कसरी राजश्व नचुहियोस् त कमरेड !

कसरी राजश्व नचुहियोस् त कमरेड !

सरकारी कार्यालयलाई ‘एमालेको घर’ बनाइँदा परिणाम के आउला ? पुल्चोकस्थित एउटा सरकारी कार्यालयका निर्देशकदेखि महानिर्देशकसम्म छानीछानी एमालेकै कर्मचारी थुपारिँदा त्यहाँका कर्मचारीबीच ‘सर–म्याडम’ होइन कि ‘कमरेड’को संबोधन चल्ने गरेको छ । विभागमा उपसचिवको ७ दरबन्दी छ । उनीहरूलाई एक एक वटा पिल्लर दिइएको छ, पूर्वसचिव उमेश र गोपीनाथ मैनालीका भाइ नारायणदेखि राजन बिसी, मणिराम पौडेल, राजकुमार खतिवडाहरू त्यहीँ छन् । पछिल्लो समय व्यापारी थर्काउन बिचौलियालाई प्रयोग गर्ने संस्थाको रूपमा विकास भइरहेको राजश्व अनुसन्धान विभाग प्रम कार्यालय मातहत लगिएपछि झनै भुत्ते बनेको बताउँछन्, पूर्वमहानिर्देशकहरू । व्यापारी र दलका नेताको स्वार्थमा चल्दा भन्सार राजस्व गिर्दाे छ, राजस्व चुहावट गहिरिँदै गएको आवाज सुनिन्छ । 

क्षेत्राधिकार तोकिएको छ, राजस्व चुहावट तथा विदेशी विनिमय अपचलनसम्बन्धी कसुरमा अनुसन्धान, तहकिकात र अभियोजन गर्ने तर कमरेडी भर्तीकेन्द्र बन्दा राजश्व अनुसन्धान विभाग अहिले दमदार देखिन्न । महानिर्देशकको कुर्सीमा छन्, चण्डी घिमिरे ।  उनीभन्दा शक्तिशाली उपसचिव (निर्देशक) छन् । उनैले आफू निकट कर्मचारी लगेर विभागलाई भुत्ते बनाउन लागिपरेको बताउँछन्, कर्मचारीहरु । राजनीतिबाट युटर्न भएर निजामती प्रशासनमा होमिएका उनी लामो समयदेखि राजश्वमा छन् भने पत्नी उपमेयर हुन् । यसअघि नै बुटवलमा दुई वर्ष, लगत्तै पथलैयामा २ बर्ष चलाएर मारवाडी व्यापारीदेखि भन्सार एजेन्टसम्म राम्रो सम्बन्ध स्थापित गरेका उनैको कारण सरकारी राजश्वमा धक्का लाग्दै आएको कतिपय कर्मचारीले टिप्पणी गरेका छन् । 

यसपटक पनि पथलैया वा बुटवल जान जोडबलथियो त्यसका लागि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तामार्फत लबिङ गरे तर प्रम कार्यालयले एकपटक बसिसकेको कार्यालयमा पुनः नपठाउने नीति लिएका कारण साढे दुई महिनाअगाडि चक्र बुढा महानिर्देशकबाट हट्ने समयमा राजश्व अनुसन्धान विभाग पुगे, तीन नम्बर पिल्लरको जिम्मेवारी पाएर । त्यहीं छन्, यम तिवारी, पद सानो तर बिचौलिया उपेन्द्र शाहीसँग निकै राम्रो उठबस । शाहीले चक्रबहादुर बुढाको नम्बरबाटै व्यापारीलाई तीन करोड खर्च गरेर डिजी बनाएको हुँ भन्दै थर्काउने गरेको धेरैलाई सम्झना छ । कतिपय कर्मचारी त, उद्योग– अर्थ–गृहसचिव दिपक भट्टले बनाएझैँ राजश्वको डिजी नै उनैले बनाउने गरेको बताउँछन् । यही पिल्लरले हालै मात्र आइएमइ समूहले खरिद गरेको प्रुडेन्सियल इन्स्योरेन्सलाई हानेर राम्रै दाना पानी झारेको बुझिएको छ । 

यता, हालै मात्र विभागले केही कर्मचारी खटन पटन गर्दा उत्तरकुमार घिमिरे इटहरी, उमेश रिमाल कोहलपुर, काठमाडौंका सहायक सिडियो हरि शर्मालाई पथलैया लगिएको छ । यसबीच विवेक घिमिरे, बुटवल पुगेका छन् । केपी शर्मा ओली अघिल्लो पटक प्रधानमन्त्री हुँदा उनको सचिवालयमा थिए । त्यहाँबाट उद्योगमन्त्री दामोदर भण्डारीको सचिवालयमा पुगे भने राजकुमार खतिवडा विभागमा ल्याइएको छ । काजु काण्डमा भैरहवाबाट तानिएका मणिराम पौडेल विभागमै छन् । उनी भैरहवास्थित एउटै कार्यालयमा दुई पटक प्रमुख भएर बसे । केही समय त्रिवि भन्सारमा बसेपछि पुल्चोक पुगेका हुन् । त्यहाँका निर्देशकहरूले चाडपर्वको मुखमा दर रेट तोकेर दिने व्यवसायीलाई उन्मुक्ति दिने र नदिनेलाई समाउने काम गर्दै आएको कतिपयको आरोप छ । 

माओवादी महानिर्देशक नवराज ढुंगाना १० महिना बिताएर महाबाणिज्यदूत बन्ने हिसावले परराष्ट्रतिर सरुवा भएपछि त्यहाँ पुगेका चक्र बुढाले तीन महिनाभन्दा विभाग चलाउन पाएनन् । नारायण सापकोटालाई तीन महिनामै भकुण्डो बनाएर दश महिना प्रधानमन्त्री कार्यालयको बरण्डामा राखी हालै परराष्ट्रमा पु¥याइएको छ । विभागको सबैभन्दा लामो समय नेतृत्व गर्ने अवसर पाएको दीर्घराज मैनालीले मात्र हो । उनी जेठ २०७५ देखि फागुन २०७७ सम्म त्यहाँ थिए । त्यसपछि आएका रामप्रसाद आचार्य ७ महिना, प्रकाश पौडेल ८ महिना, झलकराम अधिकारी चार महिना, मदन दाहाल तीन महिनामै हटाइए । 

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू