टिभी टक शो छाडी ठूलाठालु किन पडकास्टतिर ?

टिभी टक शो छाडी ठूलाठालु किन पडकास्टतिर ?

केही समयअगाडि ललितपुरको एक बसाइमा न्युयोर्क टाइम्सका पत्रकार भद्र शर्मा, क्यानाडेली पत्रकार मार्टी लोगनलगायतसँग कुरा गर्दै काठमाडाँैको एक चर्चित मिडिया कलेजका चर्चित लेक्चररले रोचक कुरा सुनाए । भने, ‘पहिले पहिले काठमाडौँ पोष्टमा इन्टर्न गर्न पठाइन्थ्यो अहिले चैँ रुटिन अफ नेपाल बन्दमा शुरु गरेका छौँ ।’ काठमाडौँ पोष्टजस्तो स्थापित अंग्रेजी मिडिया हाउसमा इन्टर्न गर्न छोडेर किन एकाएक फेसबुक पेज रोज्नु भएको भन्दा उनले थपे, ‘विद्यार्थीले पनि त्यसैमा रुचि राखे । उनीहरूको प्रस्ताव व्यावसायिक थियो । के–के एक्स्पेक्टेसन छन् भन्नेसम्मका व्यावसायिक कुरा आए ।’

नेपालको अखबारलाई एक सूचनामूलक र कहिलेकाहीँ विज्ञापनमूलक सामाजिक सञ्जालको पेजले कसरी विकल्प दियो भन्ने यो रोचक उदाहरण हो । यस्तै रोचक कुरा पछिल्लो समय आएका पडकास्टहरूमा देखिएका छन् । पहिलेपहिले ठूला ओहोदामा आसीन नेता टेलिभिजन कार्यक्रममा मात्रै जान्थे । 

तर, पछिल्लो समय स्वतन्त्र रूपमा चलेका पडकास्टमा जान थालेका छन् । उदाहरणका लागि सन् २०२२ अक्टोबर ५ मा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सञ्जय सिलवाल गुप्ताको पडकास्टमा गएर अन्तर्वार्ता दिए । यो ठूला नेताले दिएको पहिलो पडकास्ट अन्तर्वार्ता हो । 

नेपाली शीर्ष तीन दलका प्रमुख तथा प्रधानमन्त्री भइसकेका अनुहारमा एक देउवाले पडकास्ट अन्तर्वार्ता दिएका छैनन् । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले भने गुप्तासँगै पडकास्ट अन्तर्वार्ता गरेका छन् । पूर्वप्रधानमन्त्रीहरूमा झलनाथ खनालले पनि विभिन्न पडकास्टमा आफूलाई उभ्याएका छन् । दोस्रो पुस्ताको भनी चिनिएका नेता गगन थापा पटक–पटक पडकास्टमा आइरहन्छन् । यो तरिका अरु दलका दोस्रो पुस्ताका नेताले पच्छ्याइरहेका छन् । 

मूलधारका टकशोहरू आफैँ लोकप्रिय छन् । लोकप्रिय च्यानल, लोकप्रिय नाम र लोकप्रिय मिडिया ब्राण्ड त्यसका सहयोगी हुन् । ती च्यानलका अनलाइन तथा ब्रोडकास्टिङ प्ल्याटफर्मले ती टकशोलाई बहुपक्षिय चर्चाको मूलधारे टेको दिन्छ । यीभन्दा भिन्न छन् सानो लगानी र स्वतन्त्र रूपमा चलेका पडकास्ट । भ्युजमात्रै खोजेर बजारमा उत्तेजक सामग्री पस्कनेहरूलाई हेय भावले दिइने ‘युट्युबे’ उपमाभित्र नपर्ने अनि व्यावसायिक देखिने यी पडकास्टहरू मूलधारका मिडियामा आउने टकशोहरूसँग कडा प्रतिस्पर्धामा भएका देखिन्छन् । मूलधारका टेलिभिजन च्यानलमा आउने लाखौँ सब्स्क्राइबर भएका च्यानलमा अपलोड हुने सामग्रीसँग उनीहरूका केही लाख मात्रै सब्स्क्राइबर भएका च्यानलले प्रतिस्पर्धी उपस्थिति देखाइसकेका छन् । 

मूलधारे मिडियाका टकशोलाई प्रतिस्पर्धी बनाउने पडकास्टहरूको कारण के हो भन्नेबारे त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस महेन्द्र बहुमुखी क्याम्पसमा आमसञ्चार र पत्रकारिताका लेक्चरर किशोर थुलुङ ठट्यौली उत्तर दिन्छन् । उनी भन्छन्, ‘दुई वर्ष भयो मेरो घरको टिभीले अवकाश पाएको । कुन दिन मास मिडिया अदालतमा हेरेन भनेर मुद्दा दर्ता गर्छ होला हौ ।’ ब्रडकास्टिङ विषयमा शैक्षिक दख्खल राख्ने थुलुङले अब मूलधार यो हो भन्ने नै नभएको बताए । अहिले मान्छेलाई छिटो छिटो सामग्री चाहिने र अनौपचारिक कुरामा चासो हुने भएकोले आमसञ्चारलाई प्रतिस्पर्धी बन्ने स्तरमा स्वतन्त्र रूपमा पडकास्ट जम्न सकेको थुलुङको तर्क छ । 

मिडियाबारे अनुसन्धान गर्ने संस्था सिएमआरकी पूर्वअध्यक्ष तथा दिव्यभूमि बहुमुखी क्याम्पसमा पत्रकारिता तथा आमसञ्चारकी विभागीय प्रमुख तृष्णा आचार्यले पनि मूलधारसँग प्रतिस्पर्धी बन्न पडकास्टले उभ्याएको स्वीकार्छिन् । कतिपय अवस्थामा त मूलधारभन्दा पडकास्ट धेरै हेरिएको उनको अनुभव छ । मूलधारका अन्तर्वार्ता अति यान्त्रिक तरिकाका हुने र अन्तर्वार्ता लिने व्यक्ति चयनमा मिडिया वा मिडियाकर्मीलाई उचित लागेको व्यक्ति छनोट हुने तर पडकास्टमा आममान्छेले चाहेका अतिथि बोलाइनाले पडकास्ट लोकप्रिय भएको बताउँछिन् आचार्य । 

काठमाडौँ पोस्टजस्तो स्थापित अंग्रेजी मिडिया हाउसमा इन्टर्न गर्ने र छोडेर किन एकाएक फेसबुक पेज रोज्नु भएको ‘ल्याङ ल्याङ’, बालै फरर, स्याक हान्नेजस्ता शब्द चलिरहेका छन् ।

भन्छिन्, ‘मूलधारका अन्तर्वार्ता अहिले पनि सूचना केन्द्रित मात्रै छन् । अलिकति फर्मल सेटिङमा हुने भएकाले सूचना केन्द्रित छन् । पडकास्टहरू भने अनुभवसिद्ध र ज्ञानका कुरा हुन्छन् ।’ प्रचण्डदेखि केपी ओलीहरूले मूलधारका सञ्चारमा दिएका र पडकास्टमा दिएका अन्तर्वार्ता नै फरक हुने भन्दै आचार्य पडकास्टहरू मूलधारभन्दा मौलिक भएको बताउँछिन् । समयसीमा नभएकोदेखि अनौपचारिक सेटिङमा पडकास्ट चल्ने भएकाले उनीहरूले आममान्छेलाई तान्न सकेको आचार्य बताउँछिन् । 

तृष्णा आचार्य पडकास्ट लोकप्रिय हुँदाहुँदै पनि केही सीमा भने भएको ठानिन्छ । उनले अनौपचारिक सेटिङमा पडकास्ट चल्ने भएकाले दर्शक तथा श्रोता ताने पनि त्यसमा गेटकेपिङको जोखिम रहेको बताउँछिन् । मूलधारमा मिडियामा विभिन्न तहका गेटकिपिङ हुने तर पडकास्टमा नहुने भएकाले कसैको खराब नियत भएमा त्यसले समस्या ल्याउन सक्छ । ज्योति मगरको एक पडकास्टमा उनी जिम्मेवार भएर प्रस्तुत हुँदाहुँदै प्रस्तोताले भल्गर भएर प्रश्न सोधेको आफूले पाएको भन्दै आचार्यले यस्ता जोखिम भएको बताइन् । युवा दर्शक तथा श्रोतालाई तान्ने नाममा कतिपय न्यू मिडियाका पडकास्टमा मूलधारका मिडियामा हुनेजस्तो व्यावसायिकता नभएको उनलाई लागेको छ । आचार्यको कुरामा थुलुङ सहमत छन् । कतिपय पडकास्टले युवाहरूको भाषा बोल्ने नाममा अश्लील बोल्नेदेखि शब्दकोषमै नभएका शब्द बोल्ने गरेको थुलुङ बताउँछन् । उनी भन्छन्, ‘ल्याङल्याङ, बालै फरर, स्याक हान्नेजस्ता शब्द चलिरहेका छन् ।’ पडकास्टमा गेटकिपिङ र पत्रकारितामा चाहिनेजस्ता व्यावसायिक दक्षता भएमा अझ बलियो हुने थुुलुङ र आचार्य दुवैको एकमत छ । 

कुनै बेला कान्तिपुर टिभीका चिनिएका अनुहार थिए विश्व लिम्बू । उनी सन् २०१६ देखि लगातार दुई वर्ष टिभीमा जोडिए । टिभीको तलब चित्त बुझेन । जागिरमा स्वतन्त्रता पनि महसुस गरेनन् । र, जोडिए न्यू मिडियामा । अहिले मूलतः भ्लगर र पडकास्टरका रूपमा चिनिन्छन् । उनको युट्युब च्यानलका अतिरिक्त अहिले पडकास्ट श्रृंखला शुरु भएको छ । काठमाडौँको मुटुमै पर्ने अनामनगरमा कार्यालय छ । तीन कर्मचारीसहित न्यू मिडियाकै कामबाट पालिएका छन् । व्यावसायिक पत्रकारिताबाट आएका उनले व्यावसायिकता देखाउने प्रयत्न गरेका छन् । जस्तो उनको अनलाइनदेखि च्यानल सूचना विभागमा दर्ता छ । आफ्ना कन्टेन्ट निर्माणमा राजनीतिभन्दा धेरै सामाजिक कुरामा ध्यान दिन्छन् । मूलधारमा खासै स्पेस पाएकादेखि नपाएका अनुहारहरूसँग घण्टौँ कुरा गर्छन् । उनलाई मूलधारका जस्ता विज्ञापन आउँदैनन् । आउने कहिलेकाहीँ फिल्मका विज्ञापन हुन् । तर फिल्मका विज्ञापनले आफ्नो खर्च नधान्ने बताउँछन् । भन्छन्, ‘फिल्मको पैसा त कत्ति पनि हुँदैन । हाम्रो मुख्य कमाइ भनेको गुगल एड नै हो ।’ कान्तिपुर टिभीको प्रस्तोता हुँदा पाउने तलब र पडकास्टर हुँदा पाउने तलब कति फरक छ भन्दा जवाफ दिन्छन् ‘कान्तिपुरभन्दा तीस गुणा बढी कमाइ यता छ ।’ आफ्नो च्यानलले कुनै बेला पाँच जनासम्म कर्मचारी राखेको बताउँछन् । 

हालसालै पडकास्टमा जोडिएका सुशान्त प्रधान मूलतः उद्यमी हुन् । तर, सन २०१५ बाट कन्टेन्ट क्रिएसनमा जोडिए । हालसालै पडकास्ट शुरु गरेका छन् । आफूसँग भएको लाइटिङ, केही क्यामेरा र अरु उपकरणलाई समायोजन गरेर स्टुडियो बनाए । अहिले उनी देशका चिनिएका पडकास्टर छन् । पडकास्टका कन्टेन्ट बनाउँदा आफूले चिन्दै आएका विज्ञहरूसँग कुरा गर्दा कुनै अतिरिक्त खोज गर्नु नपरे पनि नयाँ अनुहारसँग भने खोज गर्ने बताउँछन् । ‘मेरो पडकास्टमा एकेडेमिक विज्ञ र विषयगत जानकारलाई ल्याउने गरेको छु’, प्रधान भन्छन्, ‘यसो गर्न शुरु अनिल चित्रकारबाट भएको हो । पछि एमसीसीको समयमा प्राध्यापक, डाक्टर युवराज संग्रौलालाई पनि बोलाएको थिएँ ।’ आफूले कमाइ गर्न पडकास्ट शुरु नगरेको भन्दै प्रधानले आफूले कमाइमा भन्दा कन्टेन्टमा चासो राखेको बताउँछ, ‘मेरो पडकास्ट विषयप्रधान हो । पैसा प्राथमिकता होइन ।’ पैसा प्राथमिकता नभएको भन्दै प्रधान आफूसँग प्रायोजक नभएको र नखोजेको बताउँछन् । तर, युट्युबको आम्दानी भने आएकै  छ । आम्दानीको मात्रा खुलाउन अस्वीकार गर्ने उनी संकेतमा भने बताउँछन् । भन्छन्, ‘युट्युबको आम्दानीले पडकास्टको प्राविधिक खर्च उठ्छ ।’

(साभार: जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू