मध्यपुस्ताको नेतृत्वमा बन्दै गरेको महाशक्ति
देशविदेश वा कतै भ्रमणमा गएर फर्कियो भने साथीभाइ भेला भएर कुराकानी गर्न, तस्बिरहरू हेर्न र जल आचमन गर्न थालिएको निकै भैसक्यो । त्यस्तै सानोतिनो तीर्थेभोज चीनयात्रापछि पनि भयो । साथीहरू पत्याउँदै नपत्याउने ! आफूले पनि देखेभोगेको कुरा त्यत्तिकै हाप्ने कुरा भएन । दुवैपक्षबाट जमेर कुरा भए । तस्बिर र भिडियो देखाएपछि बल्ल साथीभाइहरू हँ भए । ए हो र, यो पक्ष अहिलेसम्म पढे सुनिएकै थिएन । बल्ल धरातल थाहा पाइयो ! संसारको दोस्रो शक्तिशाली देश हावाको भरमा त्यत्तिकै कहाँ हुन्थ्यो होला र ! यति बकेपछि उनीहरू तर्कसंगत बने ।
छिङहाइ प्रान्तको भ्रमण गरेर फर्किएपछि नेपाली लेखक र पत्रकारहरूले विभिन्न आयामबारे लेखिरहेका छन् । पश्चिम चीनको अन्तिम सिन्जियाङ प्रदेशसँग जोडिएको र तिब्बतभन्दा माथिल्लो यस पठार प्रदेशमा छोटो समयमा भएका चामत्कारिक परिवर्तनले धेरैलाई आश्चर्यमा पारेको मात्र छैन, चीनबाहिर अर्कै सूचना साम्राज्यको छहारीमा बसिरहेकाहरूका लागि भने यो भ्रमणले विल्कुलै भिन्न छाप पारेको छ ।
पश्चिमी शक्तिराष्ट्रको प्रभाव क्षेत्रमा धेरै वर्षदेखि भनिँदै छ, चीनमा धार्मिक स्वतन्त्रता छैन, जनजाति तथा सीमान्तकृतहरू एकदमै दयनीय अवस्थामा छन् र उनीहरूको अवस्था गएगुज्रिएको छ ! अल्पसंख्यकलाई धार्मिक–सामाजिक–साँस्कृतिक जीवन व्यतित गर्न प्रतिबन्ध छ ! उनीहरू कैदीबन्दीझैँ रहिरहेका र त्यसविरुद्ध भित्रभित्र विद्रोह भैरहेको समाचार र विचारले पश्चिमी सञ्चारमाध्यम भरिएका छन् । समाचार बग्रेल्ती छन् । तर तिब्बती पठारको यो राज्य घुम्दा ती समाचार र विचार अफवाह र मिति गुज्रिएका उत्पादनझैँ लाग्ने रहेछन् । सञ्चारको साम्राज्यले कुन हदसम्म गुमराह र प्रोपोगाण्डा गर्ने रहेछ भन्ने छ्या¨ै देखियो । चिनियाँहरूको विकासको गति, सामाजिक व्यवहार र त्यहाँको रोटी, कपडा, मकानको अवस्था अवलोकन गरेपछि सत्यतथ्य मज्जैले उजागर भयो ।
मौलाउँदो सामाजिक संस्कृति
हामीले भ्रमण गरेको प्रान्त पश्चिम चीनको विकट हिमाली भौगोलिक क्षेत्र हो । दुई हजार चार सय मीटर उचाइमा त राजधानी सिनिङ शहर नै रहेछ । हामी अन्तिममा पुगेको युसु शहर ४ हजार मीटरमाथि अवस्थित थियो । ठ्याक्कै हाम्रो उपल्लो मुस्ताङजस्तो । वर्षामा हरिया नांगा डाँडा र हिउँदमा सेताम्मे हिमाली क्षेत्र । यो शहरमा पुगेपछि लाग्यो कस्तो सुन्दर, आधुनिक र मनोरम ठाउँ !
आँखाले देखिउञ्जेलसम्म स्वीट्जरल्याण्ड र डेनमार्कमा गाईहरू चरेजस्तै चौंरीगाई र भेडाका बथान जताततै चरिरहेका । अक्सिजनको अभाव हुने यो क्षेत्रमा घर, पसल, होटलमा सहजै अक्सिजनको व्यवस्था हुनेरहेछ । सडक चौडा, घरहरू अत्याधुनिक, सरसफाइ चिटिक्कै । पुराना गुम्बा र साँस्कृतिक सम्पदाहरूको चित्ताकर्षक संरक्षण र स्थानीय बासिन्दाको जीवन्त सम्बन्ध । धुप सल्काइएका, बत्ती बालिएका, पाठ गरिरहेका र भजन गाइरहेका । मूर्ति र शालिकहरूमा भक्तिभाव प्रकट गरिरहेका ! जुन कुरा बौद्ध वा स्वयम्भूमा हामी देख्छौं, त्यहाँ पनि माने घुमाइरहेका, मन्त्र जप्दै पैदलयात्रा गरिरहेका । लम्पसार परेर आफ्नो धर्मकर्मअनुसार आराधना गरिरहेका ! जताततै बुद्धका मूर्ति र ओम मणिपद्मे हुँ लेखिएका शिलालेखहरू ! बग्रेल्ती थाङ्का चित्रहरू !
अल्पसंख्यकलाई आफ्नो सामाजिक, धार्मिक र साँस्कृतिक रीतिथिति र परम्परा पालना गर्नबाट वञ्चित गरिएको, तिनमाथि व्यापक दमन छ भन्ने कुरा किमार्थ सत्य होइन भन्ने तथ्य यस आलेखमा राखिएका तस्बिर तथा तिनमा देखिएको आमबासिन्दाको दैनिक व्यवहारले नै बोलिरहेको छ । भनाइ नै छ, एक हजार शब्दले व्यक्त गर्न नसक्ने कुरा एउटा तस्बिरले सहजै बताउँछ ।
ती क्षेत्र यति विशाल थिए कि त्यहाँ पुगेकाहरूलाई देखाउन गरिएको भन्नै सम्भव थिएन ! यी सबै निमिट्याउन हुनुपर्ने होइन, अफगानिस्तानको बामियानमा तालिवानले गरेजस्तै ?
धर्मान्तरणमा निर्मम !
हाम्रो देशलाई पिरोलिरहेको र चीनमा रोक लगाइएको भनिएको धर्मान्तरण रहेछ । चिनियाँ सरकारले धर्मको नाममा राजनीति गर्न दिंदो रहेनछ, न त देश टुक्राएर राष्ट्रिय सार्वभौमिकतालाई बढावा दिन पाइने रहेछ । तर आफ्नो धार्मिक मूल्यमान्यतालाई मान्न, त्यसअनुकूल व्यवहार गर्न रोक लगाइएको पाइएन । धार्मिक स्वतन्त्रता खुला । जातीय सद्भावमा जताततै अनुपम व्यवहार ! ‘अधिनायकवादी’ चीनमा यस्तो कसरी सम्भव हुँदो हो ? प्रश्न जति जायज हो त्यत्तिकै सान्दर्भिक पनि । तर जुनजुन बौद्ध गुम्बा वा मस्जिदमा हामी गयौं त्यहाँका लामा र मुल्ला मात्र होइन, आफ्नो धार्मिक आस्था अनुकूल व्यवहार गर्न आएका सर्वसाधारण हाम्रो बौद्ध वा स्वयम्भू तथा घण्टाघर छेउका जामे वा कश्मिरी मस्जिदमा जस्तै देखिन्थे । त्यहाँ हामी केही घण्टा बस्दा सयौं व्यक्ति आफ्नो धार्मिक व्यवहारलाई स्वतन्त्र बनेर उपयोग गरिरहेका पाइए । हँसीमजाक गरेर खिलखिलाइ रहेका देखिए । तिनमा बाल, बृद्ध, युवाहरूको सहभागिता थियो । ती क्षेत्र यति विशाल थिए कि त्यहाँ पुगेकाहरूलाई देखाउन गरिएको भन्ने सम्भवै थिएन !
आफ्ना परम्परागत पहिरनमा आफूले चाहेका पूजा अर्चना र ध्यान लगायतका क्रियाकलाप स्वतन्त्र रूपमा गरिरहेका छन्, त्यसलाई कसरी देखेको नदेख्यै गर्ने ? जबकि लामो समयदेखि भनिरहिएको छ, चीनमा धार्मिक स्वतन्त्रता छैन । पूर्ण प्रतिबन्ध छ । त्यहाँ जातीय, धार्मिक र साँस्कृतिक अधिनायकवाद लादिएको छ । पुलिस सेनाले पहरा दिएर राखिएको छ । मन्दिर, गुम्बा, मस्जिद र चर्चहरूलाई ध्वस्त गरेर चिनियाँ कम्युनिष्ट शासकले परेड खेलिरहेछन् ! तर यस्तो कहींकतै देखिएन बरु स्वतन्त्र रूपमा मानिसहरू आउने जाने र आफ्ना गतिविधि निर्विघ्न गरिरहेका थिए । उनीहरूको व्यवहार र हाउभाउमा शंका, उपशंका र लघुशंका देखिइरहेको थिएन । त्यहाँ उपस्थित केही वृद्धवृद्धालाई कठोरता कहिल्यै थिएन त भन्दा उनीहरूको एउटै भनाइ थियो– साठी वर्षअघि साँस्कृतिक क्रान्तिको बेला कठिनाइ थियो, नभएको होइन तर आधुनिक चीनको विकाससँगै ती कुरा हराएर गए । धर्मकर्ममा लाग्नु वा नलाग्नु नितान्त व्यक्तिगत कुरा हो ।
धार्मिक स्वतन्त्रताको झल्को
यात्रा क्रममा मनमा अनेक प्रश्न आउँदै जाँदै गरिरहे । एकमनले भन्थ्यो, चीनमा अधिनायकवाद नहुँदो हो त किन यस्ता सवाल उठ्थे होलान् ? लगत्तै आफैंभित्र अर्को सवाल खडा हुन्छ, अधिनायकवाद भएको भए यस्तो सहजता कसरी सम्भव भएको होला ? मनमा जे–जस्ता कुरा उठे पनि बिर्सन नहुने कुरा के भने चीनमा यसबीच धेरै परिवर्तन र आधुनिकीकरण भएको रहेछ । त्यसो नहुँदो हो त ऊ विश्वकै उदीयमान शक्ति कसरी बन्नसक्थ्यो होला र ! संसारको सबैभन्दा बढी जनसंख्या भएको देश ४० वर्षबीच आर्थिक रूपमा विश्वकै सबैभन्दा शक्तिशाली देश अमेरिकालाई हरेक क्षेत्रमा टक्कर दिएर अगाडि बढ्न सम्भव हुन्थ्यो होला र !
अनेक गुम्बा र मस्जिदमा घुमिरहँदा आफूले सुनेका, पढेका पश्चिमी सञ्चार माध्यमका समाचार विचारले सवाल गर्न उक्साइरहे । चीनमा चरम धार्मिक दमन नहुँदो हो त पश्चिमी जगतले एकोहोरो यी कुरा किन उठाइरहन्थे होला र ? फेरि अर्को प्रश्न मनमा उब्जिहाल्थ्यो, त्यस्तो दमनले मन्दिर, मस्जिद र गुम्बाहरूलाई भष्मीभूत गरेको भए यति पुराना धार्मिक धरोहरहरू कसरी मेराअगाडि साक्षात् ठडिइरहेका छन् त ? यी सबै निमिट्यान्न हुनुपर्ने होइन, अफगानिस्तानको बामियानमा तालिवानले गरेजस्तो ? तर यस्तो भएको देखिएन । त्यसैले शताब्दियौं पुराना यी धरोहर यसरी जोगिए । अझै चित्ताकर्षक रूपमा संरक्षण गरिइरहिएकोले यो सम्भव भएको हुनुपर्छ ।
यथार्थ आँखैअगाडि छ । प्रभावशाली र प्रभावकारी रूपमा रहेका धरोहरहरूको जीवन्त तस्बिर खिच्न पाइयो । सर्वसाधारण पनि त्यहाँ हाम्रो पशुपतिनाथ, वसन्तपुर, हनुमानढोका र धरहरा वरिपरि नेपाली डुलिरहेझैं घुमफिर गरिरहेका छन् । कैफियत भएको भए हामीले ती जीवन्त धरोहर देख्न, त्यहाँ प्रवेश गर्न र तस्बिर खिच्न पक्कै पाउने थिएनौं होला । त्यसैले गयौं, हेर्यौं र अनेक धार्मिक सांस्कृतिक सम्पदाहरूको तस्बिर खिच्यौं । त्यस वरिपरि, भित्र र बाहिरका गतिविधिलाई सुक्ष्म रूपमा नियाल्यौं । सम्बद्ध व्यक्तिहरूसंग कुराकानी गर्यौं र उनीहरूसँग बसेर फोटो खिच्यौं ।’
लेखक/पत्रकार धेरै कम पुग्ने छिंगाई प्रदेश साँच्चैमा उनीहरूका लागि समाचार विचार तस्बिरको निम्ति ‘भर्जिनल्याण्ड’ नै रहेछ । पश्चिमी सञ्चारमाध्यमको मात्र प्रभाव क्षेत्रमा रहेका हामीलाई जे देख्यो त्यही समाचार, लेखको विषय हुने रहेछ किनभने हाम्रो दिमाग र सोचमा चीनमा अहिले भैरहेका कामकुरा नितान्त नौला, पत्यार नलाग्ने र चकलीभूत पार्ने मात्रै थिए । हामीलाई त्यसबारे रत्ती पनि थाहा थिएन किनभने ती कुरा हामीले पढ्ने पत्रपत्रिका, सुन्ने रेडियो र हेर्ने टेलिभिजनमा आउँदैन थिए । जे हामीले टिभी, पत्रिका र रेडियोमा देख्थ्यौं, सुन्थ्यौं र पढ्थ्यौं ती यहाँ देखिएनन् । जे देख्यौं ती कुरा पश्चिमी समाचार र विचारमा थिएनन् । यथार्थ त यस्तो पो रहेछ !
चीन भ्रमणको सिकाइ
यसपटकको भ्रमणको मुख्य सिकाइ चीनको सबै क्षेत्रमा नेतृत्व मध्यपुस्ताले गरिरहेको देखिनु हो । मध्यपुस्ता चीनलाई अत्याधुनिक भौतिक पूर्वाधारसहितको सुविधासम्पन्न महाशक्ति राष्ट्र चीनको रूपमा नयाँ पुस्तालाई सुम्पन अहोरात्र खटिरहेको छ । हप्तैपिच्छे चीनकै खर्चमा, चीनकै टिकटमा र चीनकै खान्कीमा लर्को लाग्ने नेपालीहरूले यस्तै कुरा सिक्ने हो भने नेपालमा पनि नयाँ पुस्ताले आफ्नै मुलुकमा भविष्य देख्नसक्थ्यो । सबैजसो दलका नेता, भ्रातृसंगठनका प्रतिनिधि र आक्कलझुकल व्यवसायीलाई पनि गराइएको भ्रमणका कतैकतै चिल्ला प्रतिवेदन थन्क्याइएका छन् । त्यही भ्रमणमा सिकेका कुरा नेपालको विकासमा पनि अवलम्बन गर्न तदारुकता देखाउन सक्ने हो भने मित्रराष्ट्रले छिमेकीलाई गरेको खर्च हजम हुने थियो कि ! नेपाली मध्य पुस्तालाई चेतना भया !
टिप्पणीहरू