अत्तालिएको माओवादीलाई अनेक अवसर

अत्तालिएको माओवादीलाई अनेक अवसर

दश वर्षे सशस्त्र युद्ध गरेर शान्ति सम्झौतामार्फत खुला राजनीतिमा अवतरण गरेको नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पटक–पटक भन्ने गर्छन्, ‘अरुले पिठो बेचे हामीले चामल पनि बेच्न सकेनौं ।’ उनको भनाइको मतलव माओवादीले शान्ति प्रकृयापछि देश र जनताका पक्षमा गरेका राम्रा कामका बारेमा प्रचार गर्न नसकेर जनताबाट टाढिँदै गएको छ । संविधानसभाको पहिलो निर्वाचन २०६४ सालमा एक्लै बहुमत ल्याएको माओवादी पार्टी २०७९ सालमा आइपुग्दा प्रत्यक्ष निर्वाचनतर्फ संघीय संसदमा मात्र १८ सिटमा सिमित भएको छ । जनताले माओवादीको वास्तविक पहिचान गरेर यो संख्या दिएका हुन् । माओवादीकै पहलमा देशमा राजतन्त्रको अन्त्य भएको साँचो हो । देशले संविधानसभा निर्वाचनमार्फत संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशीतासहितको पूर्ण प्रेस स्वतन्त्रता उल्लेख गरिएको समाजवादउन्मुख नयाँ संविधान २०७२ सालमा प्राप्त गरेकै हो । 

नयाँ संविधान जारी हुनुअघि र भइसकेपछि पनि विभिन्न राजनीतिक–गैरराजनीतिक माग राखेर देशको पूर्व–पश्चिम राजमार्ग विशेषतः मधेशका केही क्षेत्रीय–जातीय समूह तथा व्यक्तिले अवरुद्ध पारेर काठमाडौं र पहाडियाहरूलाई चुनौती दिइरहेको अवस्थामा प्रचण्ड प्रधानमन्त्री भएकै बेला मध्ये पहाडी लोकमार्ग (पुष्पलाल मार्ग)को खाका कोरेर काम अगाडि बढाउने माओवादी नै हो । माओवादीकै योजना, नेतृत्व र पहलकदमीमा वैदेशिक हस्तक्षेपविरुद्ध पटक पटक संघर्षहरू भएकै हुन् र अहिले पनि खबरदारी जारी नै छ । माओवादीले मुख्यतः यिनै विषयलाई आफूले निफनिको चामल भनेर पटक पटक दाबी गरिरहेको छ । यी कामको उचित प्रचार प्रसार गर्न नसक्दा/नजान्दा आफूहरू अन्य दलको तुलनामा पछि परेको माओवादी ठम्याइ छ ।

माओवादीले यिनै कामबारे प्रचार गर्ने आफ्नो प्रचार माध्यम (सञ्चारमाध्यम) चाहिँ किन चलाउन/बचाउन सकेन ? 

तर, माओवादीले यिनै कामबारे प्रचार गर्ने आफ्नो प्रचार माध्यम (सञ्चारमाध्यम) चाहिँ किन चलाउन÷बचाउन सकेन ? के यसबारे प्रचण्ड, प्रचार इञ्चार्ज अग्नि सापकोटालगायत नेताले कहिल्यै चिन्ता गरेका छन् ? कृष्णसेन इच्छुकलाई महान सहिद भनेर केन्द्रीयदेखि हरेक जिल्ला कार्यालयमा तस्बिर टाँस्ने माओवादीले कृष्णसेनको नाम भजाएर रकम असुल्न पल्केकाहरूको पहिचान गरेको छ ? हिजो जनयुद्धमा जनतालाई जगाउने, जनयुद्धबारे सरकारी सञ्चारमाध्यमले फैलाएको भ्रम र प्रोपगण्डालाई चिर्न काफी जनादेश साप्ताहिक, जनदिशा दैनिक, महिमा सप्ताहिक, रेडियो जनगणतन्त्र (डोके रेडियो) आदि पटक पटक सत्तामा बस्दा पनि किन पुनः सञ्चालन गर्ने सोच आएन ? शान्ति प्रकृयापछि पनि कृष्णसेन अनलाइन डट ओआरजी, जनदिशा दैनिक, जनादेश, महिमा, सिन्धुली पोष्ट, रेडियो मिर्मिरे आदि पुनःप्रकाशन÷प्रसारण गरे पनि ती किन टिक्न सकेनन् ?

समाचार दैनिक नामको ब्रोडसिट पत्रिका प्रचण्डले नै प्रकाशन गर्न भनेर केही करोड रकम प्रेस सेन्टरको हालका एक केन्द्रीय उपाध्यालाई दिएपनि त्यो केही महिनामै किन बन्द भयो ? माओवादी पार्टीको आधिकारिक वेबसाइट किन अझैसम्म छैन ? प्रचण्डकै नामको व्यक्तिगत वेबसाइट पनि उत्तिसारो प्रभावकारी र अपडेट किन छैन ? केही व्यक्तिले माओवादी पार्टीलाई दुहुनो गाईझैँ मानेर रकम दोहन गरिरहेको कुरा माओवादी पार्टीले थाहा पाएर पनि किन बुझ पचाएको भान गर्छ ? पार्टी प्रकाशन व्यक्ति र गुटका कब्जामा कसरी पुगे ? यसबारे माओवादीले किन कडा कदम चाल्न सक्दैनन ? घरभित्रको झगडा मिलाउन नसक्नेले बाहिर अरुका झगडा मिलाउन न्यायाधीशको भूमिका खेल्छ भनेर कसले पत्याइदिने ? अनि अरूले पिठो बेचे हामीले, चामल पनि बेच्न सकेनौँ भनेर किन पटक–पटक बिलौना गरिरहने कमरेड ? 

भर्खरै ठूलो, घनघोर, अतिभारी वर्षासँगै आएको बाढीले देशका धेरै स्थानमा भौतिक संरचना ध्वस्त बनाएको छ । सडक, पुल, विद्यालय, खेत आदि बगाएको छ । यदि माओवादी पार्टी जनताको मन जित्ने हो भने नेतैपिच्छे पालिएका डन, गुण्डा, ठेकेदार, दलाल, तस्कर आदिलाई ती भौतिक संरचनाको निर्माणमा निःशुल्क र निःस्वार्थ लाग भन्ने आँट, हिम्मत र साहस हुनुपर्छ । माओवादी नेताको चाकडी, दलाली, गुलामी र भनसुन गरेर जोडेका डोजर, क्रेन, क्रसर उद्योग पुनर्निर्माणमा लगाउन सक्नुपर्छ । जनताको दुःखमा माओवादी जोडिन सक्नुपर्छ । कोठे बैठक, गुटका भेला, र वक्तव्यबाजी मात्र गरेर देश बन्दैन, जनताको मन–मस्तिष्क जितिन्न कमरेड ! २०८४ मा ल्याएजस्तै मत पुनः ल्याउने हुटहुटी आफूहरूमा भएको कुरा दुई हप्ताअघि काठमाडौंमा आयोजित सिन्धुली–काठमाडौं सम्पर्क समन्वय समितिको छैटौं भेला तथा प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि एवं माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भनेका थिए । उनले भनेको जस्तै दुई तिहाइ मत आगामी २०८४ मा ल्याउने हो भने अत्तालिएको माओवादीसामु अवसरै अवसर छन् । यो र यस्ता जनतासँग प्रत्यक्षसँग जोडिने कार्यलाई पक्रन सक्ने हो भने माओवादी पुनः अग्रस्थानमा आउन सक्ला नत्र भने खुलिबिन्दाङ !

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू