मनसुन बाहिरियो, सुन्दरीजलमा टुटी घुमाइयो
काठमाडौँ उपत्यकामा आजदेखि मेलम्चीको पानी वितरण थालिएको छ । सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा पुगेर खानेपानीमन्त्री प्रदीप यादवले हेडवक्र्सको ठूलो टुटी घुमाएर पानी वितरण शुभारम्भ गर्नुभएको छ ।
योसँगै काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)को रिजर्भ ट्यांकीमा पानी आइसकेको र विभिन्न वितरण शाखामार्फत बाँडिने जनाइएको छ । तर, मेलम्चीको पानी सहजै उपत्यकाबासीले पाउनेमा अझै ढुक्क हुने अवस्था भने छैन ।
बर्खा लागेसँगै धारामा धमिलो पानी आउन थालेपछि असार १० गतेदेखि पानी ल्याउन बन्द गरिएको थियो । अघिल्लो वर्ष पनि मेलम्ची नदीमा आएको बाढीका कारण खानेपानी आयोजनाको हेडवक्र्स पुरिएर झण्डै छ महिना पानी वितरण रोकिएको थियो ।
२०७७ सालमा काठमाडौँ ल्याउन शुरु भएयता राष्ट्रपति, प्रधानमन्त्री, खानेपानीमन्त्री लगायतले आधा दर्जन पटक धाराको टुटी घुमाएर शुभारम्भ गरेपनि पानी वितरण नियमित हुन सकेको छैन ।
आजदेखि काठमाडौं उपत्यकासहित बागमती प्रदेशका केही भू–भागबाट यस वर्षको मनसुन बाहिरिएको छ । जल तथा मौसम पूर्वानुमान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले उपत्यकासहित प्रदेशका पश्चिमी भू–भाग र मधेश प्रदेशका थोरै भू–भागबाट मनसुन बाहिरिएको जानकारी दिएको छ ।
त्यसैगरी, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका सम्पूर्ण भू–भागबाट मनसुन बाहिरिएको महाशाखाले जनाएको छ । ‘आज मिति २०८१ असोज २२ का दिन यस वर्षको मनसुन कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका सम्पूर्ण भू–भागका साथै काठमाडौं उपत्यकालगायत बागमती प्रदेशको पश्चिमी भू–भागको थोरै स्थानहरुबाट बर्हिगमन भएको छ’,बुलेटिनमा उल्लेख छ ।
मनसुनी वायु कमजोर हुँदै गएको उल्लेख गर्दै महाशाखाले अबको केही दिनमा बाँकी भू–भागबाट पनि मनसुन बाहिरिने जनाएको छ ।
टिप्पणीहरू