न्यायालयको नयाँ रूप, फेरिएला त नियुक्तिकै स्वरूप ?

न्यायालयको नयाँ रूप, फेरिएला त नियुक्तिकै स्वरूप ?

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले सर्वाेच्च अदालतको बागडोर सम्हालेपछि सत्तारुढ एमाले र कांग्रेसमध्ये कसको पल्लाभारी होला भन्ने विश्लेषण शुरु भएको छ ।

उच्च अदालतका दुई मुख्यन्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेको सिफारिससमेत दुवै विचारधाराकै सन्तुलनको आधारमा गरिएको तर्क राखिएबाट कात्तिक ५ गतेपछि खाली हुने प्रकाशकुमार ढुंगानाको पदसहित चारै पदमा नियुक्ति हुने भएकोले अब कुन विचारधाराको पालो भन्ने चासो बढिरहेको छ । राउतसंगै सर्वाेच्च अदालतमा कांग्रेस विचारधाराबाट प्रभावित तीन जनाको स्पष्ट उपस्थिति छ । राउत,  कुमार रेग्मी र सुनिल पोखरेल नेपाली कांगे्रस निकट भनी चिनिन्छन् ।

राउत सर्वाेच्च अदालत बार एशोसिएसनको अध्यक्षमा दश वर्षअघि कांंग्रेसनिकट डिएलएबाट विजयी भएका थिए भने रेग्मी नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका व्यक्ति हुन् । उता पोख्रेल भने डिएलएबाट नेपाल वार एशोसिएसनको अध्यक्षका उम्मेदवार र विजयी महासचिव हुन् ।

एमालेको पनि सर्वाेच्चमा उत्तिकै बर्चस्व छ । वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल एमालेबाट संविधानसभा सदस्य थिइन् भने हरि फुयाल बार एशोसिएसनको तिम्ति एमालेनिकट पिपिएलएलमा महासचिवका उम्मेदवार हुन् भने न्यायाधीश बालकृष्ण ढकाल पिपिएलएबाट सर्वाेच्च अदालत बार एशोसिएसनमा सचिव थिए ।

सर्वाेच्चमा कार्यरत १५ न्यायाधीशमध्ये ७ जना करिअर जज छन् भने आठ जना कानुन व्यवसायीको पृष्ठभूमिबाट आएका हुन् । प्रकाशकुमार ढुंगाना, कुमार चुडाल, नहकुल सुवेदी, तिलप्रसाद श्रेष्ठ, विनोद शर्मा, महेश शर्मा पौडेल र टेकप्रसाद ढुंगाना करिअर जज हुन् भने अरु सबै कानुन व्यवसायी पृष्ठभूमिका हुन् ।

सीधै सर्वाेच्च अदालतमा नियुक्त नभएका तर उच्च हुँदै आइपुगेका कानुन व्यवसायी सारंगा सुवेदी, अब्दुल अजिज मुसलमानमध्ये ढुंगाना १२ वर्षपछि प्रधानन्यायाधीश हुने लाइनमा छन् ।

न्यायपरिषद्मा समेत कानुनमन्त्री अजयकुमार चौरसियाबाहेक कानुन व्यवसायी पृष्ठभूमिबाट आएकै व्यक्तिहरूको बाहुल्यता रहेकोले अबका नियुक्ति कस्ता होलान् भन्ने गम्भीर चासो छ । खासगरी प्रधानन्यायाधीश निकटबीच चर्चा चल्ने गरेको छ– पौडेल खेमालाई शीतलनिवास, देउवा खेमालाई रामशाहपथ । 

यही सूत्रले काम गर्‍यो भने हालै वरिष्ठ अधिवक्ताको उपाधि पाएका खम्मबहादुर खाती र अरुण पौडेलमध्ये एकको सर्वोच्चमा नियुक्ति हुनेछ । उता, एमालेतर्फबाट समेत हालै वरिष्ठ बनेका ईश्वरीप्रसाद भट्टराई वा विष्णुमाया भुषालमध्ये एकको सम्भावना छ ।

प्रधानन्यायाधीश राउत नेतृत्वको न्यायपरिषद्मा कानुनमन्त्री चौरसिया, वरिष्ठ न्यायाधीश मल्ल प्रधान, सदस्यहरू रामप्रसाद श्रेष्ठ र रामप्रसाद भण्डारी संभवको अबको नियुक्तिले न्यायपालिकाको बाह्रवर्षपछिको भविष्य कोरिनेछ । 

यद्यपि, काम गर्नु पहिल्यै नयाँ न्यायपरिषद्को मूल्यांकन गरिहाल्नु हतारो हुनेछ । कानुनवृत्तको सुझाव छ– बोतल नयाँ, रक्सी पनि नयाँ हुने कि रक्सी पुरानै बोतल नयाँ देखिने भन्ने कुरातर्फ नयाँ न्यायपरिषद्ले सोच्नु उपयुक्त हुन्छ ।

(साभार: जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू