दशैंअघि १० जर्नेलको सरुवा,डेढ दर्जन महासेनानी पनि यताउता

दशैंअघि १० जर्नेलको सरुवा,डेढ दर्जन महासेनानी पनि यताउता

नेपाली सेनाले केही जर्नेल र वरिष्ठ अधिकृतहरुको सरुवा गरेको छ । घटस्थापनाको भोलिपल्टदेखि लागु हुनेगरी भएको सरुवामा १० जना रथीवृन्द तथा १७ जना वरिष्ठ अधिकृत परेका छन् ।

सैनिक सचिव विभागले असोज १८ गतेदेखि लागु हुनेगरी २१ गते सर्कुलर जारी गरेको बताइन्छ । सेनाको भाषामा सरुवा तथा काज नियुक्ति भनिएको सर्कुलरको पहिलो नम्बरमा बलाध्यक्ष विभागका रथी निर्मलकुमार थापालाई बलाधिकृत विभागमा सरुवा गरेर बलाधिकृतको जिम्मेवारी दिइएको छ ।

त्यस्तै दुई जना उपरथी र सात जना सहायक रथीको पनि सरुवा गरिएको छ । सुदूर पश्चिम पृतना हेडक्वार्टरमा दरबन्दी र काज सरुवा सम्भाररथी विभागमा रहेका उपरथी गणेशकुमार श्रेष्ठलाई सम्भारमा कायम गरिएको छ । अर्का उपरथी प्रकाश देउजालाई सम्भाररथी विभागमा दरबन्दी र सुदूर पश्चिम पृतना हेडक्र्वाटरमा काजमा रहेको अवस्थालाई सुदूर पश्चिम पृतना हेडक्वार्टरमा पृतनापति बनाइएको छ ।

सहायक रथीहरुमध्ये नीति तथा योजना निर्देशनालयमा दरबन्दी र सैनिक सचिव विभागमा काज रहेका मानबहादुर महरालाई सैनिक सचिवमा सरुवा गरिएको छ । असवाव निर्देशनालयमा काज तथा नम्बर १७ वाहिनी अड्डामा दरबन्दी रहेका सहायक रथी भोलानाथ थापालाई असवाव निर्देशनालयमा निर्देशक बनाइएको छ ।

सैनिक सचिव विभागमा दरबन्दी राखेर अतिरिक्त समूहमा रहेका विष्णुकुमार खड्कालाई विपद् व्यवस्थापन निर्देशनालयको निर्देशक,प्रभुरामका सैनिक सचिव ज्योतिन्द्र महतलाई चरक वाहिनी (जासुसी) को वाहिनीपति बनाइएको छ ।

मध्यपूर्वी पृतना हेडक्वार्टरमा काज तथा असवाव निर्देशनालयमा दरबन्दी कायम रहेका सहायक रथी रामचन्द्र थापालाई सैनिक सचिव विभागको अतिरिक्त समूहमा राखेर मध्यपूर्वी पृतना हेडक्वार्टरमा खटाइएको छ । त्यस्तै उत्तर पश्चिम पृतना हेडक्वार्टरका सहायक रथी हरिबहादुर चौहानलाई नेपाली सैनिक वार कलेजमा सह शिक्षाधिकृत तोकिएको छ । अर्का सहायक रथी किरणराज श्रेष्ठलाई नम्बर १७ वाहिनी अड्डामा वाहिनीपति बनाइएको छ । उनी यसअघि सैनिक सचिव विभागको अतिरिक्त समूहमा दरबन्दी र नम्बर १७ वाहिनी अड्डामा काजमा खटाइएका थिए ।

सरुवा भएका अन्य अधिकृतहरुमा १७ जना महासेनानी हुन् । उनीहरुमा सुनिल सिंह राठौर, अर्जुन बस्नेत, दिवाकर विक्रम राणा, शिवराज पन्त, विक्रम गुरुङ छन् । त्यस्तै मुनाल बस्नेत, भिम शंकर वन, सूर्यबहादुर थापा, हरि बहादुर विश्वकर्मा र डम्बरबहादुर आलेमगरको पनि सरुवा भएको छ ।

महासेनानीहरु मनोज थापा, भोला पाण्डे, सौजन्य शमशेर जबरा, प्रभाकर खड्का, दिपक भण्डारी, शन्तोष कार्की र सरोजकुमार कार्कीको पनि सरुवा भएको सैनिक सचिव विभागका सहायक रथी तथा निमित्त सैनिक सचिव मानबहादुर महराले जारी गरेको सर्कुलरमा उल्लेख छ ।

टिप्पणीहरू