चालक र सहचालकहरु दशैं भन्दै चर्को भाडा उठाउँदै

चालक र सहचालकहरु दशैं भन्दै चर्को भाडा उठाउँदै

दशैँको मौका छोपेर यात्रुसँग बढी भाडा असुलेका झण्डै तीन दर्जन चालक र सहचालक पक्राउ परेका छन् । काठमाडौंका विभिन्न स्थानबाट यात्रुसँग बढी भाडा असुलेको अभियोगमा ३१ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार आज मात्र १७ जनालाई पक्राउ गरिएको छ । तीमध्ये बल्खुबाट एउटा सवारीसाधनसहित आठ, नयाँ बसपार्कबाट छ र कोटेश्वरबाट तीन गरी १७ जना समातिएका छन् । 

यस्तै, हिजो बल्खुबाट १०, नयाँ बसपार्क र कोटेश्वरबाट दुई÷दुई गरी १४ जनालाई नियन्त्रणमा लिइएको थियो । ती सबैलाई आवश्यक कारबाहीका निम्ति सम्बन्धित प्रहरी वृत्तमा बुझाइएको छ । 

चेकजाँचका क्रममा नियम विपरीत भाडाका यात्रु बोकेको अवस्थामा दुई वटा निजी नम्बर प्लेटको सवारीसाधनलाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ । 

चाडपर्वको समयमा यात्रुलाई पर्नसक्ने समस्यालाई सम्बोधन गर्न उपत्यकाका विभिन्न १४ स्थानमा यात्रु सहायता कक्षाको स्थापना गरिएको छ । कक्षमा खटिएको टोलीले यात्रुको गुनासो सम्बोधन गरी आवश्यक सहजता वा सहयोग प्रदान गरेको बताइन्छ । 

चाडबाड लक्षित ट्राफिक व्यवस्थापन विशेष कार्ययोजना, २०८१ को  प्रभावकारी कार्यान्वयनका निम्ति आवश्यकताअनुसार जनशक्ति समेत परिचालन गरिएको कार्यालयको दाबी छ । यसरी खटिएको टोलीले बढी भाडा लिए÷नलिएको, लामो दूरीका सवारी साधनमा दुई जना चालक भए÷नभएको, काउण्टरमा भाडादर टाँस्न लगाउनुका साथै सवारीसाधनको क्षमता भन्दा बढी यात्रु राख्ने, फर्जी टिकट काट्ने र यात्रुको सुरक्षा सुनिश्चितताजस्ता विषयमा निगरानी गर्ने गरेको छ । 

सोही क्रममा असोज १७ गते नयाँ बसपार्कबाट नक्कली टिकट बनाई बिक्री गरिरहेको अवस्थामा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले यात्राका क्रममा कसैले अनावश्यक दुःख, हैरानी दिएमा, बढी भाडा लिएमा वा कुनै पनि समस्या भएमा तत्कालै १०३ वा १०० सम्पर्क नम्बरमा जानकारी गराउन पनि अनुरोध गरेको छ ।

टिप्पणीहरू