे बिजाेग

-अमृतप्रसाद पौडेल

असोज ९ गते बेनी अस्पतालमा उपचारका लागि पुगेकी थासाङ गाउँपालिका–३ मुस्ताङकी ७२ वर्षीया मनदेवी तुलाचनले आफूले सेवन गर्दै आएको औषधि अस्पतालको फार्मेसीमा पाइनन् । प्रेसरको उक्त औषधि नियमित प्रयोग गरेकी उनलाई अस्पताल बाहिरबाटै किन्नुपर्यो । 

राष्ट्रिय बीमा बोर्डअन्तर्गत स्वास्थ्य बीमा कार्यक्रममा सहभागी तुलाचनले सेवन गर्ने औषधि बीमा कम्पनीबाटै आउने थियो, तर अस्पतालभित्र सञ्चालित फार्मेसीमा नपाएपछि बाहिरबाट किनिएको हो ।

जलजला गाउँपालिका–३ कि ७० वर्षीय टेककुमारी घर्तीले कोलेष्ट्रोलको औषधि नियमित सेवन गर्दै आएकी छन् । स्वास्थ्य बीमा कार्यक्रममा सहभागी उनले पनि पहिलो सेवा लिने बेनी अस्पताल नै हो । तर, अस्पतालको फार्मेसीबाट औषधि किन्दै आएकी उनले पनि बाहिरको पसलबाट किन्नुपर्ने भयो । 

अस्पताल बाहिर निस्केर मूल्य सोध्दा आठ सय रुपैयाँ पर्ने भनेपछि घर्ती औषधि नलिई फर्किइन् । ‘पहिला त बीमामा पाइन्थ्यो, आज छैन भने । बाहिर किन्नु भन्थे मसँग पैसा छैन गाउँ गएर पैसा भयो भने आएर लैजानु पर्ला !’ उनले भनिन् ।

बेनी अस्पतालमा पर्याप्त औषधि नहुँदा बाहिरबाट किन्नुपर्ने वा खालि हात फर्कनुपर्ने तुलाचन र घर्ती प्रतिनिधि पात्र हुन् । स्वास्थ्य बीमा बोर्डले झण्डै नौ महिनादेखि औषधिको बक्यौता भुक्तानी नगर्दा यस्तो समस्या भएको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्रप्रसाद सुवेदी बताउँछन् । 

जिल्लास्तरीय एकमात्रै सरकारी अस्पतालको फार्मेसी तथा अन्य सेवा कुनैपनि अवस्थामा बन्द हुनसक्ने अवस्थामा पुगिसकेको उनको भनाई छ । बीमा बोर्डले लामो समयदेखि अस्पताललाई बाँकी भुक्तानी नगर्दा अस्पतालको आर्थिक अवस्था नाजुक बन्दै गएकाले कुनै पनि बेला सेवा बन्द हुनसक्ने भन्दै सुवेदीले चिन्ता व्यक्त गरेकी छन् । 

बोर्डले अस्पताललाई २०८० पुस अर्थात् नौ महिनादेखि भुक्तानी नदिएको बताइन्छ । करिब २ करोड ७५ लाख रकम बक्यौता उठ्न बाँकी रहेको अस्पतालले जनाएको छ । 

अस्पतालका फार्मेसी निरीक्षक आशिष श्रेष्ठका अनुसार सबैभन्दा बढी प्रयोग हुने नर्मल सलाइन पनि उपलब्ध गराउन मुश्किल भइसकेको छ । हजार युनिट माग गर्दा सय युनिट मात्रै पाउने गरेकाले पनि कतिपय अवस्थामा फार्मेसीले नर्मल सलाइनसमेत उपलब्ध गराउन नसकेको उनले बताए ।

पटक–पटक अनुरोध गर्दासमेत बोर्डबाट सकारात्मक जवाफ नआउँदा समस्या भएको अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष सुवेदीले बताए । ‘ठूला अस्पतालहरुले नै स्वास्थ्य बीमा बोर्डको बीमा कार्यक्रमअन्तर्गत प्रदान गरिने सेवा बन्द गरे, हामीले अझैपनि आन्तरिक स्रोतबाटै दिइरहेका छौँ । तर, अब खर्च धान्न नसक्ने अवस्थामा पुगेको छ ।’

स्वास्थ्य बीमा प्रक्रियाबाट आएका बिरामीलाई उपलब्ध सुविधा थप प्रभावकारी बनाउन बोर्डको कार्यशैली बाधक बनेको अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डेन्ट डा.अञ्जु थापा बताउँछिन् । बीमामार्फत पाउनुपर्ने रकम समयमै भुक्तानी नपाउँदा अस्पतालको सेवा प्रक्रियामै बाधा परेकाले धेरै पटक ध्यानार्कषण गराइएको उनको भनाई छ । 

‘बोर्डले रकम निकासा गरेमा बीमा कार्यक्रमअन्तर्गत दिइने सेवाकै लागि सामग्री खरिद गरिने हो, भुक्तानी भएन भने सेवा बन्द गर्नुको विकल्प नै हुँदैन’, डा. थापाले सुनाइन् ।

अहिले अस्पतालले आन्तरिक आम्दानीबाट सेवा नियमित सञ्चालन गरिरहेको छ । करारका स्वास्थ्यकर्मीसहित कर्मचारीको तलब र डाक्टरको भत्तामा पनि त्यसैबाट खर्च हुँदै आएको छ । यसकारण आर्थिक व्यवस्थापन गर्न कठिन भएको अस्पताल प्रशासनले बताएको छ । 

जिल्लाका स्थानीय तह तथा व्यक्तिगतरुपमा समेत बीमा गर्नेहरु बढिरहेको अवस्थामा बेनी अस्पतालमा दैनिक उपचारमा आउने बिरामीमा ठूलो हिस्सा बिमितहरु नै हुने गरेका छन् ।

टिप्पणीहरू