सभ्य हिँडाइका केही सूत्र
– अमर अधिकारी
हामी कतै जाँदा गाउँघरको हकमा खेतका फाँट, खोलानाला, हरिया वनजंगल, उकाली–ओराली, भञ्याङ–चौतारी भएर हिँड्नुपर्छ । कुनै ठाउँमा कम पर्ला त कुनै ठाउँमा बढी पर्ला, त्यस्ता स्थान भौगोलिक बनावटमा भर पर्ने कुरा हो । त्यस्तै शहर बजारमा हिँड्दा महानगर, उपमहानगर वा नगरमा यात्रा गर्दा हिँड्नका लागि फुटपाथको प्रयोग गरिन्छ, ठाउँठाउँमा चोकहरू हुन्छन् । हुन त अहिले नेपालमा डाँडाकाँडालाई पनि नगरपालिका घोषणा गरिएको छ ।
गाउँमा कच्ची मोटरबाटो, घोडेटो वा गोरेटो हिँड्दा तेर्सो तेर्सो र उकालो–ओरालो पनि हिँड्नुपर्ने हुन्छ । हिँड्दा शरीरमा ताप उत्पन्न हुने र उर्जा खर्च हुने हुँदा तिर्खा लाग्नु स्वाभाविकै हो । त्यस्तो अवस्थामा बाटोमा भेटिने स्थानीय मान्छेलाई सोध्नुपर्छ, जरुवा पानी कतै छ कि भनेर । पहिलेजस्तो गाउँघरमा गाई–भैँसी पाल्ने चलन हराइसकेको हुँदा दही–मही पाउन मुस्किल पर्छ । पहिले पहिले बाटो छेउ ठेकामा सतप्रतिशत शुद्ध दही र पूर्णतया प्राकृतिक रूपमै पाकेको केरा राखेर बटुवालाई बिक्री गर्ने चलन पनि थियो । यो चलन अहिले विस्तारै विस्तारै हराउँदैगएको पाइन्छ । किन कि अहिले जहीँतहीँ गाडीको सुविधा छ, बाटोमा मानिसहरू कम हिँडेका देखिन्छन् ।
शहरमा पदयात्रा गर्दा भने निकै ख्याल गर्नुपर्ने हुन्छ । सवारी साधन कसैले सजगता अपनाएर हाँक्ने हुन्छन् त कसैले लापरवाही र हेलचेक्र्याइँका साथ चलाउने गरेको पाइन्छ । शहरका बाटोमा रहेका जेब्राक्रसिङमा समेत पदयात्रीलाई ठक्कर दिएका र ज्यान गुमाएका समाचार नसुनिएका होइनन् । आकाशृ पुल भएका ठाउँमा त्यसबाट र नभएका ठाउँमा जेब्राक्रसिङबाट बाटो काट्नु उचित हो र सभ्यता झल्काउने क्रियाकलाप पनि हो ।
बूढापाका, बालबालिका र अशक्तहरूलाई बाटो काट्नमा सघाउ पु¥याउनु कुनै पनि सचेत र सभ्य नागरिकको कर्तब्य हुन आउँछ । तर, त्यस्ता ब्यक्तिले बाटो काट्न गाह्रो मानेको देख्दादेख्दै पनि कसै–कसैले नदेखेझैँ गरेको पाइन्छ । बूढो जो पनि हुन्छ, सधैँ जवान भइँदैन । मान्छे चढाउनु छ भने जहाँ पनि रोक्ने र झार्नु छ भने स्टपमा मात्र रोक्ने हो भनेर बनावटी नियम लाद्नेहरू पनि छन् । ट्राफिक चोक वा दोबाटो चौबाटो आउने बेला हत्तपत्त सिट बेल्ट लगाउने र चोक पार गरिसकेपछि फुकाल्ने काम पनि सभ्य होइन । नियम कानुन पालना गरेमा देशमा धेरै सुधार आउँछ । सकारात्मक सोँच भएन भने देश कहिल्यै उँभो लाग्दैन । सीमा नाघेर आर्थिक कारोबार गर्ने सहकारीहरूको हविगत अहिले देखिएकै छ ।
बुढो जो पनि हुन्छ,सधैं जवान भइँदैन ।कोलकातामा जहाँ पायो त्यहीँ जे पायो त्यही पसल राख्न पाइँदैन । जथाभावी थुक्न पाइँदैन,थुक्नका लागि ठाउँ तोकिएको छ ।गाडीमा महिला सिट खाली भए पनि पुरुष बस्न पाइँदैन ।
नेपालमा लापरवाही गर्नेहरू विदेशमा गएपछि त्यहाँ बानी पर्न कठिन हुन्छ । आँखा छलेर बदमासी गर्नखोजिएमा नियालिरहेको सिसिक्यामेराको सहायताले समातिने निश्चित नै हुन्छ । त्यसैले पहिलोपटक विदेश जाँदा साथी वा छोराछोरीसँग हिँड्ने र त्यहाँको पद्धतिलाई पछ्याउनेतिर लागेमा अर्कोपटक र त्यसपछिको विदेश बसाइ सहज हुन सक्छ । कोलकाताबाट मात्र काठमाडौँले केही सिकेमा धेरै सुधार हुने देखिन्छ । कोलकातामा जहाँ पायो त्यहीँ जे पायो त्यही पसल राख्न पाइँदैन । जथाभावी थुक्न पाइँदैन, थुक्नका लागि ठाउँ तोकिएको हुन्छ । गाडीमा महिला सिट खाली भए पनि पुरुष बस्न पाइँदैन । एकले अर्कालाई धक्का लागेमा माफी माग्ने चलन छ । त्यहाँ सबै गाडी डिजेलबाट चल्ने भए तापनि प्रदूषण फिटिक्कै देखिँदैन । सडकका दायाँबायाँ हरियाली नै हरियाली छ, जसले गर्दा गर्मी याममा शीतलता प्राप्त हुन्छ । ठाउँठाउँमा सार्वजनिक धाराहरू पनि राखिएका छन् ।
मानिस बिनाकाममा हिँड्दैन, निश्चय पनि कामविशेषले नै हिँड्ने हो । शहरमा पदयात्रा गर्दा अपनाउनुपर्ने सावधानीका सूत्र निम्नानुसार उल्लेख गर्न मनासिव हुन्छः
१. जथाभावी थुक्ने गर्नु हुँदैनः
फुटपाथमा हिँड्दा दायाँबायाँ नहेरी जथाभावी थुक्नु कुनै पनि नागरिकका लागि सभ्य काम होइन ।
२. प्रदुषण कम हुने बाटो रोज्नेः
मुख्य सडकको फुटपाथबाट हिँड्दा जति वायुप्रदूषण र ध्वनीप्रदूषणको प्रभाव पर्छ भित्री सडक वा बैकल्पिक सडकबाट हिँड्दा आनन्द हुन्छ, चाहे केही समय बढी नै किन नलागोस् ।
३. नजिकका लागि गाडी चढ्नुभन्दा हिँड्दा फाइदाः
गन्तब्य नजिक छ भने गाडी कुरेर जानुभन्दा आधा घण्टासम्मको दूरीमा हिँडेर जानु स्वास्थ्यका लागि लाभदायक हुन्छ । हिँड्दा खुट्टाले काम पाउने र स्वास्थ्यमा स्फुर्ति आउने साथै पाचन प्रक्रियामा सहयोग पुग्ने हुन्छ । थोरै भए पनि हिँडाईको थकाइका कारण खाना रुच्ने पनि हुन्छ । पसिना बगाउनु स्वास्थ्यका लागि हितकर छ ।
४. मास्क अनिवार्यः
देशकै ठूलो शहर काठमाडौँ र बाहिर प्रदूषणको मात्रा ज्यादा नै देखिने गरेको छ । त्यसैले शहर बजारमा पदयात्रा गर्दा मास्कको प्रयोग गर्नु जरुरी हुन्छ ।
५. धक्का नदिनेः
फुटपाथमा हिँड्दा अरुलाई धक्का नलाग्ने गरी हिँड्नुपर्छ । बाटो मेरो मात्र हो भन्ने सोँच राख्नुहुँदैन, विस्तारै हिँड्नुपरे साइडतिरबाट हिँड्नुपर्छ ताकि अरुलाई लम्किन सजिलो होस् । कथंकदाचित हिँड्दैगर्दा कसैलाई धक्का लागेमा माफी माग्ने वा सरी भन्ने गर्दा पदयात्रीमा सभ्यता झल्किन्छ । सरी भन्दैमा केही पनि खेर जाँदैन ।
६. खाल्डाखुल्डी र उबडखाबड छल्नेः
फुटपाथमा खाल्डाखुल्डी र उबडखाबड पनि हुनसक्छन् । त्यसैले चनाखो भएर हिँड्नेगरेमा लडिने र ठक्कर खाने अवस्था आउँदैन ।
अन्यः
बाटो हिँड्दै केक, फ्रुटी, बिस्कुट, चकलेट, पानपराग र सूर्ति सेवन गर्ने र तिनका खोस्टा वा बोक्रा जथाभावी सडक र किनारामा फाल्नु झनै अमानवीय कार्य हो । हिँड्दै खाने र पिउने गर्नैपरेमा त्यस्ता वस्तुका खोस्टा वा बोक्रालाई एउटा प्लास्टिकको झोलामा राखेर डस्टबिनमा राख्नुपर्छ । त्यस्तो ब्यवस्था नभए घरमै लगेर तह लगाउनुपर्छ । यसरी पदयात्रामा धेरै कुरा पालना गर्नु कुनै पनि नागरिकको कर्तब्य हो । त्यसैले आजैदेखि खराब बानी त्यागौँ, सभ्य बनौँ, सभ्य भएर पदयात्रा गरौँ ।
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू