ग्यालेक्सीबाट कसले कति बुझ्थे ?

ग्यालेक्सीबाट कसले कति बुझ्थे ?

सहकारी संस्थाहरूको रकम हिनामिनाबारे छानबिन गर्न गठित संसदीय समितिले गोर्खा मिडिया नेटवर्कमा भित्रिएको लगानीको सबै विवरण सार्वजनिक गरिसकेको छ । अध्यक्ष गितेन्द्रबाबु राई र प्रबन्ध निर्देशक रवि लामिछाने रहेको गोर्खा मिडियाले चलाएको ग्यालेक्सी टेलिभिजनमा लगानीका रूपमा ८५ करोड रूपैयाँ सहकारीबाट ल्याएको खुलेको छ । 

समितिले ग्यालेक्सी टेलिभिजनका लागि अन्य स्रोतबाट लगानी नआएको पनि प्रतिवेदनमा उल्लेख गरेको छ । यस्तोमा तत्कालीन प्रबन्ध निर्देशक लामिछानेले भने आफूले सहकारीको एक पैसो नलिएको दाबी गरेका छन् । जबकि उनैले गोर्खा मिडियाबाट अग्रिम भुक्तानीसहित दुई करोडभन्दा बढी बुझेको विवरण छरपष्ट छ । 

अन्यत्रबाट लगानी नल्याएको अवस्थामा रविसहित व्यवस्थापन र न्यूज रुमका पत्रकारलाई पनि सहकारीकै बचतको पैसा तलबका रूपमा बाँडिएको थियो । ग्यालेक्सी चलाउने क्रममा पहिलो वर्षमै गोर्खा मिडिया नेटवर्क १६ करोड घाटामा गएको प्रतिवेदन सूर्य थापा नेतृत्वको समितिले दिएको छ । 
जुन प्रतिवेदनकै आधारमा गोर्खा मिडियाका सञ्चालकमध्ये एक छविलाल जोशी पक्राउ परेका छन् । उनीजस्तै समितिले दोषी देखाएका रवि भने पार्टी कार्यालयमा कार्यकर्ता उतारेर जोगिने कोशिशमा छन् ।

थापा नेतृत्वको समितिले आफ्नो प्रतिवेदनमा रविले बुझेको रकम मात्रै सार्वजनिक गरेको छैन । तत्कालीन प्रधानसम्पादकदेखि संवाददाता र समाचार वाचकसम्मले तलब र अन्य शीर्षकमा बुझेको रकम पनि बाहिर ल्याएको छ । समितिले ग्यालेक्सीको अडिट रिपोर्टसहितका दस्तावेजमा उल्लेख विवरणलाई प्रतिवेदनमा समेटेको छ । 

कसले कति बुझ्थे ?

प्रशान्त अर्याल : ग्यालेक्सी टेलिभिजन स्थापना हुँदादेखि नै जोडिएका अर्याल प्रधानसम्पादकको भूमिकामा थिए । उनलाई तत्कालीन प्रबन्धक एवम् सञ्चालक रवि लामिछानेले भित्र्याएका हुन् । 

कान्तिपुर टेलिभिजनको प्रधानसम्पादक छाडेका उनलाई मासिक ४ लाखभन्दा बढी तलब र एउटा कार पनि दिइएको थियो । उनले गोर्खा मिडिया नेटवर्कबाट मात्रै ५७ लाख ७ हजार ६ सय १९ रूपैयाँ लिएको छानबिन समितिको प्रतिवेदनले सार्वजनिक गरेको छ । अर्याल १६ महिना काम गरेर ग्यालेक्सीबाट बाहिरिए । 

रूपेश श्रेष्ठ : अर्याल बाहिरिएपछि कान्तिपुर टिभीबाटै गएका अर्का पत्रकार रूपेश श्रेष्ठ प्रधानसम्पादक भए । श्रेष्ठ गितेन्द्रबाबु राई (जीबी) का निकटमध्ये एक हुन् । उनले जम्माजम्मी तीन महिनामात्रै काम गरे । त्यो बेला ग्यालेक्सी टेलिभिजन चरम आर्थिक संकटमा थियो । नजिकका साथीले धोका नदेलान् भन्ने सोचेर रूपेश ग्यालेक्सी भित्रिएका थिए । युवा उमेरमै सम्पादकको कुर्सी सम्हाल्न पुगेका श्रेष्ठ पनि जीबीले फोन नै उठाउन छाडेपछि निराश भए । कर्मचारीको हप्कीदप्कीबाट दिक्क श्रेष्ठ छोटो समयमै टिभी छाडेर हिँडे । स्रोतका अनुसार उनले बैँक खातामा नभई हाताहाती रकम लिएकाले प्रतिवेदनमा उल्लेख गरिएको छैन । 

पुष्पराज गिरी : गिरी तिनै पात्र हुन्, जसलाई अमेरिका भ्रमणमा रहेका बेला हटाएको भनेर कान्तिपुरले सार्वजनिक सूचना जारी गरेको थियो तर कान्तिपुरमै कार्यरत छन् । उनी ग्यालेक्सीमा प्रशासन प्रमुखको हैसियतसहित स्थापनाकालदेखि जोडिएका व्यक्ति हुन् । 

सहकारीबाट २५ लाख निकालेका उनी ग्यालेक्सीअघि कान्तिपुरमा व्यवस्थापनको पाटो हेर्थे । ग्यालेक्सी छाडेपछि कान्तिपुरमै फर्किए । कतिपयले गिरीलाई कैशाल सिरोहियाले नै पठाएको भन्ने आरोप पनि लगाएका छन् । जस्तै : कान्तिपुर फर्किएपछि उनलाई कारबाही गरेर निकालेको भनिएको थियो । तर, हाल बढुवा भएर कान्तिपुरमै छन् । रवि लामिछाने गृहमन्त्री भएका बेला सिरोहियालाई पक्राउ गर्न थापाथलीस्थित कर्पोरेट टावरमा प्रहरी पुग्दा कान्तिपुर टिभी र अनलाइनले लाइभ गरेको फुटेजमा मालिकको अघिपछि गिरी देखिन्थे । उनै गिरीले समेत ग्यालेक्सीबाट २१ लाख ६१ हजार ४ सय ६७ रूपैयाँ तलब लिएको प्रतिवेदनमा उल्लेख छ । 

अजयकुमार दास : दास लामो समय कान्तिपुर टिभीमा काम गरेका व्यक्ति हुन् । उनी कान्तिपुर छाडेर विकास साझेदार संस्थामा आवद्ध भए । त्यसपछि ग्यालेक्सीमा तीन सम्पादकमध्ये एक भएर काम गरे । अहिले एशिया फाउण्डेशनमा आवद्ध उनले गोर्खा मिडिया नेटवर्क प्रालिले चलाएको ग्यालेक्सी टिभीमा काम गर्दा १७ लाख २५ हजार ७६ रूपैयाँ तलब लिएको देखिएको छ । 

राधाकृष्ण धिताल : आरके धितालका नामले पनि चिनिने उनी लामो समय कान्तिपुर टिभीमा काम गरेका पत्रकार हुन् । उनले ९९ हजार ९२ रूपैयाँ बुझेको देखिएको छ । 

निमेष बञ्जाडे : कान्तिपुर टेलिभिजनमा समाचार भन्ने ग्यालेक्सी टिभीमा ‘जीबेट’ कार्यक्रम चलाउन थाले । उनको नागरिकताको नाम विमलकुमार बञ्जाडे हो । रूपेश श्रेष्ठ प्रधानसम्पादक भएपछि उनले ग्यालेक्सी छाडे । श्रेष्ठ र बञ्जाडे पूर्वसहकर्मी भए पनि एकअर्कालाई नरुचाएको त्यतिबेलै चर्चा थियो । उनले छाडे पनि कान्तिपुरबाटै गएका नवराज पाण्डेले ‘जीबेट’ चलाए । बञ्जाडेले टिभीबाट १० लाख ८० हजार ९ सय रूपैयाँ लिएको देखिएको छ । 

रामबहादुर रावल : रावल नेपाल म्यागाजिनदेखि अर्यालसँगै थिए । कपी एडिटरका रूपमा चिनिएका उनले अर्याल ग्यालेक्सीबाट बाहिरिँदा साथ छाडेनन् । पछि व्यवस्थापन हेर्ने टीकाराम राईले सम्पादक बनाउने भन्दै सम्झाएर राखे । राईले फकाएर राखेको तीन महिनामै रूपेश हिँडेपछि सम्पादक भए । त्यो पनि छाडेर हिँडेका रावल नेपालखबरमा सम्पादक बने । उनले पनि १६ लाख ६८ हजार ५२ रूपैयाँ लिएको प्रतिवेदनमा उल्लेख छ । 

वासुदेव तिमल्सिना : तिमल्सिना पनि रावलजस्तै कपी एडिटर र कान्तिपुर टिभीबाटै गएका हुन् । उनले ११ लाख २७ हजार ५ सय ८० रूपैयाँ लिएको देखिएको छ । 

नारायणप्रसाद अर्याल : ग्यालेक्सीका कपी एडिटर उनी कान्तिपुर टिभीमै फर्किए । उनले ९ लाख ४८ हजार ४ सय ६३ रूपैयाँ लगेको देखिएको छ । 
डुण्डुराज आचार्य : डिआर आचार्यका नामले चिनिने र कान्तिपुर टिभीमा पनि काम गरेका उनी ग्यालेक्सीमा जिल्ला ब्यूरो प्रमुख थिए । उनले टिभीबाट ११ लाख ७५ हजार ३ सय ३६ रूपैयाँ लिएको प्रतिवेदनमा देखिएको छ । 

सजना तामाङ : कान्तिपुर टिभीकी समाचार वाचिका तामाङ ग्यालेक्सीमा राम्रो रकममा समाचार पढ्न पुगिन् । तर, एक वर्ष नपुग्दै छाडेकी उनले पनि ७ लाख २५ हजार ६ सय ५५ रूपैयाँ लिएको देखिएको छ । 

नवराज पाण्डे : कान्तिपुर टिभीका रिपोर्टर उनी ग्यालेक्सीमा रिपोर्टर कोअर्डिनेटर भएर गए र रविको विश्वासपात्र बने । रवि पहिलो पटक गृहमन्त्री हुँदा प्रेस सल्लाहकार पनि भए । उनी रास्वपामा भित्रभित्रै सक्रियमध्ये एक मानिन्छन् । उनले पनि ९ लाख ८८ हजार ७ सय ७६ रूपैयाँ लिएको देखिएको छ । 

जितेन्द्र झा : राम्रा रिपोर्टर मानिने झाले कान्तिपुरमा लामो समय काम गरे । ग्यालेक्सी खुलेपछि उनी राजनीतिक ब्यूरो प्रमुख पदमा जोडिए । तर उनलाई के चित्त बुझेन र कान्तिपुर टिभीमै फर्किए । छोटो समय काम गरेका उनले पनि ग्यालेक्सीबाट ९ लाख ६४ हजार ६७ रूपैयाँ बुझेको प्रतिवेदनमा देखिएको छ । 

वासु खड्का : रेडियो कान्तिपुरमा आवद्ध खड्काले पनि ६ लाख ३ हजार ५ सय ६ रूपैयाँ लिएको प्रतिवेदनमा उल्लेख छ । 

सपना फुयाँल : अन्तर्राष्ट्रिय बिटमा लेख्ने फुयाँल कान्तिपुर टिभीमै काम गर्थिन् । ग्यालेक्सीमा पनि त्यही बिट सम्हालिन् । अहिले अष्ट्रेलिया गइसकेकी छन् । उनले पनि ग्यालेक्सीबाट ६ लाख ५ हजार २ सय ५ रूपैयाँ लगेको देखिएको छ । 

प्रकाश पाठक : रेडियो कान्तिपुरका समाचार बाचक पाठक रवि लामिछानेका प्रियमध्ये एक थिए । रास्वपाको राजनीति गर्ने भन्दै रविसँगै निस्किए । उनले पनि ७ लाख ६८ हजार ४ सय ५४ रूपैयाँ लगेको देखिएको छ ।

रोशनमान श्रेष्ठ : कान्तिपुर टिभीका जिल्ला रिपोर्टर उनी ग्यालेक्सीमा लुम्बिनी ब्यूरो प्रमुख भएर काम गर्न आए । उनले ५ लाख ३५ हजार रूपैयाँ लिएको देखिएको छ । 

सरोजसिंह थापा : थापा छोटो समय ग्यालेक्सीमा काम गरेर कान्तिपुर टिभीमा समाचार पढ्न गए । उनले ७१ हजार ४ सय १९ रूपैयाँ लगेको देखिन्छ । 

विनय कुमार : महतो कान्तिपुरका समाचार वाचक हुन् । ग्यालेक्सीमा समाचार पढ्न आएका उनी पनि कान्तिपुरमै फर्किए । उनले ७ लाख ७४ हजार रूपैयाँ लगेको प्रतिवेदनले देखाएको छ । उनीसहित मनोरञ्जन बिट र प्राविधिक रुममा काम गर्ने धेरै कान्तिपुरबाटै आएका थिए र तीमध्ये धेरै कान्तिपुरमै फर्किए ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू