आइजिपी बिदेश घुम्नमा मात्र रमाउने परेपछि..

आइजिपी बिदेश घुम्नमा मात्र रमाउने परेपछि..
सुन्नुहोस्

सँगठन प्रमुख एकैचोटि टुप्पीबाट पलाउने,सबैको अविभावक बन्न नसक्ने,मन्त्री आएपिच्छे पिपलपाते बन्ने,एसएसपी गए हुने बिदेशका तालिममा आफै गएर हप्तौं हराउने,बाढी पहिरोको मतलब नहुने,स्टिम सौना बस्न पाए मुलुक डुबे पनि तौलियाले जिउ नपुछ्ने आइजिपी पाएपछि त्यो सँस्था उक्सिन्छ कसरी ? ससुराली नाता पर्नासाथ कैयन बर्दीवाल अपराधमा सँलग्नलाई बिदेश भाग्न दिने,उही दर्जाका मीरा चौधरी र सन्दिप भण्डारीलाई कोठे बिदाइ गर्दा सन्दिग्ध क्रियाकलापमा डामिएका श्याम ज्ञवालीलाई सलामी दिलाउने उनै प्रहरी महानिरीक्षक वसन्त कुँवरको कथा हो यो । 

उनैको ठाडो मातहत महाराजगन्जस्थित नेपाल प्रहरी अस्पताल साढे दुई महिनादेखि प्रमुखविहीन छ । गत साउन ९ गते अस्पतालकी मेडिकल डाइरेक्टर तथा अतिरिक्त महानिरीक्षक (एआइजी) आशा सिंह उमेर हदका कारण अवकाशमा गएकी थिइन् । त्यसयता अस्पताल निमित्तको भरमा चलिरहेको छ ।  सिंह अवकाशमा गएपछि निमित्त प्रमुखको जिम्मेवारी डा. सुन्दरप्रसाद होजुले सम्हालिरहेका छन् । उनी ५ डिआइजीमध्येका सिनियर हुन् । लामो समय प्रमुख नियुक्त नहुँदा कतिपय नीतिगत निर्णय प्रक्रिया प्रभावित भएको बताइन्छ ।

प्रहरीमा बढुवा सिफारिसका लागि गृह सचिवको नेतृत्वको समिति गठन गरिएको छ,जसमा प्रधानमन्त्री कार्यालयका सचिव सदस्य र आइजिपी सदस्य सचिव रहने व्यवस्था छ । तर, समितिले प्रहरी अस्पताल प्रमुखको बढुवा प्रक्रिया भने अहिलेसम्म अघि बढाएको छैन ।

 

प्राविधिक प्रहरीतर्फको बढुवामा सरकारले प्राथमिकता नदिँदा यसअघि पनि दुई एसएससपी वीचैमा असार १३ गते घर गएका थिए । प्रहरीमा एसएसपीको पदावधि ६ वर्ष हुने व्यवस्था छ । २२ असार २०७५ मा बढुवा भएका प्रहरी अस्पतालका दुई एसएसपी दिपक श्रेष्ठ र सुवास आचार्य पदावधिका कारण घर गएका थिए । 

यसअगाडि गृहमन्त्री रमेश लेखक र आइजिपी वसन्तबहादुर कुँवरसँग छुट्टाछुट्टै भेटेर अस्पताल प्रमुखका ३ जना प्रतिष्पर्धी डिआइजीहरु होजु,डा. सञ्जयविक्रम श्रेष्ठ र डा. गोपेशकुमार ठाकुरले बढुवाका लागि आग्रह गरेका थिए । २०५९ सालमा प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर)बाट सेवामा प्रवेश गरेका यी तीन जना अस्पतालका विभागीय प्रमुख पनि हुन् । होजु र ठाकुर प्राविधिकतर्फको ११ औँ ब्याचका हुन् भने श्रेष्ठ १४औं ब्याचका अधिकृत हुन् ।  

त्यतिबेला आ-आफ्नो पक्षमा माहोल बनाउन लबिङ गरेका उनीहरुलाई गृहमन्त्री र आइजिपीले साउनदेखि असोजसम्म कार्य सम्पादन मूल्यांकन फारम भर्ने समय भएकाले कसैको पनि बढुवा नहुने जवाफ दिएर फर्काएका थिए । तर, यहीबीचमा डिआइजी रामदत्त जोशीलाई एआइजीमा बढुवा गरिएको छ । साउन २२ गते उनलाई समितिले बढुवा सिफारिस गरेको हो । 

प्रहरी अस्पतालका प्रमुख बढुवा सरकारको प्राथमिकतामा नपर्दा गृहमन्त्री रमेश लेखकले आफ्नै भेग सुदूरपश्चिमका जोशीलाई भने बढुवा दिलाएको बताइन्छ ।

 

सर्वोच्च अदालतले ९० दिनभन्दा बढी पद रिक्त राख्न नहुने फैसला यसअघि नै गरिसकेकाले अब कम्तिमा १५ दिनभित्र प्रहरी अस्पतालले प्रमुख पाइसक्नुपर्ने हुन्छ । यसबारे गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीसँग जिज्ञासा राख्दा उनले छिट्टै बढुवा हुने जवाफ दिए । भने, 'लामो समय प्रमुख रिक्त हुनु राम्रो होइन,तर अब ढिलो हुँदैन ।'

अस्पताल प्रमुखविहीन रहँदा कर्मचारीको वृत्ति विकासदेखि निर्णय प्रक्रियासम्म प्रभावित हुनेमा सहमत हुँदै उनले यसप्रति मन्त्रालय गम्भीर रहेको बताए । साउनदेखि असोजसम्म कार्य सम्पादन मूल्यांकन फारम भर्नुपर्ने भएकाले बढुवा प्रक्रिया लम्बिएको दुवाडीको भनाई छ । 

यद्यपि अब कति दिनमा प्रहरी अस्पतालले प्रमुख पाउँछ ? भन्ने प्रश्नमा भने उनले ठ्याक्कै जवाफ दिन सकेनन् ।

यसवीच आइजिपी बसन्त कुँवरका कमजोरीविरुध्द दर्ता नम्बर ०२०८१० अन्तर्गत अख्तियारमा असोज १३ गते उजुरी दर्ता भई छानबिन प्रारम्भ भएको बुझिएको छ ।

 

टिप्पणीहरू