अमेरिकी प्रहरीलाई ममताको मृत्युमा किन अलमल
अमेरिकाको भर्जिनियास्थित मनासस पार्कमा श्रीमान् नरेश भट्टसँगै बस्दै आएकी ममता भट्ट गत साउन १५ देखि बेपत्ता छिन् । दुई महिनासम्म सास वा लाश दुबै भेटिएको छैन ।
अमेरिकी प्रहरीले ममताको हत्या भएको निश्कर्ष निकाल्दै नरेशलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । तर, शव फेला नपरेका कारण अदालतमा मुद्दा अभियोजन भएको छैन ।
सन् २०२१ मा अध्ययनका लागि अमेरिका पुगेकी २१ वर्षीया मुना पाण्डेको भदौ पहिलो साता गोली हानी हत्या भयो । टेक्सासको ह्युस्टनस्थित आफ्नै अपार्टमेन्टमा उनी मृत फेला परेकी थिइन् । हत्या अभियोगमा स्थानीय प्रहरीले ५१ वर्षीय बबी सिं शाहलाई पक्राउ गरेको छ ।
केही हप्ताको अन्तरालमा भएका यी दुई हत्याकाण्डले सिंगो नेपाली समुदाय स्तब्ध छ । सुन्दर भविश्य खोज्न ‘सपनाको देश’ पुगेका ममता र मुनाजस्तै लाखौँ युवा त्रसित छन् । दुबै घटनाले अन्तर्राष्ट्रिय सञ्चार माध्यममा चर्चा पाइरहँदा विश्वको ध्यान केन्द्रित भएको छ ।
त्यसो त, अन्तर्राष्ट्रिय रिपोर्टहरूलाई मान्ने हो भने विश्वमा हुने व्यक्ति हत्याका घटना आधाभन्दा बढी अमेरिका र अफ्रिकामा हुने गरेको छ । विश्वभरका युवाहरूको ‘सपनाको देश’मा बढ्दो हत्याका घटनाले त्यहाँको सुरक्षा र न्याय प्रणालीमाथि प्रश्न उठ्दा अमेरिकी शासन प्रणालीको अनुशरण गर्ने विश्व समुदायमा चिन्ता थपिँदै छ ।
स्थानीय प्रहरीका अनुसार ममता काफ्ले हत्या प्रकरणमा प्रहरीले अनुसन्धान जारी राखेको छ । घटनाबारे महत्वपूर्ण सुराक भेटिएको र उनको हत्या भएको निश्कर्षमा प्रहरी पुगिसकेको छ । र, श्रीमान् नरेशले नै हत्या गरेर लाश टुक्रा–टुक्रा पारी फालेको अनुमान छ ।
तर, अमेरिकी कानुनमा शव फेला नपरेसम्म मुद्दा दर्ता नहुने भएकाले नरेशविरुद्ध मुद्दा गैहालेको छैन । नेपालमा जस्तो न्यायाधीशको तजविज वा राजनीतिक दबाबले त्यहाँ मुद्दा चलाइँदैन । कानुनले आरोपितको पनि अधिकार सुरक्षित गरिदिएको छ । बचाऊ पक्षलाई सरकारी वकिलले लगाउने आरोपबारे प्रमाणसहित पूर्वजानकारी दिनुपर्छ । त्यसमा उनीहरूले आफ्ना अनुसन्धानकर्ता लगाएर खण्डन गर्न पाउने अधिकार कानुनले नै प्रत्याभूत गरेको छ । तर, दोषी ठहर हुने सानोमात्र प्रमाण भेटियो भने पनि नरेश उम्कन सक्दैनन् ।
अमेरिकी कानुनका जानकार र यो घटनालाई नजिकबाट नियालिरहेका एक जना पूर्वन्यायाधीश भन्छन्, ‘दाँतको एउटा टुक्रा वा रौँ फेला पर्यो भने मुद्दा दर्ता भैहाल्छ ।’ नेपालमा न्यायाधीशको मन पग्लिँदा श्रीमतीलाई जिउँदै आगो लगाएर हत्या गर्ने रञ्जन कोइराला छुटेजस्तो त्यहाँ हुँदैन ।
नरेशले नै श्रीमतीलाई मारेको परिस्थितिजन्य प्रमाण प्रहरीले प्रशस्त फेला पारिसकेको छ । ‘श्रीमतीको हत्यापछि कति समयमा अर्को बिबाह गर्न पाइन्छ’ भनेर उनले गरेको गुगल सर्च हिस्ट्री एउटा बलियो प्रमाण हो, जुन नरेशको मोबाइलबाट प्रहरीले लिइसकेको छ । त्यस्तै, बोरामा प्याक गरेर फोहोर फाल्ने ठाउँमा शंकास्पद वस्तु फालेको सिसिटिभी फुटेज पनि प्रहरीसँग छ । उनी बस्ने अपार्टमेन्टको बाथरुममा रगतको टाटा लागेको पनि भेटिएको थियो ।
यी सबै परिस्थितिजन्य प्रमाणले नरेशले नै ममताको हत्या गरेको प्रष्ट हुन्छ तर, हड्डीसम्म पनि फेला नपरेसम्म कानुनले हत्या स्वीकार नगर्ने भएकाले अनुसन्धान त्यसैमा केन्द्रित छ ।
‘प्रहरीले तालिमप्राप्त कुकुर लगाएर फोहोर फाल्ने केन्द्रहरूमा हाडखोर खोजिरहेको छ । त्यहाँबाट रौँ मात्र फेला पर्यो भने सक्कियो’, पूर्वन्यायाधीश भन्छन्, ‘अमेरिकामा लाश र हतियार फेला परेन भने अपराध प्रमाणित नै हुँदैन । मिसट्रायल हुन्छ । यो घटनामा पनि प्रहरी र सरकारी वकिललाई सावित गर्न चैं चुनौती नै देखिन्छ ।’
फौजदारी अपराध अनुसन्धानमा अमेरिकाको राम्रो पक्ष के हो भने बलियो तथ्य र प्रमाण जुटाएर दोषीलाई कडा कारवाही गर्ने । नेपालमा जस्तो सरकार र गृहमन्त्री फेरिँदैमा उल्टोपाल्टो हुँदैन ।
यो प्रकरणलाई न्यायाधीशले पनि गम्भीर रूपमा लिएको देखिन्छ । किनभने मुद्दा स्थापित नहुँदासम्म आरोपितलाई हिरासतमा लिने कि बाहिरै राखेर अनुसन्धान गर्ने भन्ने न्यायाधीशको तजविजी अधिकारमा पर्छ । आरोपित भाग्ने र प्रमाण लुकाउने अवस्था नदेखेमा बाहिरै बसेर मुद्दा लड्ने सुविधा दिने अधिकार न्यायाधीशसँग निहित हुन्छ । नरेशका वकिलले पनि १० लाख डलर धरौटी बुझाएर थुनामुक्त गर्न माग गरेका थिए । तर, अदालतले मानेन ।
‘यो भनेको हत्या भएकोमा शंका छ, तर कोर्ट अफ ल मा प्रुभ हुने एभिडेन्स अझै फेला नपरेको अवस्था हो’, ती पूर्वन्यायाधीशको भनाइ छ ।
टिप्पणीहरू