सन्दीपविरुद्ध सरकारी वकिल सर्वोच्च नजाने

सन्दीपविरुद्ध सरकारी वकिल सर्वोच्च नजाने

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा सरकार पक्ष सर्वोच्च अदालत नजाने भएको छ । महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा पुनरावेदन नगर्ने निर्णय गरेको हो । 

उच्च अदालत, पाटनको फैसला चित्त बुझेकाले सर्वोच्चमा पुनरावेदन नगर्ने निर्णय गरिएको कार्यालयका प्रवक्ता सूर्यराज दाहालले बताए । उनले भने,‘सन्दिपविरुद्ध सर्वोच्चमा पुनरावेदन नगर्ने निर्णय भएको छ । उच्चको फैसलाउपर चित्त बुझेकाले सर्वोच्चमा पुनरावेदन नगर्ने निर्णय गरेका हौं’,उनले भने । 

उच्चका न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासले गत जेठ २ गते जबरजस्ती करणीको मुद्दामा लामिछानेलाई सफाइ दिने फैसला गरेको थियो । उक्त मुद्दाको पूर्णपाठ साउन ४ गते सार्वजनिक भएको छ । 

फैसलामा उमेर पुगेका पुरुष र महिलाबीच सहमतिमा भएको करणीलाई कानुनतः जबरजस्ती नमानिने व्याख्या गरिएको छ ।

पूर्णपाठमा भनिएको छ, ‘प्रतिवादीसँग पीडितले आर्थिक संरक्षण मागेको, प्रतिवादीले पछि सकेको सहयोग गर्छु भनेको तर कुनै सहयोग नगरी प्रतिवादी केन्यातर्फ गएको घटनाक्रमले रिसको आवेगमा प्रतिवादीउपर यस्तो जघन्य कसूरमा जाहेरी दिएको होला भनी यो तथ्यलाई ठाडै इन्कार गर्न सकिने अवस्था पनि देखिँदैन ।’

यता, जाहेरकर्ता गौशाला–२६ ले सर्वोच्चमा पुनरावेदन नगरिदिनु भनि महान्यायाधिवक्ताको कार्यालयमा निवेदन दिएकी थिइन्।

 

टिप्पणीहरू