विपद्‌मा के हो त बालेनहरुको ड्युटी ?

विपद्‌मा के हो त बालेनहरुको ड्युटी ?

लगातारको झरी र त्यसपछिको बाढीले उपत्यका नै डुबाउँदा काठमाडौँ महानगरपालिकाका महत्वपूर्ण सम्पदा तथा संरक्षण गर्नुपर्ने क्षेत्रहरू समेत त्यसको चपेटामा परे । बाढीको वितण्डा लगभग दुई साता बितिसक्दासमेत काठमाडौँ महानगरपालिकाले भने आफ्नो क्षेत्रमा गर्नुपर्ने धेरै काम गरेन भनेर सरकारवालाहरूले चित्त दुखाउन थालेका छन् ।

महानगरको कार्यक्षेत्र र अधिकारबारे धेरै कुरा गरिरहने मेयर बालेन्द्र साह ‘बालेन’ यसपटक बाढीबारे फेसबुके टिप्पणीबाहेक अन्यत्र सार्वजनिक रूपमा देखिएका छैनन् । तुरुन्तै एक्सनमा जाने र परिणाम देखाइहाल्ने व्यक्तिका रूपमा आफ्नो छवि बनाउन खोजिरहेका उनी खासमा के कति सक्षम र काठमाडौँका सम्पदाबारे चिन्तित छन् भन्ने प्रश्नको जवाफ सबैजसो बाढी प्रभावित क्षेत्रमा अहिलेसम्म पनि थुप्रिरहेको फोहोरको डंगुरले स्पष्ट पारेको छ । 

सम्पदा रक्षाका अभियन्ताहरू भन्न थालेका छन्, ‘हाम्रा मेयरले बाढीले थुपारेका फोहोर र प्लास्टिकका फाल्नुपर्ने वस्तुहरूसमेत सम्पदा क्षेत्रबाट किन नहटाएका हुन्– यसको जवाफ माग्नुपर्ने भयो ।’ 

राज्यसँग राजश्व बाँडफाँड उचित ढंगले भएन । संविधानले स्थानीय सरकारलाई दिएका अधिकार पुगेनन् । आफ्नो क्षेत्रमा काम गर्न पालिकाहरूलाई सरकारले अवरोध सिर्जना गर्‍यो भन्ने जस्ता अनेकौं कुरा गरेर संघीय सरकारलाई अलोकप्रिय बनाउन उद्यत काठमाडौँ महानगरका मेयर बालेन साहले बाढीले क्षति पुर्‍याएका क्षेत्रहरूको पुनर्निर्माण र त्यसको संरक्षणका लागि आवश्यक सरसफाइमा देखाएको उदासीनता साँच्चिकै रहस्यमय बन्दै गएको छ । उनले किन काम गरेनन् ? यो वास्तवमै अहं प्रश्न हो । जबकि विपद, बाढी पहिरो, आगलागीजस्ता अवस्थाको सामना तीनै तहका सरकारले मिलेर गर्नुपर्ने संविधानले नै तोकिदिएको कार्यभार हो । स्थानीय बासिन्दाहरू बालेन साहले चुनाव जित्नेबित्तिकै घोषणा गरेको पूर्वाधार एम्बुलेन्सको विषयलाई अहिले स्मरण गरिरहेका छन् । खोइ बालेनको पूर्वाधार एम्बुलेन्स ?

यदि, त्यो हुँदो हो त तुरुन्तै सरसफाइका काम हुन्थे । लेदो, फोहोर पन्छाउने काम गर्न सकिन्थ्यो । उकालो ओरालो, अप्ठ्यारो ठाउँमा समेत सहजै काम गर्न मिल्थ्यो । पूर्वाधार एम्बुलेन्सको सट्टा पहिले विद्यासुन्दरकै पालामा महानगरले खरिद गरेका ब्रुमरले हिलो सोहोर्दै गरेको भनेचाहिँ देखिएको छ । यस सन्दर्भमा पनि स्मरणीय कुरा यो छ कि ब्रुमरको काम हिलो फाल्ने होइन बरु धुलो जम्मा पार्ने र टिप्ने हो । बालेनले विपदको बेला काम नगरेको देखिएपछि मानिस इन्द्रजात्राका बेला आफ्नै खर्चमा युवालाई टिसर्ट लगाउन लगाएर उनले पठाएको समेत भन्न थालेका छन् । उनीहरूको तर्क छ कि यदि बालेन समर्थक युवा स्वतस्फुर्त इन्द्रजात्रामा बालेन भक्ति देखाउन गएका थिए भने अहिलेको समयमा उनीहरू पक्कै पनि बालेनको तस्बिरसहितको टिसर्ट लगाएर बाढीले पुर्‍याएको क्षति र बिगारेको ठाउँको निर्माण र सरसफाईमा जुटिरहेका हुन्थे । तर त्यस्तो देखिँदैन । समग्रमा बाढीसँगै बालेनको जुन क्रेज काठमाडौँमा थियो । त्यो पनि बगेको हो कि भन्ने भान पर्न थालेको छ । 

बालेनको मात्रै होइन अरु नेता, सांसद र अनेकौं प्रकारका जनप्रतिनिधिको पनि हालत उस्तै छ । आफैंले चुनेर पठाएका प्रतिनिधि यो विपदको बेला देखा नपर्दा निकै मानिस निराश छन् । पार्टी कार्यालयमा बाढी पस्दा त्यहाँको हिलो सोहोर्न तँछाडमछाड गर्दै दगुर्ने कार्यकर्ता किन आममानिसको दुःखको साथी बन्न सकिरहेका छैनन् ? यदि त्यो भीड जनताको सेवामा जुटेको भए उनीहरूको आलोघाउमा अवश्य पनि मल्हम लाग्ने थियो । पीडित सर्वसाधारण भन्छन्– हामीलाई सहयोग गर्दा के पाइन्छ र ? यदि, पार्टी कार्यालय सफा गर्न जाने हो भने त्यहाँ नेताको नजर पर्छ । सँगै उभिएर फोटो खिच्न पाइन्छ । त्यही फोटो देखाएर प्रभाव बढाउन सजिलो हुन्छ । जब जनप्रतिनिधिदेखि कार्यकर्ता यसरी विपदमा मुलुक पर्दासमेत आफ्नै सुरमा र व्यक्तिगत लाभको धुनमा लाग्छन् तब जनतामा निराशा छाउनबाट कुनै शक्तिले रोक्न सक्दैन ।

(साभार: जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू