राष्ट्रपति, प्रधानमन्त्रीदेखि पूर्व राजासम्मको शुभकामना

राष्ट्रपति, प्रधानमन्त्रीदेखि पूर्व राजासम्मको शुभकामना

राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीको अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ ।

शुभकामना सन्देशमा उहाँले आसुरी प्रवृत्तिमाथि सत्यको विजयको प्रतीक महान् चाड विजया दशमीको दिनमा नवदुर्गा भवानीको प्रसाद टीका, जमरा र आशिर्वाद मान्यजनबाट ग्रहण गर्ने उल्लेख गर्दै उहाँले दसैँको अवसरमा मुलुकमा स्थायित्व, सुशासन र समृृद्धिको कामना गर्नुभएको छ ।

‘विजया दशमी, २०८१ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिका लागि राष्ट्रको कल्याणका लागि दुर्गा भवानीसँग प्रार्थना गर्दै मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामना गर्दछु’, जारी शुभकामना सन्देशमा भनिएको छ । 

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले प्राकृतिक विपद्ले दिएको पीडाबीच आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउन अनुरोध गर्नुभएको छ ।

विजया दशमी २०८१ को अवसरमा भिडियो सन्देशमार्फत् देशभित्र तथा प्रवासमा रहेका सबै नेपालीलाई शुभकामना व्यक्त गर्नुभएको छ । विपद्अघिको अवस्थामा समाजलाई फर्काउन सरकारसँग ‘होस्टेमा हैंसे’ मिलाउन सबैलाई आह्वान समेत गर्नुभएको छ । भन्नुभएको छ, ‘जो जहाँ छांै, पीडामा परेकाहरुको पीडा हराउनका लागि सहयोगी हातहरु बढाउन आग्रह गर्छु ।’  प्रधानमन्त्री ओलीले विपद्को घडीमा यस पटकको दसैँटीका उल्लासपूर्ण हुन नसकेको समेत उल्लेख गर्नुभएको छ । 

उहाँले सरकार प्रकोपपछिको उद्धार, राहत र पुनःस्थापनामा केन्द्रित रहेको जानकारी दिँदै आश्वस्त रहन आग्रह गर्नुभयो । सबैलाई दसैँ मनाउन र मिल्नेहरुले टीका लगाउन आग्रह गर्नुभएको छ ।

पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वसभामुख देवराज घिमिरे, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, पूर्व राजा ज्ञानेन्द्र  शाहले पनि विजया दशमीको शुभकामना व्यक्त गर्नुभएको छ ।

टिप्पणीहरू